राजनीति


ग्राउन्ड जिरो धनुषा-४ : रघुवीरलाई बालेनको डर, महेन्द्रलाई चन्द्रमोहनको भर

ओलीको बोलीले रघुवीरलाई चोट
ग्राउन्ड जिरो धनुषा-४ : रघुवीरलाई बालेनको डर, महेन्द्रलाई चन्द्रमोहनको भर

लोकेन्द्र भट्ट र सुभाष कर्ण
माघ १९, २०८२ सोमबार १७:२, जनकपुरधाम, धनुषा

प्रतिनिधि सभा निर्वाचनका लागि धनुषा क्षेत्र नम्बर ४ मा राजनीतिक दल र स्वतन्त्र गरी ३७ उम्मेदवार छन्। मुख्य प्रतिस्पर्धा भने कांग्रेसका निवर्तमान सहमहामन्त्री महेन्द्र यादव, नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजकिशोर महतो, जनता समाजवादी पार्टी (जसपा) का कृष्णचन्द्र साह र जनमत पार्टीका इन्द्रजित कुमार यादवबीच हुने आकलन छ। 

मधेसमा प्रमुख दलका उम्मेदवारहरूले चुनावमा स्रोत-साधन परिचालनका लागि डमी उम्मेदवार पनि खडा गर्ने गर्छन्। 

एक उम्मेदवारले नेपालखबरसँग भने, ‘प्रचारप्रसारका लागि गाडीको प्रयोग र चुनावी खर्च विवरण देखाउन सजिलो हुन्छ। अन्तिममा यति स्वतन्त्र उम्मेदवारले समर्थन गरे भनेर माहोल देखाउन पनि सजिलो हुन्छ। मेरा मात्र ५ जना डमी उम्मेदवार छन्। ती सबैले मेरा लागि काम गरिरहेका छन्।’

मधेस प्रदेशमा दलका भन्दा स्वतन्त्र उम्मेदवार बढी देखिनुको कारण डमी उम्मेदवार भएको भन्दै धनुषा-४ मा कांग्रेसका महेन्द्र यादव र एमालेका रघुवीर महासेठबीच भिडन्त हुने आकलन उनले गरे।

यता रास्वपा र मधेसवादी दलका उम्मेदवार पनि सशक्त देखिएका छन्। मधेसमा रास्वपाको बालेन कार्डले देखिएको लहरबाट धनुषा-४ पनि टाढा छैन। अर्कोतिर मधेसवादी दलको पनि ग्रासरुटसम्मै संगठन छ।

यद्यपि धनुषा-४ मा महेन्द्र र रघुवीरबीच विगतदेखि नै कडा टक्कर देखिन्छ। गत निर्वाचनको परिणाम हेर्दा दुईबीचको मतमा खासै अन्तर देखिँदैन। रघुवीरले १२४ मतले महेन्द्रलाई हराएका थिए। यादव समुदायको बाहुल्य रहेको यस  क्षेत्रमा महेन्द्र हार्नुको कारक कांग्रेसकै अन्तरघात ठानिएको छ। 

कांग्रेसको गढ र यादवको बाहुल्य भए पनि गत निर्वाचनमा पूर्वराष्ट्रपति डा रामवरण यादवका छोरा चन्द्रमोहन यादवको असन्तुष्टि सम्बोधन गर्न नसक्दा झिनो मतान्तरले महेन्द्र हारेको कांग्रेसकै नेताहरूको बुझाइ छ। नेपालखबरसँगको कुराकानीमा पनि महेन्द्रले पार्टीभित्रको असन्तुष्टि व्यवस्थापन गर्न नसक्दा चुनाव हार्नु परेको बताएका छन्। तर यसपटक चन्द्रमोहनलाई समानुपातिकमा मधेसीतर्फ एक नम्बरमा राखिएकाले महेन्द्रलाई अन्तघात हुने डर कम देखिन्छ।

चन्द्रमोहनलाई साथमै राखेर उनले भने, ‘यसपटक हाम्रो पार्टीमा आन्तरिक एकता मजबुत छ। मलाई सहानुभूतिको मत पनि आउँछ। चुनाव जित्नेमा कुनै शंका छैन।’

उता एमाले उम्मेदवार रघुवीर पनि आसन्न निर्वाचन आफूले सहजै जित्ने दाबी गर्छन्। लगातार जितको प्रभाव, पटकपटक मन्त्री बनेर क्षेत्रमा गरेको विकास, सांगठनिक पकड, समन्वयको अनुभव र स्थानीय तहमा पार्टीको पहुँच आफ्नो जितको आधार भएको तर्क उनी गर्छन्। 

तर, एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेतबाट मधेसी समुदाय लक्षित टिप्पणीको रफु भर्न रघुवीरलाई हम्मेहम्मे परिरहेको छ। ओलीले धनुषा र महोत्तरीलाई फोहोर सहरका रूपमा चित्रण गर्दै दिएको अभिव्यक्ति यहाँका मतदाताको मनमा गढेको पाइन्छ।

आगामी प्रधानमन्त्री पदका दाबेदार ओली र बालेन शाहबीचको टकराबको प्रभाव धनुषा ४ मा देखिँदा रघुवीरलाई चुनौती थपिएको छ। साथै गत निर्वाचनमा धनुषाको संसदीय राजनीतिमै प्रभाव पार्ने हत्या मुद्दामा जेल सजाय कटाइरहेका सञ्जय साह (टकला) ले पनि रघुवीर छाडेर रास्वपा रोजेको चर्चा छ। 

भदौ २३ लाई मुद्दा बनाएको रास्वपा र भदौ २४ लाई मुद्दा बनाएको एमालेको लडाइँ झापापछि धनुषामै कडा हुने देखिन्छ। रास्वपाले मधेसको राजधानी जनकपुरमा चुनावी सभा गर्दा एमालेलाई नै मुख्य निसाना बनाएको थियो।

अर्कातिर धनुषामा रघुवीरले परिवारवादको आक्षेप खेपिरहेका छन्। उनकी पत्नी जुली महतो धनुषाकै क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेकी छन्। यसअघिको निर्वाचनमा गरिएका वाचा, ओलीको अभिव्यक्ति र परिवारवादको आक्षेप चिर्दै अगाडि बढ्नुपर्ने चुनौती रघुवीरलाई छ। 

राजनीतिक विरासत र विगतको जित जोगाउने ध्येयमा देखिएका रघुवीर २०३३ सालमा तत्कालीन नेकपा मालेको सदस्यता लिएर पार्टी राजनीतिमा प्रवेश गरेका थिए। उनी २०३७ सालमा अनेरास्ववियुको प्रथम पूर्वाञ्चल अध्यक्ष भएका थिए। २०५४ सालमा एमालेको केन्द्रीय कमिटी सदस्य भएका रघुवीर २०५६ मा एमाले विभाजन हुँदा मालेतिर लागेका थिए। २०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन मालेबाट धनुषा ३ मा एमालेका गंगाराम यादवसँग उनी पराजित भएका थिए। 

उनी २०६४ सालको प्रथम संविधान सभा चुनावमा धनुषा ४ बाट उम्मेदवार हुँदा पनि तत्कालीन मधेसी जनअधिकार फोरमका सञ्जय साह (टकला) सँग हारेका थिए। तत्कालीन धनुषा-५ बाट चुनाव जितेका कांग्रेसका डा रामवरण यादव राष्ट्रपति बनेपछि भएको उपनिर्वाचनमा महासेठ विजयी भएका थिए।

चुनाव जितेपछि झलनाथ खनाल नेतृत्वको सरकारमा उनी सिँचाइमन्त्री भए। २०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा चन्द्रमोहन यादवसँग पराजित महासेठले २०७४ को निर्वाचनमा धनुषा-४ मा कांग्रेसका महेन्द्र यादवलाई नै हराएका थिए।

एमालेको नवौँ महाधिवेशनमा सचिव पदमा विजयी हुन नसके पनि रघुवीर पार्टीको स्थायी कमिटी सदस्य बने। अनि १०औँ महाधिवेशनबाट सचिवमा निर्वाचित उनी एमाले मधेस प्रदेशको इन्चार्ज पनि भए।

२०७४ सालपछि ओली नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका उनी २०७९ को निर्वाचनमा धनुषा-४ बाट निर्वाचित भएका थिए। तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उनी दोस्रो वर‍ीयतासहित उपप्रधानमन्त्री बनेका थिए।

एमालेको ११औँ महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित रघुवीरले एमाले मधेसको नेतृत्व सम्हालेका छन्।

यता कांग्रेसका महेन्द्र यादव आम चुनावी प्रतिस्पर्धामा असफल खेलाडी मानिन्छन्। धनुषा ४ मा जातीय बाहुल्य, मजबुत संगठन, पार्टीमा बढ्दो व्यक्तित्वलाई महेन्द्रले अहिलेसम्म चुनावी नतिजामा बदल्न सकेका छैनन्।

लगातार हार र कांग्रेसको केन्द्रमा देखिएको कलह जिल्लामा व्यवस्थापन गर्न उनलाई मुस्किल परिरहेको छ। माघ १६ गते पार्टी सभापति गगन थापालाई आफ्नो निर्वाचन क्षेत्रमा उभ्याएर उनले अन्तरद्वन्द्व मिलेको सन्देश दिने प्रयास गरे।

सभापति थापाले धनुषा ४ मै आएर आफ्ना लागि भोट मागेपछि महेन्द्र चुनाव जित्न सहज हुनेमा विश्वस्त देखिएका छन्। ४७ वर्षको राजनीतिक जीवनमा जनताबाट निर्वाचित हुन नसकेका उनी यसपटक चुनाव जित्नेमा आशावादी सुनिन्छन्।

२०३५ सालमा कांग्रेसबाट राजनीति थालेका महेन्द्रले १ वर्ष बन्दी र ३ महिना भूमिगत जीवन बिताएका थिए। कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको उपाध्यक्षसम्म भएका उनी नेपाल तरुण दलबाट कांग्रेसमा स्थापित भएका हुन्। 

नेपाल तरुण दलको केन्द्रीय सदस्य, महासचिव, उपाध्यक्ष र अध्यक्ष भएका यादव पार्टीको १२औँ र १३औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। २०६४ र २०७० सालमा भएका संविधान सभा निर्वाचनमा समानुपातिक सांसद भएका उनी खानेपानीमन्त्री समेत भएका थिए।

पार्टीमा नियमित महाधिवेशनका कडा पक्षधर महेन्द्र विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि चुनावी टिकट नपाउने डरमा थिए। तर सभापति थापाले धनुषा-४ को टिकट थमाएपछि उनी ‘यूटर्न’ भए। पार्टीमा विशेष महाधिवेशन पक्षधरको मन जित्न महेन्द्र यतिबेला सभापति थापाको मुक्तकण्ठले प्रशंसा गरिरहेका छन्।

रास्वपामा उम्मेदवार छनोट विवाद सतहमा देखिए पनि राजकिशोर महतो माहोल सिर्जना गर्न लागिपरेका छन्।

जनकपुरका सिटीसफारीहरूमा सम्भावित प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह र पार्टी सभापति रवि लामिछानेका तस्बिरसहित आफ्नो प्रचार गरिरहेका छन्।

यद्यपि गत स्थानीय निर्वाचनमा बटेश्वर गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएर अन्तिममा कांग्रेस उम्मेदवार रामआशिष महतोलाई समर्थन गरेका राजकिशोर आज पनि आलोचित छन्।

जसपाका उम्मेदवार कृष्णचन्द्र साहको राजनीतिक पृष्ठभमि खासै छैन। २०७९ सालको निर्वाचनमा नेपाल लोकतान्त्रिक पार्टीबाट चुनाव लडेका साह २०४ मत ल्याएर सातौँ स्थानमा सीमित भएका थिए।

जसपाले २०७४ मा १९ हजार ६६२ र २०७९ मा ५ हजार २१२ मत ल्याएको थियो। जसपाको घट्दो मत र आफ्नो व्यक्तिगत प्रभाव नहुनुले साहलाई चुनौती थपिएको छ।

रघुवीर र महेन्द्रको भिडन्तमा नेपाली कम्युनिस्ट पार्टीबाट सञ्जयकुमार महतोको प्रवेशले चुनावी रौनक थपेको छ।

नयाँ, पुराना दलका र स्वतन्त्र उम्मेदवारहरूले घरदैलो, सभा-सम्मेलन र रणनीतिक भेटघाटले मधेस प्रदेशको राजधानी जनकपुरधाम गर्माएको छ। जनकपुरका चिया पसल र सार्वजनिक स्थल अहिले चुनावी बहसले तातिने गरेका छन्। चियाको चुस्कीसँगै हुने चुनावी बहसको केन्द्रमा रास्वपाको चुनाव चिह्न घण्टी र प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह हुने गरेका छन्।

विगतमा कांग्रेस-एमालेकै टक्कर
अहिले धनुषा ४ मा एक लाख २७ हजार सात सय ७८ मतदाता छन्। धनुषा ४ मा बटेश्वर गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिका, मिथिला नगरपालिकाको ४ नम्बर  बाहेक सबै वडा, क्षिरेश्वरनाथ नगरपालिकाका ८ र ९ बाहेक सबै वडा, मिथिला बिहारी नगरपालिकाका १,३,४ र ५ बाहेक बाँकी सबै वडा तथा जनकपुरधाम उपमहानगरपालिकाका ९, १३, १४, १९, २१ र २२ वडा पर्छन्।

२०७९ मा मिथिला नगरपालिका प्रमुखमा कांग्रेसका महेन्द्र महतो निर्वाचित भएका छन् भने एमालेका राजाराम महतो निकटतम प्रतिद्वन्द्वी थिए। उक्त पालिकाका १, ४, ६ र ७ नम्बर वडामा कांग्रेस, ३, ८, ९, १० र ११ मा एमालेले वडाध्यक्ष पद जितेको छ भने २ र ५ मा नेकपा विजयी भएको छ।

यस्तै बटेश्वर गाउँपालिकामा कांग्रेसका रामआशिष महतो ४ हजार १८ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुँदा एमालेका श्यमसुन्दर महतो उपविजेता भएका थिए। यस पालिकाका चार वटा वडा कांग्रेसले जित्दा एउटा नेकपाले जितेको छ।

क्षिरेश्वरनाथ नगरपालिकामा एमालेका सुखदेव यादव निर्वाचित हुँदा कांग्रेसका योगेन्द्र पजियार पराजित भए। उक्त पालिकाका आठ वटा वडामा कांग्रेस निर्वाचित हुँदा २ वटामा एमालेले वडाध्यक्ष पद जितेको छ। 

मिथिला बिहारी नगरपालिकामा कांग्रेसका राजेन्द्रप्रसाद यादवले मेयरमा बाजी मार्दा एमालेका अनिलकुमार यादव दोस्रो भए। धनुषा ४ मा पर्ने उक्त पालिकाका वडा १० मा कांग्रेस, ६ र ८ मा जसपा, २ र ७ मा नेकपा र ९ नम्बर वडामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए। जनकपुरधाम उपमहानगरपालिकाका ९, १३ र २१ मा कांग्रेसबाट वडाध्यक्ष निर्वाचित छन् भने १४ र २२ मा जसपा र १९ मा एमालेका उम्मेदवार विजयी भएका थिए। 

लक्ष्मीनियाँ गाउँपालिकामा कांग्रेसका भोगेन्द्र मिश्र अध्यक्ष छन् भने जसपाका शत्रुघन यादव दोस्रो भएका थिए। उक्त पालिकाका १, २, ५, ६ र ७ नम्बर वडा एमाले, ३ मा जसपा र ४ नम्बर कांग्रेसले जितेको छ। गत निर्वाचनमा समानुपातिक मतमा पनि एमाले र कांग्रेस बराबरीजस्तै देखिन्छन्। 

एमालेले २५ हजार ९९१, कांग्रेसले २५ हजार २८, जसपाले ६ हजार ७ सय ६७, एकीकृत समाजवादीले ५ हजार २८४, जनमतले ४ हजार १०, रास्वपाले २ हजार ८ सय २६ र तत्कालीन माओवादी केन्द्रले २ हजार २२६ समानुपातिक मत पाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad