राजनीति


मधेसमा शान्ति, सद्भाव र एकता कायम राख्न मुख्यमन्त्रीको अपिल

मधेसमा शान्ति, सद्भाव र एकता कायम राख्न मुख्यमन्त्रीको अपिल

फाइल तस्बिर


नेपालखबर
पुस २१, २०८२ सोमबार ११:४७, काठमाडौँ

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शान्ति, सद्भाव र एकताको बाटो रोज्न सबैलाई अपिल गरेका छन्।

सामाजिक सञ्जालमार्फत् मुख्यमन्त्री यादवले मधेस भूमि सदियौँदेखि हिन्दु–मुस्लिमसहित सबै समुदायको साझा घर रहेको उल्लेख गर्दै शान्ति, सद्भाव र एकता कायम राख्न अपिल गरेका हुन्। 

धनुषामा टिकटक भिडियोबाट सुरु भएको दुई समुदाय बीचको विवादले उग्र रुप लिन थालेपछि मुख्यमन्त्री यादवले सामाजिक सञ्जालमार्फत् शान्ति, सदभाव र एकताको लागि अपिल गरेका हुन्।

‘मधेसी भूमि सदियौँदेखि हिन्दु–मुस्लिम–सबै समुदायको साझा घर हो। विविधता मधेसको सामर्थ्य र शक्ति हो। मधेसको शक्ति एकतामा छ, विभाजनमा होइन,’ मुख्यमन्त्री यादवले फेसबुकमा लेखेका छन्, ‘हाल केही स्थानमा देखिएका तनाव, अफवाह र उत्तेजनाले हामी सबैलाई मर्माहत बनाएको छ। हिंसाले कहिलेपनि समाधान दिँदैन। हिंसाको बाटोले व्यक्ति, समाज र राज्य सबैलाई आहत पुर्‍याउँछ।’

उनले धर्मका नाममा भइरहेको घृणा, हिंसा र विभाजनले हामी सबैलाई कमजोर बनाउँने भन्दै हिंसा सभ्य संस्कारमा स्विकार्य नभएको बताएका छन्। 

‘प्रदेश सरकार सबै नागरिकको सुरक्षा, सम्मान र समान अधिकारप्रति पूर्ण रूपमा प्रतिबद्ध छ र सधैं रहनेछ,’ मुख्यमन्त्री यादवले फेसबुकमा लेखेका छन्, ‘स्थिति नियन्त्रणमा लिनका लागि शान्ति सुरक्षाको स्थिति बलियो बनाइने र कुनै पनि किसिमको अफवाह र घृणात्मक गतिविधिमा संलग्न जो कोहीमाथि कानुनअनुसार कडा कारबाही हुनेमा विश्वस्त रहन अनुरोध गर्दछु।’

उनले सबै धर्मगुरु, राजनीतिक दल, युवा र सचेत नागरिकलाई संयम, संवाद र सहअस्तित्वको बाटो रोज्न पनि आग्रह गरेका छन्। 

‘समस्या समाधान सदैव  संवादबाट हुन्छ, द्वन्द्वबाट होइन,’ मुख्यमन्त्री यादवले भनेका छन्, ‘मधेस शान्ति, सद्भाव र मानवीय मूल्यको प्रतीक रहँदै आएको छ। र रहिरहनेमा प्रतिबद्धता व्यक्त गर्दछु र यो दौरान भईरहेको क्षति र विध्वंसात्मक गतिविधिप्रति खेद व्यक्त गर्दछु।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad