सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आगामी २३ गते संवैधानिक इजलास पुनर्गठन गर्ने घोषणा गरेका छन्।
मंगलबार बसेको संवैधानिक इजलासमा उनले सो घोषणा गरेका हुन्।
‘यो भन्दा अगाडि नजाउँ २३ गते रोष्टरबाटै पुनर्गठन गर्छु’ प्रधानन्यायाधीश राणाले भने।
गएको शुक्रबार गठन गरिएको इजलासमा रहेका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठको निष्पक्षतामाथि प्रश्न उठाउँदै इजलास छोड्न वकिलहरुले दबाब दिएका थिए।
सो दबाबपछि इजलासमा रहने कि नरहने भन्ने निर्णय गर्ने जिम्मा उनीहरु दुईलाई दिइएको थियो।
तर, उनीहरु दुबैले छोड्न मानेका थिएनन्। दुबैले आफूहरुले इजलास छाड्नु नपर्ने निर्णय सुनाएका छन्।
निर्णयमाथि इजलासमै रहेका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की, आनन्दमोहन भट्टराईले छुट्टै राय पेश गर्दै यही अवस्था रहे इजलास छाड्ने घोषणा गरेपछि प्रधानन्यायाधीश राणाले इजलास पुनगर्ठन गर्ने घोषणा गरेका हुन्।
आजको इजलास बस्नुअघि राणा र सर्वोच्च बारका पदाधिकारीबीच वरिष्ठ न्यायाधीशहरुमध्येबाट इजलास गठन गर्ने सहमति जुटेको थियो।
प्रधानन्यायाधीश राणाले शुक्रबार गठन गरेको इजलासमा रहेका मध्ये तेजबहादुर केसी र बमकुमार श्रेष्ठ इजलासमा बस्न नहुने वकिलहरुले बताएपछि विवाद भएको थियो।
वकिलहरुले केसी र श्रेष्ठलाई इजलासमा नबस्न आग्रह नै गरेका थिए। तर, यसबारेमा प्रधानन्यायाधीश राणाले न्यायाधीशमाथि विश्वास गर्न आग्रह गरेपनि वकिलहरु मानेका थिएनन्।

प्रतिक्रिया