राजनीति


सुदूरपश्चिम प्रदेश सरकारका वनमन्त्री चौधरी बर्खास्त

सुदूरपश्चिम प्रदेश सरकारका वनमन्त्री चौधरी बर्खास्त

नेपालखबर
असार १९, २०८२ बिहिबार १९:७, काठमाडौँ

सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरी बर्खास्तीमा परेका छन्।

आज बिहीबार मुख्यमन्त्री कमलबहादुर शाहले चौधरीलाई बर्खास्त गरेका हुन्। 

‘मन्त्रिपरिषद् हेरफेर भयो। १० जनाको मन्त्रिपरिषद् थियो अब ९ जना भयो,’ उनले भने नेपालखबरसँग भने।

चौधरी नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य हुन्। चौधरीलाई बर्खास्त गरेपछि उक्त मन्त्रालय मुख्यमन्त्री शाहले आफै मातहत राखेका छन्।  

मुख्यमन्त्री  शाहले कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै चौधरीलाई पदबाट राजीनामा गर्न यसअघि नै निर्देशन जारी गरेका थिए। तर चौधरीले राजीनामा दिन अटेर गरिरहेका थिए।  नाउपाको संसदीय दलले मन्त्री चौधरीले राजीनामा नगर्ने बरु बर्खास्त गर्न मुख्यमन्त्री शाहलाई चुनौती दिएको थियो। 

मन्त्री चौधरीबाट गल्ती नभएको बताउँदै दल नेता घनश्याम चौधरीले गल्ती गरेको भए मन्त्रीलाई बर्खास्त गर्न चुनौती दिएका थिए।

खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको निर्देशकमा खेमराज जोशीलाई एकलौटी नियुक्ति गरेको, अनुदानमा पावरटिलर बाँड्न किसानबाट रकम असुलेको लगायत आरोपमा मन्त्री चौधरीलाई राजीनामा गर्न निर्देश जारी भएको थियो। 

मन्त्री चौधरीले कुनै गल्ती नगरेकोले राजीनामा नदिने बरु मुख्यमन्त्रीले अधिकार प्रयोग गरेर बर्खास्त गर्न नाउपाको चुनौती थियो। चौधरी जेठ ४ गते उद्योगमन्त्री नियुक्त भएका थिए। उनीभन्दा अघि नागरिक उन्मुक्तिकै लक्ष्मणकिशोर चौधरी उद्योगमन्त्री थिए। 

आर्थिक चलखेलको अडिओ सार्वजनिक भएपछि मुख्यमन्त्री शाहको निर्देशनमा लक्ष्मणकिशोरले पदबाट राजीनामा दिएका थिए। त्यसपछि नाउपाभित्र कस्लाई मन्त्री पठाउने भन्ने किचलोकै बीच रामेश्वरलाई दलका नेता घनश्याम चौधरीले सरकारमा पठाएका थिए।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत ४ वटा समिति छन्। सत्तारुढ गठबन्धनभित्र भागबण्डा नमिल्दा ती समितिले पूर्णता पाएको छैन।

नाउपाले सत्तारुढ दलभित्र खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको कार्यकारी निर्देशक नाउपालाई दिने सहमति बनेको दाबी गरेको छ। सोही आधारमा आफ्नो क्षेत्राधिकार प्रयोग गर्दै जोशीलाई कार्यकारी निर्देशक नियुक्त गरिएको उसले दाबी गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad