मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका पाँचदल मन्त्रीमण्डल गठनको गृहकार्यमा जुटेका छन्।
कांग्रेस र एमालेबाहेकका पाँच दलले लोसपा संसदीय दलका नेता जितेन्द्र सोनलको नेतृत्वमा सरकार गठन गर्ने सहमति गरेर बुधबार बिहानै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष दावी प्रस्तुत गरिसकेका छन्।
नयाँ मुख्यमन्त्री नियुक्तिको लागि दाबी पेस गर्न भण्डारीले आज दिउँसो ४ बजेसम्मको सयम दिएकी छन्। कांग्रेस र एमालेले यसअघि नै कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने गरि दाबी पेस गरेका थिए।
लोसपा, जसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमत पार्टीबीच मधेसमा सत्ता सयहकार्य गर्ने सहमती जुटेको हो। माओवादी केन्द्रका सांसद जवाहरलाल कुशवाहाले अहिले आफूहरू अहिले मन्त्रीपरिषद् गठनको विषयमा छलफल गरिरहेको जानकारी दिए।
‘सरकारलाई समर्थन जनाएका पाँचै दलबाट मन्त्री बन्ने तयारी छ,’ उनले नेपालखबरसँग भने, ‘हामीले जतिसक्दो छिटो मुख्यन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई भनेका छौँ।’
मधेस प्रदेस सभामा जसपाका १९, जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९–९, नेकपा एकीकृत समाजवादीको ७ सिट छ।
जनमतबाट मुख्यमन्त्री बनेका सतिशकुमार सिंहले मंगलबार पदबाट राजीनामा दिएपछि मधेसमा नयाँ सरकार निर्माण अघि बढेको हो।
मधेसमा प्रदेश सभामा एमालेको २५ र कांग्रेसको २२ सिट मात्रै छ। नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादी पार्टीको १–१ सिट छ।
Shares

प्रतिक्रिया