ad ad

म्यागेजिन


दुईपटक प्रधानमन्त्री भइसकेका मातृका : जो जेल जानुको दुःखले राजदूत भए

दुईपटक प्रधानमन्त्री भइसकेका मातृका : जो जेल जानुको दुःखले राजदूत भए

अमेरिकी राष्ट्रपति केनेडीसँग राजदूत मातृकाप्रसाद कोइराला (स्रोत: जोन एफ केनेडी पुस्तकालय)


सीताराम बराल
साउन १९, २०७९ बिहिबार १०:६, काठमाडौँ

दक्षिण कोरियाका लागि पूर्वराजदूत कमल कोइरालाले बानेश्वरस्थित निवासमा आफ्ना पिता मातृकाप्रसाद कोइरालाले अमेरिकाका राष्ट्रपति जोन एफ केनेडीसँग बातचित गरिरहेको एउटा तस्बिर जतनसाथ सजाएर राखेका छन्। 

प्रौढावस्थामा रहेका ३५ औँ अमेरिकी राष्ट्रपति केनेडी र कोइराला दुवैजना तस्बिरमा प्रसन्न मुद्रामा देखिन्छन्। 

नेपालको इतिहासमा मातृकाप्रसाद कोइरालाको नाम ‘प्रथम नागरिक प्रधानमन्त्री’ का रुपमा अंकित छ। तर, कोइराला नेपालमा प्रधानमन्त्री छँदा केनेडी अमेरिकामा राष्ट्रपति बनिसकेका थिएनन्। उनी संसद् सदस्य मात्र थिए। केनेडी राष्ट्रपति बन्दा कोइराला प्रधानमन्त्रीबाट हटिसकेका थिए। 

खासमा राष्ट्रपति केनेडीसँग कोइरालाको त्यो भेट ‘अमेरिकाका लागि नेपाली राजदूत’ का हैसियतमा भएको थियो। 

प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका राजनीतिक व्यक्तिहरुले राजदूतको कार्यभार सम्हालेका घटना विश्वमा निकै कम मात्र भेटिन्छन्। नेपालका ‘प्रथम नागरिक प्रधानमन्त्री’ कोइराला पनि विश्वका त्यस्तै एक ‘विरल पात्र’ थिए, जो प्रधानमन्त्री भइसकेका राजनीतिक व्यक्ति भए पनि राजदूतको जिम्मेवारी लिन राजी भए। 

राणा शासनको अन्त्यपछि पहिलो पटक १ मंसिर २००८ मा र दोस्रो पटक ४ असार २०१० मा गरी कोइराला दुई पटक नेपालको प्रधानमन्त्री बनेका थिए। दुई पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका कोइरालाले पाएको यो पछिल्लो जिम्मेवारी तत्कालीन आन्तरिक राजनीति र भू–राजनीतिको उपज थियो। 
 
बानेश्वरस्थित कोइराला निवासको बैठक कक्षमा सजाइएको त्यो तस्बिर ६१ वर्षअघि अर्थात् १९ साउन २०१८ (३ अगस्ट १९६१) को हो। राजदूतका रुपमा ओहोदाको प्रमाणपत्र बुझाउने क्रममा त्यो तस्बिर खिचिएको थियो।   

बीपीलाई जेल, मातृकालाई राजदूत   
विसं २०१६ को आम निर्वाचनबाट बीपी कोइराला प्रधानमन्त्री बने पनि जिम्मेवारी सम्हालेको डेढ वर्ष नपुग्दै राजा महेन्द्रको १ पुस २०१७ को ‘कू’ बाट अपदस्थ गरिए। 

बीपीको यो ‘दुर्भाग्य’ नै मातृकाका लागि अमेरिकाको राजदूत बन्ने ‘सौभाग्य’ बन्न पुग्यो।  


नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नेहरुका साथ राजा त्रिभुवन, बीपी कोइराला, मातृकाप्रसाद कोइरालालगायत 

राजा महेन्द्रको ‘कू’ का बेला मातृका विराटनगरमा थिए। उनलाई त्यहीँ पक्राउ गरी जेलमा हालियो। कम्युनिस्ट नेताहरु मनमोहन अधिकारी र शैलेन्द्रकुमार उपाध्याय पनि कोइरालासँगै जेलमा थिए।     

मातृकाले राजाको कदमको समर्थन गरेका थिएनन्, न त विरोध नै गरेका थिए। 

प्रजातन्त्रको हत्या र भाइ बीपीलाई पक्राउ गरी जेलमा कोचेकाले राजाको कदमको समर्थन गर्न उनलाई अप्ठेरो थियो। 

विरोध गर्न पनि उनलाई किन कठिन थियो भने दरबारसँग उनको निकट सम्बन्ध थियो। मोहन शमशेरको राजीनामापछि प्रधानमन्त्री बन्ने इच्छा बीपीको भए पनि २००८ मा राजा त्रिभुवनले मातृकालाई प्रधानमन्त्री बनाएका थिए। 

नेपाली कांग्रेसको सभापतिका हैसियतमा ‘पहिलो नागरिक प्रधानमन्त्री’ बने पनि भाइ बीपीकै असहयोगका कारण उनले पदबाट राजीनामा दिनु परेको थियो। बीपीकै असहयोगका कारण राजीनामा दिनुपरेपछि ‘नेपाल प्रजा पार्टी’ नामक पार्टीको सभापतिको हैसियतमा राजा त्रिभुवनले दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी उनैलाई सुम्पेका थिए। 
  
मातृका २०१५ को निर्वाचनपछि गठित उपल्लो सदन महासभाको सदस्य थिए। रोचक चाहिँ के भने नेपाली कांग्रेसले प्रतिनिधि सभाको टिकट नदिएपछि राजा महेन्द्रले आफ्नो कोटाबाट मातृकालाई महासभा सदस्यमा मनोनयन गरेका थिए। 

यिनै कारणले गर्दा राजा महेन्द्रको प्रजातन्त्रविरोधी त्यो कदमको विरोध गर्न उनलाई अप्ठेरो थियो। राजाको कदमको विरोध गर्दा आफ्नो राजभक्त छवि धुमिल हुने, राजनीतिक र व्यक्तिगत जीवनमा पनि अप्ठेरो पर्ने पक्का थियो। 

यही कारण मातृका १ पुसको शाही कदमप्रति मौन रहे। तैपनि उनी गिरफ्तारीबाट जोगिएनन्।  

बीपी कोइराला नेतृत्वको सरकार बर्खास्त भएपछि विराटनगरको बडाहाकिम बनाएर दामोदर शमशेरलाई पठाइएको थियो। दरबारनिकट उनलाई विराटनगरको जिम्मेवारी दिएर पठाइनुको कारण शान्ति सुरक्षा कायमका अलावा कोइरालाहरुको गृहनगर विराटनगरमा राजा महेन्द्रको कदमप्रति समर्थन जुटाउनु थियो। 

राजाको कदमप्रतिको समर्थन फराकिलो बनाउन उनले जेलमा रहेका मातृका, मनमोहन, शैलेन्द्रकुमार लगायतका नेताहरुसँग कुराकानी गरे। 

‘दामोदर शमशेरमार्फत् राजा महेन्द्रले पिताजीलाई राजदूत बनाउने प्रस्ताव पठाएका रहेछन्,’ मातृकापुत्र कमलले भने, ‘पिताजीसँग यो प्रस्ताव स्वीकार गर्ने वा लामो समयसम्म जेलमा रहने दुई विकल्प थिए। उहाँले पहिलो विकल्प स्वीकार गर्नुभयो।’ 

राजदूत स्वीकार गरेपछि मातृका छिट्टै रिहा भए। उनलाई अमेरिकाका लागि राजदूत बनाउने निर्णय राजा महेन्द्रले गरे। 

राजदूत बनाउने निर्णयसँगै १० चैत २०१७ मा ‘एग्रिमो’ का लागि उनको नाम अमेरिका पठाइयो। ‘एग्रिमो’ प्राप्त भएपछि ५ वैशाख २०१८ मा उनी संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत नियुक्त भए। 

वासिङ्टन डीसीस्थित राजदूतावासले नै न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय नियोग हेर्थ्यो। त्यसैले, राष्ट्रसंघीय नियोगमा स्थायी प्रतिनिधि (राजदूत) को जिम्मेवारी पनि उनैलाई दिइयो।  

रोचक चाहिँ के भने शाही कूपछि केही दिन जेलमा बिताएका मातृकाले राजदूत नियुक्त हुनुअघिसम्म राजाको कदमको समर्थनमा वक्तव्य दिएका थिएनन्, जबकि अन्य राजनीतिक नेता–कार्यकर्ताहरुलाई राजाको कदमको समर्थन गरेपछि मात्रै जेलबाट रिहा गरिएको थियो। राजाको कदमको समर्थनमा खुला वक्तव्य जारी गरेपछि उनीहरुले महत्वपूर्ण राजनीतिक जिम्मेवारी पाउँथे। 

मातृकालाई भने त्यति महत्वपूर्ण जिम्मेवारीका लागि राजाको कदमको पक्षमा वक्तव्य जारी गर्नुपर्ने कुरामा छुट दिइएको थियो।    

मातृकालाई दिइएको राजदूतको जिम्मेवारीबाट राजा र मातृका दुवैलाई लाभ भयो।   

बिनाउद्देश्य लामो समय जेलको कोठरीमा बस्नुपर्ने झमेलाबाट मातृका मुक्त भए। अनिश्चित राजनीतिक परिस्थितिका बेला शान्तसँग परिवारका साथ अमेरिकामा केही वर्ष बिताउने ‘अवसर’ उनले प्राप्त गरे।  

राजा महेन्द्रले पनि मातृकाजस्ता दिग्गज राजनीतिज्ञको विरोधको सामना गर्नु परेन। मातृकालाई राजदूतको जिम्मेवारी दिएपछि ‘बीपीका दाजुसमेत १ पुसको कदमको पक्षमा छन्’ भन्ने सन्देश प्रवाह गर्न राजा महेन्द्र सफल भए।  

उपयुक्त पात्रको अभावमा राजा महेन्द्रले कोइरालालाई राजदूत नियुक्त गरेका थिएनन्। हृषिकेश शाहजस्ता सवल कूटनीतिज्ञलाई फिर्ता बोलाएर राजाले कोइरालालाई त्यो जिम्मेवारी दिएका थिए। 

मातृकाजस्ता शीर्ष र प्रबुद्ध राजनीतिज्ञ पनि आफ्नो कदमको पक्षमा छन् भन्ने सन्देश प्रवाहकै लागि राजाले मातृकालाई राजदूतको जिम्मेवारी दिने निर्णय लिएका थिए।
 
भूराजनीतिक लेखाजोखा 
भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुसँग मातृकाप्रसाद कोइरालाको निकट सम्बन्ध थियो। २००८ मा मोहन शमशेरको राजीनामापछि राजा त्रिभुवनले बीपीको साटो मातृकालाई प्रधानमन्त्री नियुक्त गर्नुमा मातृकाको नरम स्वभाव र नेहरुसँगको निकट सम्बन्धको भूमिका थियो।  

नेहरु राजा महेन्द्रको १ पुसको कदमविरुद्ध थिए। त्यसैले, भारतका लागि राजदूत नियुक्त गरिएको भए कोइरालाले राजाको कदमप्रति नेहरुलाई नरम बनाउन भूमिका खेल्न सक्थे।    

१ पुसको घटनापछि भारतमा निर्वासनमा गएका कम्युनिस्ट नेता एवं मातृकापुत्र कमल कोइरालाका भनाइमा भारत निर्वासनमा रहेका कांग्रेस नेता सुवर्ण शमशेर पनि मातृका नै भारतका लागि नेपाली राजदूत नियुक्त भइदिए हुन्थ्यो भन्ने चाहन्थे। 

तर, राजा महेन्द्रले कोइरालालाई अमेरिकाको राजदूत बनाउन चाहे। राजालाई लाग्यो होला, आफ्नो कदमप्रति नयाँदिल्ली नकारात्मक छ, सशस्त्र संघर्षको तयारीमा रहेका सुवर्ण शमशेरलाई उसले सहयोग गरिरहेको छ। यस्तो बेला मातृकालाई नै भारतको राजदूत बनाउँदा झन् अप्ठेरो पर्न सक्छ।  

त्यसैले, राजाले मातृकालाई भारतको साटो अमेरिकाको राजदूतको जिम्मेवारी दिएर पठाए। 


राजदूतका रुपमा कोइरालाले अमेरिकी राष्ट्रपतिसमक्ष पेस गरेको ओहोदाको प्रमाणपत्र 

अमेरिकाका लागि नेपाली राजदूतका रुपमा मातृकाप्रसाद कोइरालाको नियुक्ति राजा महेन्द्रका लागि राजनीतिक मात्र होइन, भूराजनीतिक दृष्टिले पनि महत्वपूर्ण थियो। 

राजा महेन्द्रले २०१७ वैशाखमा अमेरिकाको राजकीय भ्रमण गरेका थिए। अमेरिका भ्रमणमा जानेबेलासम्म प्रधानमन्त्री बीपी कोइरालासँगको सम्बन्धमा दरार आउन थालिसकेको थियो। बीपीसँग सम्बन्ध बिग्रन थालेपछि उनको विदेश भ्रमणको भित्री उदेश्य आफ्ना आगामी कदमका लागि वैदेशिक समर्थन जुटाउनु हुन थालेको थियो। 

यसै उदेश्यका साथ २०१७ वैशाखमा भएको अमेरिका भ्रमणमा उनले तत्कालीन अमेरिकी राष्ट्रपति ड्वाइट आइजनआवरसँग निकट सम्बन्ध स्थापित गरे। कति निकटको सम्बन्ध भने राष्ट्रपति आइजनआवरले महेन्द्रलाई उपहारस्वरुप शिकार खेल्ने बन्दुक समेत दिएका थिए। 

त्यो बेला कायम भएको निकट सम्बन्धकै कारण २०२४ कात्तिकमा अमेरिकाको दोस्रो राजकीय भ्रमणका बेला महेन्द्र आइजनआवरलाई भेट्न उनको निवासमै पुगेका थिए।  

यस्तो सम्बन्धका आधारमा आफूले चालेको कदमप्रति अमेरिकाको समर्थन प्राप्त हुने विश्वास महेन्द्रको थियो। हुन पनि राजा महेन्द्रले प्रजातन्त्रविरोधी त्यत्रो कठोर कदम चाल्दा पनि आफूलाई प्रजातन्त्र संरक्षक भन्ने अमेरिकाले मौन समर्थन गरिदियो।

तर, ‘शाही कू’ को डेढ महिना नपुग्दै डेमोक्रेटिक पार्टीका जोन एफ केनेडीले अमेरिकाको नयाँ अमेरिकी राष्ट्रपतिका रुपमा शपथग्रहण गरे।

आफूले चालेको राजनीतिक कदमलाई नयाँ अमेरिकी राष्ट्रपतिले कसरी हेर्लान् भन्ने संशय राजा महेन्द्रमा हुने नै भयो। 

आफूले चालेको राजनीतिक कदमप्रति अमेरिकी (मौन) समर्थन कायम राखिरहन यस्तो ‘हाइप्रोफाइल’ व्यक्तिलाई राजदूतका रुपमा वासिङ्टन पठाउनु जरुरी थियो, जसको व्यक्तित्वका कारण अमेरिकी राष्ट्रपतिसँग सहज पहुँच स्थापित होस् र राजदूतको ओजनदार व्यक्तित्वका कारण उसको कुरामा अमेरिकी राष्ट्रपतिले विश्वास पनि गरुन्।

यही भू–राजनीतिक आवश्यकताका कारण शाह फिर्ता हुने भएपछि उनीभन्दा ‘हाइप्रोफाइल’ र प्रबुद्ध राजनीतिज्ञ कोइराला अमेरिकाका लागि नेपाली राजदूतका रुपमा   छनोट गरेका थिए।

तत्कालीन राजनीतिक बाध्यताका कारण राजदूत बन्ने राजा महेन्द्रको प्रस्ताव स्वीकार गरेपछि उनी जेलबाट रिहा भए। उतिबेला काठमाडौँको राजनीतिक वृत्तमा चलेको चर्चाअनुसार मातृका राजदूत भएर अमेरिका जान तयार थिएनन्। 

मातृका राजदूतका रुपमा अमेरिका जान तयार छैनन् भन्ने  सम्बन्धमा तत्कालीन राजनीतिक वृत्तमा चलेको हल्लाबारे भारतीय राजदूत हरिश्वर दयालले अमेरिकी राजदूत हेनरी ई. स्टेबिन्सलाई जानकारी समेत गराएका थिए। 

तत्कालीन भारतीय राजदूत दयालसँग भएको कुराकानीमा आधारित रहेर राजदूत स्टेबिन्सले गोप्य पत्र १४ मे १९६१ (१ जेठ २०१८) मा अमेरिकी विदेश मन्त्रालयलाई पठाएका थिए। यो कोइराला राजदूत नियुक्त भएको तीन हप्तापछिको कुरा थियो। 

‘राजदूत दयालले मसँगको भेटमा भनेका छन्– काठमाडौँमा यस्तो हल्ला चलिरहेको छ कि मातृकाप्रसाद कोइराला (राजदूतका रुपमा) अमेरिका जाने छैनन्,’ तत्कालीन राजनीतिक परिस्थितिबारे संक्षिप्त जानकारीका साथ स्टेबिन्सले पठाएको त्यो गोप्य टेलिग्राममा भनिएको छ, ‘त्यसपछि उनी राजदूतको कार्यभार सम्हाल्न अमेरिका जानैपर्छ, नभए उनी जेलमा फर्काइनेछ भनेर उनलाई सूचित गरिएको छ।’

तर, मातृका फेरि जेलमा फर्कने पक्षमा थिएनन्। जेलमुक्त हुनकै लागि उनले राजदूत बन्ने प्रस्ताव स्वीकार गरेका थिए। 

त्यसैले, भारतीय राजदूत दयालले अमेरिकी राजदूत स्टेबिन्सलाई दिएको सो सूचना गलत पक्कै थिएन। 

उत्साहहीन जिम्मेवारी 
७ असार २०१८ (२१ जुन १९६१) मा अमेरिकी विदेश मन्त्रालयका अधिकारीद्वय एलडी ब्याटल (कार्यकारी सचिव) र मेल्भिन म्यानफुलले ओहोदाको प्रमाणपत्र पेस गर्नका लागि राजदूत कोइराला राष्ट्रपतिसँग भेटको प्रतीक्षामा रहेको जानकारीसहितको पत्र अमेरिकी राष्ट्रपति कार्यालयमा पठाएका थिए। 

सो पत्रमा भनिएको छ, ‘राष्ट्रपति केनेडीसँगको भेटमा राजदूत कोइरालाले कुनै उल्लेखनीय विषय उठाउने छैनन् भन्ने कुरा नेपाली राजदूतावासले विदेश मन्त्रालयलाई आश्वस्त गराएको छ।’ 

यसबाट के अनुमान लगाउन सकिन्छ भने अमेरिकाका लागि नेपाली राजदूतको जिम्मेवारीप्रति कोइराला खासै उत्साहित थिएनन्। त्यस्तो उत्साह हुँदो हो त अमेरिकी राष्ट्रपतिसँगको कुराकानी लम्ब्याउने गरी आफूले कुराकानी गर्न चाहेको विषयवस्तुबारे पूर्व जानकारी गराउने थिए। 

ओहोदाको प्रमाणपत्र पेस गर्ने क्रममा राष्ट्रपति केनेडी–राजदूत कोइरालाबीच भएको कुराकानीको विवरण वासिङ्टन डिसीस्थित जोन अफ केनेडी पुस्तकालयमा भेटिन्छ। त्यो विवरणले पनि राजदूतको जिम्मेवारीप्रति उनी उत्साही थिएनन् भन्ने ठोकुवा गर्न सकिन्छ।  

दुई पृष्ठमा समेटिएको केनेडी–मातृका कुराकानीको विवरण अनुसार सुरुमा दुईबीच हार्दिक वातावरणमा शुभकामना आदान–प्रदान भएको थियो, त्यसपछि ओहोदाको प्रमाणपत्र बुझाउने औपचारिकता पुरा भयो। 

त्यो विवरणमा भनिएको छ, ‘त्यसपछि राष्ट्रपति आफैँले मैत्रीपूर्ण र अनौपचारिक तवरमा कुराकानीको सुरुवात गर्नुभयो।’ 

राष्ट्रपति केनेडीले चार वटा विषयमा राजदूत कोइरालासँग जिज्ञासा राखेका थिए। तिनमा राजाले शासन हातमा लिएपछि नेपालको परिस्थिति पहिलो विषय थियो। त्यसपछि क्रमैसँग नेपाल–भारत सम्बन्ध, नेपाल–चीन सम्बन्ध र नेपाल–अमेरिका सम्बन्धबारे उनले जिज्ञासा राखेका थिए। 


राष्ट्रपति केनेडी र राजदूत कोइरालाबीचको वार्तालापसम्बन्धी नोट 

पहिलो प्रश्नमा कोइरालाले नेपालको सरकारले गाउँ, जिल्ला, अञ्चल हुँदै अन्तिममा राष्ट्रिय तहमा नै ‘पञ्चायती प्रजातन्त्र’ लाई स्थापित गर्न खोजेको र यसखालको प्रजातन्त्र नै नेपालका लागि उपयुक्त भएको जवाफ दिएका थिए। 

राजाको कदमलाई भारतले समर्थन गरेको थिएन। भारतआश्रित भएर सुवर्ण शमशेरले राजाविरुद्ध सशस्त्र संघर्षको तयारी गरिरहेका थिए। त्यसैले, कोइरालाले केनेडीलाई भारत उत्तम छिमेकी नभएको जवाफ दिए।  

कोइरालाले नेपाल–चीन सम्बन्ध सुधारोन्मुख स्थितिमा रहेको जानकारी राष्ट्रपति केनेडीलाई गराएका थिए। त्यो बेला अमेरिकाले चीनलाई मान्यता नै दिएको थिएन। चीनको प्रशंसा अमेरिकी राष्ट्रपतिले नरुचाउने भएकाले होला, चीन–भारतबीच सिर्जित तनावका कारण चीनले नेपालप्रति ‘असामान्य मित्रता’ प्रदर्शन गरिरहेको उनले उल्लेख गरेका थिए। 

‘नेपाल–अमेरिका सम्बन्धमा भन्नुपर्ने कुनै विषयवस्तु छन् कि!’  राष्ट्रपति केनेडीले राजदूत कोइरालासँग जिज्ञासा राखेका थिए। राष्ट्रपतिको यो पछिल्लो प्रश्न भुइँमा खस्न नपाउँदै कोइरालाले जवाफ दिएका थिए, ‘हामी दुई मुलुकबीचको सम्बन्ध भने निकै सुमधुर छ।’ 


राष्ट्रपति केनेडी र राजदूत कोइराला 

सो विवरणमा लेखिएको छ, ‘नेपालको विकास प्रयास, खासगरी आर्थिक प्रगतिका लागि अमेरिकाले गरेको सहयोगप्रतिको प्रशंसालाई उहाँ (राष्ट्रपति) ले नोट गर्नुभयो।’ 

ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रमपछि राजदूत कोइरालाले केही पत्रकारहरुसँग कुराकानी गरेका थिए। गोर्खापत्रले २० साउन (२०१८) मा प्रकाशित गरेको समाचार अनुसार राष्ट्रपतिसँगको आफ्नो भेट औपचारिक प्रकृतिको भएकाले भेटघाटमा कुनै विशेष विषयमा कुराकानी नभएको उल्लेख गरेका थिए।

अन्य मुलुकमा खटिएका नेपाली राजदूतहरुले १ पुसको कदमको जसरी बचाउ गरेका थिए, कोइरालाले भने त्यसरी बचाउ गरेको भेटिँदैन। 

कार्यभार सम्हालेको करिब ९ महिनापछि कोइरालाले विलिङ्टन रोटरी क्लबले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरे। त्यो कार्यक्रममा उनले आफूलाई नेपाल–अमेरिका सम्बन्ध, नेपालको विकासको आकांक्षा लगायतका विषयमा मात्र केन्द्रित गरे। राजनीतिक विषयवस्तुमा उनी प्रवेश गरेनन्। 

अमेरिकामा छँदा राजाको कदमको पर्याप्त बचाउ नगरेका कोइराला भारतप्रति भने आलोचनात्मक बन्दै गए। जबकि, भारतीय प्रधानमन्त्री नेहरुसँगको निकट सम्बन्ध, उनी प्रधानमन्त्री छँदा भएको विवादास्पद कोसी सम्झौता, नेपालको उत्तरी सिमानामा चीनविरुद्ध भारतीय चेकपोस्ट राख्न अनुमति र नेपाली सेनाको आधुनिकीकरणको बहानामा भारतीय सैनिक मिसन ल्याउन दिएको स्वीकृति आदिका कारण नेपालभित्र उनको छवि ‘भारतपरस्त’ नेताको रुपमा स्थापित थियो। 

अमेरिकाको राजदूत बनाइने भएपछि ‘एग्रिमो’ का लागि अमेरिकी विदेश मन्त्रालयले तयार पारेको कोइरालाबारेको परिचयमूलक सामाग्रीमा पनि उनीमाथि ‘भारतपरस्त’ को आरोप लागेको उल्लेख थियो। 

तर, अमेरिकामा रहँदा उनी भारतप्रति आलोचक बन्न थाले।  २९ भदौ (२०१९) मा नेपाली राजदूतावासले आयोजना गरेको पत्रकार सम्मेलनमा सशस्त्र संघर्षमा भारतीय भूमिकाको उनले आलोचना गरेका थिए। 

‘नेपाल–भारत सीमामा भएका घटनाहरुले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धमा आघात पार्दैछन्,’ उनले भनेका थिए, ‘हान र भाग (कांग्रेसको गुरिल्ला नीति) भन्ने नीतिलाई प्रोत्साहित गराएर दुई देशबीचको सम्बन्धमा सुधार आउन सक्दैन।’ (गोर्खापत्र, ३१ भदौ २०१९)

त्यो बेला नयाँदिल्लीको व्यवहार सशस्त्र संघर्ष गरिरहेको कांग्रेसप्रति ‘नरम’ र सरकारप्रति ‘गरम’ थियो। त्यसैले, राजाले आफ्नो कदमप्रति अमेरिकाको सहयोगका लागि भरमग्दुर प्रयास गरिरहेका थिए। चिनियाँ आक्रमणको भय देखाएर भए पनि अमेरिकाबाट हात–हतियारलगायत सैन्य सहयोग लिने राजा महेन्द्रको नीति देखिन्थ्यो।


राष्ट्रपति केनेडी र मन्त्रिपरिषद् अध्यक्ष डा. गिरिबीचको भेटघाटमा राजदूत कोइराला

यही प्रयोजनका लागि मन्त्रिपरिषदका अध्यक्ष डा. तुलसी गिरि २०२० मा अमेरिका पुगे। डा. गिरिको अमेरिका भ्रमणको बहाना संयुक्त राष्ट्रसंघीय महासभामा सहभागिता थियो। तर, अमेरिकाबाट सैन्य सहयोगका लागि ‘लबिइङ’ गर्नु डा. गिरिको अमेरिका भ्रमणको मुख्य उदेश्य थियो। 

डा. गिरिले राजदूत कोइरालाका साथमा अमेरिकी राष्ट्रपति केनेडीसँग कुराकानी गरेका थिए। त्यसअघि उनको ग्रान्ट नामक तत्कालीन अमेरिकी उपसहायकमन्त्रीसँग पनि उनको कुराकानी भएको थियो। 

तर, ग्रान्टले सैन्य सहयोग भारतबाटै लिनु व्यावहारिक हुने जवाफ फर्काए, जबकि नेपाल–भारतबीच कति चिसो सम्बन्ध छ भन्नेबारे उनी बेखबर थिएनन्।  

ग्रान्टले यस्तो जवाफ दिएपछि डा. गिरिको साथमा रहेका राजदूत कोइरालाले भनेका थिए, ‘त्यसोभए नेपाल किन (सैन्य सहयोगका लागि) पाकिस्तानतर्फ फर्कन सक्दैन?’


अमेरिकी विदेश उपसहायकमन्त्री ग्रान्टसँग डा. गिरि र राजदूत कोइरालाको वार्ताबारे अमेरिकी विदेश मन्त्रालयको नोट

कोइरालालाई ग्रान्टको जवाफ थियो, ‘सैन्य सामाग्री उत्पादनका दृष्टिले पाकिस्तान निकै कमजोर छ। भौगोलिक कारणले पनि पाकिस्तानी सैन्य सहयोग व्यावहारिक नहुने भएकाले नेपालको सुरक्षाका लागि नेपाल–भारत सहकार्य नै जरुरी छ।’  

कार्यकाल पूरा नगरी फिर्ता
अमेरिका पुगेको केही महिनापछि नै कोइराला राजदूतको जिम्मेवारी त्यागेर फर्कंदैछन् भन्ने हल्ला काठमाडौँको राजनीतिक वृत्तमा चल्न थाल्यो। राजदूत कोइराला यति छिट्टै अमेरिकाबाट फर्कंदा राजा महेन्द्र अप्ठेरोमा पर्न सक्थे। कोइरालाको फिर्तीले उनी राजा महेन्द्रप्रति असन्तुष्ट छन् भन्ने सन्देश जान सक्थ्यो। 

हल्ला त हल्ला नै हो। तर, त्यो ‘हल्ला’ राजनीतिक दृष्टिले यति संवेदनशील थियो कि, सरकारले नै ‘हल्ला’ को खण्डन गर्नुपर्ने आवश्यकता देख्यो। २८ चैत (२०१८) मा विज्ञप्ति जारी गरी परराष्ट्र मन्त्रालयले ‘राजदूत कोइराला नेपाल फर्कने कार्यक्रम नरहेको’ उल्लेख गर्यो।   

तैपनि कोइरालाले राजदूतको तीन वर्षे कार्यकाल पुरा बिताएनन्। पूर्वपरराष्ट्रसचिव डा. मदन भट्टराईका भनाइमा कार्यकाल पुरा नहुँदै २०२० को अन्त्यताका फर्केर कोइरालाले पदबाट राजीनामा दिए। 

‘नेपाल फर्केलगत्तै उहाँले २०२१ को सुरुमा राजीनामा दिनुभयो,’ डा. भट्टराईले भने, ‘तर, राजीनामा दिएको ४–५ महिनापछि मात्रै दरबारले उहाँको राजीनामा स्वीकृत भएको विज्ञप्ति जारी गर्यो। ४–५ महिना अघि दिएको राजीनामा, राजीनामा दिएको मितिबाटै लागू हुने गरी स्वीकृत गरिएको थियो।’

परराष्ट्र मामिलासँग सम्बन्धित ‘परराष्ट्रका पात्र’ र ‘परराष्ट्रका प्रशासक’ नामक दुई पुस्तकका लेखकसमेत रहेका डा. भट्टराईले कोइराला जीवित रहँदा पटक–पटक भेट गरी कोइरालाको कूटनीतिक जीवनबारे कुराकानी गरेका थिए। त्यसक्रममा कोइरालाले ‘आफू कसरी राजदूत बनेँ’ र ‘असमयमै जिम्मेवारी छाडेर किन फर्कें’ भन्नेबारे डा. भट्टराईलाई खुलस्त रुपमा बताएका थिए। 


प्रधानमन्त्री छँदा कार्यालयमा मातृकाप्रसाद कोइराला 

डा. भट्टराईको भनाइमा भाइ बीपी जेलमा रहेका बेला राजदूत स्वीकार गरेर अमेरिका जाँदा पारिवारिक रुपमा पनि अप्ठेरो पर्छ भनेर मातृकापत्नी मञ्जु कोइरालाले मातृकाप्रसाद कोइरालालाई सचेत गराएकी थिइन्। राजा त्रिभुवनकै पालामा दुई–दुई पटक प्रधानमन्त्री भइसकेका व्यक्तिले राजदूतको जिम्मेवारी स्वीकार गर्नु व्यक्तिगत प्रतिष्ठाका दृष्टिले पनि उत्तम नहुने सुझाव पनि उनले शुभेच्छुकहरुबाट पाएका थिए।

तर, राजा महेन्द्रले जुन तर्कका साथ कोइरालालाई राजदूत बन्न जोड गरे, उनले राजदूतको जिम्मेवारी अस्वीकार गर्नै सकेनन्। फेरि जेलमा नजाने उनको योजना त छँदै थियो। 

‘बुबा (राजा त्रिभुवन) को पालामा तपाईं प्रधानमन्त्री बन्नुभयो, प्रधानमन्त्रीको पद पनि ‘राजाको प्रतिनिधि’ हो, राजदूत पनि राजाको प्रतिनिधि नै हो,’ राजा महेन्द्रको भनाइ थियो, ‘अहिले मेरो प्रत्यक्ष शासन छ, प्रधानमन्त्री पनि छैनन्, खासमा मैले प्रधानमन्त्री सरहकै राजदूतको जिम्मेवारी दिएर तपाईंलाई अमेरिका पठाउन लागेको हुँ।’  

राजाको यस्तो तर्कपछि कोइराला राजदूतका रुपमा अमेरिका जान तयार भए। उनलाई प्रधानमन्त्रीस्तरको राजदूत र सुविधापनि सोही बमोजिम हुने गरी राजदूत नियुक्त गरिएको थियो। 

डा. भट्टराईका भनाइमा राजदूतको जिम्मेवारी सम्हाल्नुअघि कोइरालाले राजा महेन्द्रसँग तीन वटा सर्त पनि राखेका थिए। 

एक– राजाको प्रत्यक्ष शासन अवधिभर मात्र राजदूतको जिम्मेवारी सम्हाल्ने, दुई– प्रधानमन्त्री चयन भएपछि राजदूतबाट राजीनामा दिने। र, तीन– राजदूतका रुपमा पठाइने कतिपय महत्वपूर्ण रिपोर्टहरु परराष्ट्र मन्त्रालयको साटो सिधै राजदरबारमा पठाउने। 

कोइराला राजदूत नियुक्त हुँदा मन्त्रिपरिषदको अध्यक्ष राजा महेन्द्र आफैँ थिए। परराष्ट्र मन्त्रालयको जिम्मेवारी डा. गिरिलाई दिइएको थियो। 

तर, २०१९ चैत तेस्रो हप्ता राजा महेन्द्रले मन्त्रिपरिषद् अध्यक्षको जिम्मेवारी डा. गिरिलाई सुम्पे। गिरिलाई दिइएको त्यो जिम्मेवारी प्रधानमन्त्री सरहको थियो। 


जीवनको उत्तरार्धमा मातृकाप्रसाद कोइराला (फोटो सौजन्यः कमल कोइराला)

‘प्रधानमन्त्री सरहको अध्यक्ष बनेपछि कोइराला राजदूतबाट राजीनामा दिने निर्णयमा पुग्नुभयो,’ डा. भट्टराईले भने, ‘राजनीतिमा आफूभन्दा जुनियर व्यक्तिको मातहत हुनेगरी राजदूतमा बसिरहनु अनुपयुक्त ठानेर राजीनामा दिनुभएको थियो।’  

राजदूतको जिम्मेवारीबाट राजीनामा दिए पनि राजा महेन्द्रसँग उनको सम्बन्ध नराम्रो भने रहेन।

‘राजाले तपाईंलाई कुनै राम्रो ठाउँमा नियुक्ति दिन्छु भनेका थिए। त्यसैले राजीनामा दिनुभयो,’ मातृकापुत्र कमलले भने, ‘तर, राजाले बुबालाई दिएको बचन पुरा गरेनन्।’ 

राजा महेन्द्रलाई मातृकाको उपयोगिता त्यो जटिल स्थितिमा मात्र थियो, जतिबेला भर्खर उनले बीपीलाई अपदस्थ गरी शासन हत्याएका थिए। भारत पनि उनको खिलाफमा भएको बेला थियो त्यो। त्यहीकारण उनलाई प्रधानमन्त्रीसरहको राजदूतको जिम्मेवारी दिइएको थियो। 

तर, चीन–भारत सीमायुद्धपछि परिस्थिति बदलियो। चीन–भारतबीचको युद्धका कारण सुवर्ण शमशेरले पनि सशस्त्र संघर्ष फिर्ता लिए। चीनसँगको युद्धमा पराजित भएपछि नयाँदिल्ली पनि राजा महेन्द्रसँग सम्बन्ध सुधारको प्रयासमा थियो। 

अब मातृका राजा महेन्द्रका लागि त्यति उपयोगी पात्र थिएनन्। त्यसैले, दिएको बचन राजदूतबाट राजीनामापछि पुरा गर्न उनले जरुरी सम्झेनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .