राजनीति


सडक कालोपत्रे गर्न माग गर्दै वडाध्यक्षले सडकमै सञ्चालन गरे कार्यालय

सडक कालोपत्रे गर्न माग गर्दै वडाध्यक्षले सडकमै सञ्चालन गरे कार्यालय

नेपालखबर
फागुन १९, २०८१ सोमबार १०:८, कञ्चनपुर

कञ्चनपुरको कृष्णपुर नगरपालिका– २ का वडाध्यक्ष अर्जुन साउदले कालोपत्रको माग गर्दै सडकमै बसेर वडा कार्यालय सञ्चालन गरेका छन्।

ठेक्का सम्झौता भएको लामो समयदेखि बंक–नायल–बुडर सडक कालोपत्र कार्य नभएपछि वडाध्यक्ष साउदले निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालयलाई दबाब दिन सडकमै कार्यालय सञ्चालन गरेका हुन्। 

उनले सडकको प्रवेश बिन्दुमै टेबुल राखेर आइतबारदेखि वडाको सेवा प्रवाह गरिरहेका छन्। कालोपत्र गर्ने कार्यको सुनिश्चितता नहँुदासम्म सडकमै कार्यालय सञ्चालन गर्ने उनले बताए। 
 
‘पटक–पटक सडक स्तरोन्नती र कालोपत्रका लागि ठेक्का सम्झौताको म्याद थप्ने कार्य बाहेक सडक कालोपत्र कार्यको प्रगति हुनसकेको छैन,’ वडाध्यक्ष साउदले भने, ‘सडकका खाल्डाखुल्डी पुर्ने कार्यमै बजेट सिध्याइने गरिएको छ, त्यस भन्दा बाहेकको कार्य प्रगति हुन सकेको छैन।’

जन दबाब बढ्न थालेपछि सडकमै कालो ब्यानर राखेर कालोपत्रका लागि सडकमा उत्रिनु परेको उनले बताए। 

धुलाम्मे सडकम हिँडडुल गर्न निकै सास्ती हँुदै आएको स्थानीय रामनाथले बताए। पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख योगेन्द्र अधिकारीले सडक कालोपत्रका लागि निर्माण व्यवसायीलाई तोकेता गर्दै आएको जानकारी दिए। 

‘निर्माण व्यवसायीले अश्वासन दिन्छन् तर, काम गर्दैनन्,’ उनले भने,  ‘यथाशीघ्र कार्य सुरु गर्नका लागि पत्राचार गरेका छौँ, एक हप्ताभित्रै कार्य सुरु गर्ने विश्वास दिएको छ।’

चैत महिनासम्म ठेक्को म्याद थप भएकाले बीचमै ठेक्का तोडेर अर्कोलाई दिन नसकिने भएकाले ताकेता गर्दै आएको उनले सुनाए।  सडक निर्माणका लागि सन्तोषी थेगिम जेभीसँग विसं २०७७ साउन २० गते ठेक्का सम्झौता भएर विसं २०८१ वैशाखमा म्याद सकिएको थियो।
 
विसं २०८२ चैत ३० गते सम्मका लागि म्याद थप भए पनि सडक स्तरोन्नती तथा कालोपत्रको कार्य अहिलेसम्म पूरा हुनसकेको छैन । सडक निर्माणको हालसम्म ३५ प्रतिशत मात्रै प्रगति भएको छ। 

एघार करोड ८६ लाख रुपैयाँमा सात किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौता भएको चार वर्ष बिते पनि कार्य अलपत्र परेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad