राजनीति


देश अस्थिरतामा फस्यो : रमेश लेखक

देश अस्थिरतामा फस्यो : रमेश लेखक

नेपालखबर
बैशाख २४, २०८१ सोमबार १०:४९, कञ्चनपुर

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले देश राजनीतिक अस्थिरतामा फसेको बताएका छन्। 

प्रेस युनियन कञ्चनपुर शाखाले सोमबार बिहान महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै लेखकले यस्तो बताएका हुन।

‘१४ महिनामा ३ पटक सरकार फेरियो। सत्तारुढ दल नै फुट्ने अवस्था आएको छ,’ जनता समाजवादी पार्टी (जसपा) विभाजनलाई लक्षित गर्दै उनले भने, ‘राजनीतिक स्थिरता नहुनु मुलुकका लागि चिन्ताको विषय हो।’

मुलुकमा स्थिरता ल्याउनका लागि गम्भीरतापूर्वक सोच्नु पर्ने अवस्था आएको उनको भनाइ थियो। संविधानको समीक्षा गरेर अन्य पार्टीहरुसँग संवाद र सहमतिमा संशोधन गरेर जानु पर्नेमा उनले जोड दिए। 

‘संविधानका राम्रा पक्ष छन्। ८ वर्षको अभ्यासमा कतिपय दुर्बल पक्ष पनि देखिएका छन्। हामीले मिश्रित निर्वाचन प्रणाली अपनायौँ। देशमा स्थिरता हुनुपर्ने तर अस्थिरता रह्यो,’ उनले भने, ‘बहुमतको शासन परिकल्पना गर्‍याैँ। साना साना पार्टीले नेतृत्व गर्ने अवस्थ आयो। यो निकै चिन्ताको विषय हो।’

सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन हुनु पर्ने उनले बताए। सरकारले नेपाली कांग्रेसले उठान गरेको माग सम्बोधन नगरेर संसदको अधिवेशन अन्त्य गरेर भागेको उनको टिप्पणी थियो।

‘प्रधानमन्त्री सहकारीको छानविन समग्रतामा गर्ने भन्नुभएको सुनियो। त्यसका लागि हामी तयार छौँ। तर सबैको छानविन गर्दा व्यक्ति लक्षित गृहमन्त्रीको छानविन नगर्नु पर्ने?,’ उनले भने, ‘रवि लामिछानेको हामीले राजीनामा मागेका छैनौँ। छानविन हुनु पर्ने मात्रै भनेका छौँ।’

बजेट अधिवेशन आह्वान भएकाले त्यसअघि नै सरकारले आफूहरुको माग सम्बोधन गरेर जानेमा उनले विश्वास व्यक्त गरे। नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाउन पर्ने आवाज उठिरहेको पनि उनले बताए। नेकपा एमालेभित्रै अहिले सत्तारुढ समीकरणप्रति असन्तुष्टि देखिएको उनको दाबी थियो। 

दुवै पार्टीभित्र र जनतामा एमाले र कांग्रेस मिलेर सरकार बनाउनु पर्ने आवाज उठेको बताउँदै उनले तर त्यसका लागि ठोस संवाद नभएको स्पष्ट पारे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .