राजनीति


सर्लाहीमा माओवादीद्वारा मसाल जुलुस प्रदर्शन

बागमतीका मेयर भरत थापालाई सरकारले वन मुद्दामा फसाउन खोजेको भन्दै विरोध
सर्लाहीमा माओवादीद्वारा मसाल जुलुस प्रदर्शन

नेपालखबर
माघ १४, २०८१ सोमबार २०:३४, सर्लाही

सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापालाई सरकारले झुटा मुद्दा लगाएर फसाउन खोजेको आरोप लगाउँदै चरणबद्ध सडक संघर्षमा उत्रिएको माओवादी केन्द्रले आज साँझ सर्लाहीका विभिन्न स्थानमा  मसाल जुलुस निकालेको छ। 

बागमती, हरिवन, हरिपुरसहितका बजार क्षेत्रमा सोमबार साँझ माओवादीले  मसाल जुलुस प्रदर्शन गरेको हो। सयौँको संख्यामा  मसाल जुलुसमा सहभागीहरुले सरकार विरोधी नारा लगाएका थिए। 

बागमतीमा मेयर थापा, उपमेयर लीला मोक्तानसहितका जनप्रतिनिधि र बागमती नगरपालिकाका कर्मचारीलाई सरकारले झुटा वन मुद्दामा फसाउन खोजेको आरोप माओवादीले लगाएको छ। 

बागमती माछापोखरी (भरत ताल) निर्माण गर्दा भ्रष्टाचार भएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि हाल मेयर थापा र उपमेयर मोक्तान निलम्बित अवस्थामा छन्।  

बागमती नगर क्षेत्रको खाली पर्ती जग्गामा सुकुम्बासी बस्ती बसाएको आरोपमा जिल्ला वन कार्यालयले थापा र मोक्तानविरुद्ध वन मुद्दासमेत दायर गरेपछि माओवादी केन्द्र आन्दोलनमा उत्रिएको हो। 

सरकारले राजनीतिक प्रतिशोधको आधारमा मेयर थापा र उपमेयर मोक्तानलाई झुटा वन मुद्दा लगाएर फसाउन खोजेको आरोप माओवादीले लगाएको छ।

आइतबार सर्लाहीमा मोटरसाइकल र्‍यालीसहित जिल्ला वन कार्यालय घेराउ गरेको माओवादीले भोलि मंगलबार राजमार्गमा चक्काजाम र जनसभा गर्ने तयारी गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad