सर्लाहीको बागमती नगरपालिका- ४ कर्मैयास्थित बागमती नदीको घाट। सोमबार साँझको समय।
नदी किनारामा एक हजार भन्दा धेरैको उपस्थिति छ। जहाँ विभिन्न राजनीतिक दलका नेता-कार्यकर्तादेखि सर्वसाधारण नागरिक भेला भएका छन्।
पिपिई सेट लगाएका नेपाली सेनाका चार जवान एम्बुलेन्सबाट एउटा शव बाहिर निकाल्छन्। शव प्लास्टिकले बेरिएको छ। कोरोना संक्रमणको कारण ज्यान गुमाएका माओवादी केन्द्रका सर्लाही जिल्ला सदस्य रामचन्द कुशवाहाको शव लिएर त्रिवि शिक्षण अस्पताल, काठमाडौंबाट केहीबेर अघि मात्र यो एम्बुलेन्स बागमती नदी किनारामा आइपुगेको हो।
नदी किनारामा दाउराको चिता तयारी अवस्थामा छ। स्वास्थ्य सुरक्षाका सबै उपाय अपनाएका सर्लाहीको नवलपुरस्थित पाँचकुमारी ब्यारेकका सैनिक जवान त्यो शव चितामाथि राख्छन्। परिवारका सदस्य टाढैबाट भए पनि एकपटक झलक्क आफ्ना प्रिय मान्छेको अनुहार देखाइदिन सैनिक जवानसँग अनुरोध गर्छन्। तर सैनिक जवान मृतकका आफन्तको अनुरोधलाई वास्ता गर्दैनन्।
कुशवाहाकी पत्नी बिनादेवी पतिको निधनले विक्षिप्त छिन्। स्वास्थ्यमा समस्या देखिएपछि दुई साताअघि उपचारको लागि भनेर उनले घरबाट पतिलाई बिदाइ गरिन्। दुई भाई वीरेन्द्र र दिनेशले दाजु रामचन्द्रलाई हरिवन र भरतपुरका विभिन्न अस्पताल हुँदै काठमाडौँ लगे। आइसियू र भेन्टिलेटरमासमेत राखेर उपचार गरियो, तर उनी बाँच्न सकेनन्। आइतबार राति उनले प्राण त्यागे।
घरबाट बिदाइ गरेयता बिनाले आफ्ना पतिलाई देख्न पाइकी छैनन्। यतिबेला उनको अगाडि प्लास्टिकले बेरिएको अवस्थामा आफ्ना प्रिय मान्छेको शव तेर्सिएको छ। उनी एक झलक टाढैबाट पतिको अनुहार हेर्न पाऊँ भनेर याचना गर्दैछिन्।
पत्नी बिना र ७० वर्ष उमेर काटेका रामचन्द्रका बुवाआमा मात्र होइन, ९, १२ र १४ वर्षका तीन छोराछोरी पनि आफ्ना बुवाको अन्तिम बिदाइको लागि बागमती घाटमा आइपुगेका छन्। उनीहरु पनि आफ्ना बुवाको अनुहार एकपटक मात्रै भए पनि झलक्क हेर्न निकै हातुर देखिन्छन्।
‘मेरा पतिको अनुहार टाढैबाट भए पनि म एकपटक हेर्न चाहन्छु, देखाइदिनुस्,’ भक्कानिदै बिनाले सैनिक जवानहरुसँग अनुरोध गरिन्। तर, ती सैनिक जवानले उनको अनुरोधको सुनुवाइ गरेन।
बरु उल्टै त्यहीँ रहेका प्रहरीका सइ प्रवीण भट्टराई बीनालाई त्यहाँबाट लैजान भनेर कड्किंन थाले। केही महिलाले बिनालाई त्यहाँबाट घिसारेर अलि पर पुर्याए।
एकैछिनमा चिताबाट धुवाँको मुस्लो छुट्यो। कालो धुवाँको मुस्लो आकाशतिर बिलायो। केही बेरमै सग्लो सरीर खरानी बन्यो। आफ्ना प्रिय मान्छेको प्राणबिनाको अनुहार टाढैबाट भए पनि एक झलक हेर्ने आफन्तको इच्छा पूरा हुन पाएन।
माओवादी केन्द्रका सर्लाही जिल्ला सचिव कमल बुढाथोकी, एमाले अध्यक्ष रेवती पन्त, प्रदेश सांसद डिल्ली उप्रेती, बागमती, हरिवन र बरहथवा नगरपालिकाका मेयर क्रमशः भरत थापा, गणेश प्रसाइँ र देवानन्द महतो पनि त्यहीँ थिए। तर उनीहरुले पनि रामचन्द्रका शोकाकूल ‘आफन्तलाई एक झलक अनुहार देखाइदिनुस्’ भनेर मुख खोलेनन्।
कोभिडको कारण निधन भएकाको शव टाढैबाट हेर्दा पनि संक्रमणको डर हुन्छ? शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा.शेरबहादुर पुन त्यस्तो सम्भावनालाई अस्वीकार गर्छन्।
‘दुई तीन मिटर टाढाबाट मृतकको अनुहार हेर्दा केही फरक पर्दैन्,’ सरुवा रोग विशेषज्ञसमते रहेका डा.पुनले नेपालखबरसँग भने, ‘संक्रमितको शवलाई छुने र अंकमाल गर्ने कार्य भने गर्नु हुँदैन, टाढैबाट हेर्दा संक्रमण फैलिने हो कि भनेर डराउनु आवश्यक छैन।’
स्वास्थ्य मन्त्रालयले बनाएको कोरोना संक्रमितको शव व्यवस्थापन सम्बन्धि मापदण्डमा पनि आफन्तलाई टाढैबाट अनुहार हेर्नसमेत रोक लगाउने भन्ने कुरा उल्लेख नभएको उनले बताए। ‘यसरी संक्रमण फैलिने वैज्ञानिक आधार छैन,’ डा.पुनले भने।
घाटमा एक हजार भन्दा धेरै मान्छे पुगेका थिए, सुरक्षाकर्मीले त्यसमा कुनै रोकतोक गरेका थिएनन्। ‘त्यतिका मान्छे मलामी जान हुने, तर टाढैबाट आफन्तले झलक्क अनुहार हेर्छु भन्दा नपाउने, यो निमय हामीलाई चित्त बुझेको छैन,’ मृतक रामचन्द्रका भाइ विरेन्द्रले भने, ‘यसले वृद्ध आमा-बुवा, भाउजु र साना नानी-बाबुलाई निकै दुःखी बनाएको छ।’
पाँचकुमारी व्यारेकका प्रमुख कर्णेल सरोज राना सेनाले शव व्यवस्थापन गर्दा आफन्तलाईसमेत अनुहार हेर्न नदिने नियम नभएको बताउँछन्। ‘त्यो शव काठमाडौंबाट ल्याइएको थियो,’ उनले नेपालखबरसँग भने, ‘त्यही भएर उतैबाट प्याक गरेर ल्याइएको शव खोलेर नदेखाइएको हुनसक्छ। यसलाई अन्यथा लिनु हुँदैन। स्थानीय रुपमा शवको व्यवस्थापन गर्दा हामी आफन्तलाई हेर्न दिन्छौँ, त्यसमा कुनै रोकतोक छैन।’
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि आवश्यक सावधानी अपनाइएको छ भने मृतकको शरीरबाट कोभिड १९ सर्छ भनेर डराउनु पर्ने जरुरी नरहेको बताउने गरेको छ।
डब्लुएचओका अनुसार यो रोग लगाउने सार्स-कोभ-२ भाइरस विशेषगरी मानिसले निकाल्ने थुक वा र्याल जस्ता कुराका छिटाहरूबाट सर्छ। बोल्दा, हाच्छिउँ गर्दा वा खोक्दा यस्ता छिटाहरू निस्कन्छन्। दुई मिटर टाढैबाट मृतकको अनुहार हेर्दा यो रोग सर्दैन।

प्रतिक्रिया