अहिले देशैभरिका प्रदेश राजधानीहरूमा राष्ट्रियसभा निर्वाचनको मतदान चलिरहेको छ।
मधेस प्रदेशको राजधानी जनकपुरमा आइतबार दिउँसो २ बजेसम्म ९० प्रतिशतभन्दा बढी मतदान भएको छ।
राष्ट्रियसभा निर्वाचन अधिकृत सुभाष पुरीले प्रदेशसभा सदस्यतर्फ अहिलेसम्म ९६ जनाले मतदान गरेका जानकारी दिए। स्थानीय तहतर्फ भने २४० जनाले मतदान गरेका छन्। मधेस प्रदेश सभामा हाल एक सयजना सांसद छन्। १०७ जना मध्ये ३ जना कारबाहीमा परेका छन् भने ४ जना प्रतिनिधिसभाको उम्मेद्बार बनेपछि राजीनामा दिएका छन्।

प्रदेशसभातर्फ एमालेका दिपेन्द्र ठाकुर, जसपा नेपालका सरोज सिंह कुशवाहा र लोसपाका अभिराम शर्मा निलम्बनमा छन्।
एमालेबाट रामचन्द्र मण्डल, नेकपाबाट भरत साह, तत्कालीन माओवादी केन्द्र (हाल रास्वपा) बाट रहबर अन्सारी र जनमत पार्टीका सतिश सिंहले राजीनामा दिएका छन्।
राष्ट्रिय सभा निर्वाचनमा जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी भएका छैनन्।
यस्तै, स्थानीय तहतर्फ २६७ मतदाता छन्। स्थानीय तहका २७२ जना मतदातामध्ये ५ जना कारवाहीमा परेका छन्।
स्थानीय तहतर्फ माओवादी केन्द्रबाट बागमति नगरपालिकाका मेयर र उपमेयर, कांग्रेसबाट धनौजी गाउँपालिकाका उपमेयर, जसपा नेपालबाट राजविराज नगरपालिका मेयर, एमालेबाट कल्याणपुर नगरपालिका मेयर निलम्बनमा छन्।
मधेस प्रदेशमा दलित, अल्पसङ्ख्यक÷अपाङ्ग, महिला र अन्य सिटमा आज निर्वाचन भएको हो।
निर्वाचनमा कांग्रेस, एमाले र जसपा नेपालबीच गठबन्धन बनेको छ भने नेकपाले एक्लै प्रतिस्पर्धा गरेको छ।
Shares

प्रतिक्रिया