ad ad

राजनीति


एकीकृत समाजवादीका केन्द्रीय सदस्य एमालेको प्रदेश कमिटीमा घटुवा

एकीकृत समाजवादीका केन्द्रीय सदस्य एमालेको प्रदेश कमिटीमा घटुवा

फाइल तस्बिर


नेपालखबर
भदौ १२, २०८० मंगलबार १२:४२, सर्लाही

नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य छाडेर एमालेमा फर्किएका सर्लाहीका एकजना पुराना नेताको पद घटुवा भएको छ।  

एक महिनाअघि एकीकृत समाजवादीको केन्द्रीय सदस्य छाडेर एमाले प्रवेश गरेका हरिवन निवासी पुराना नेता डिल्ली उप्रेतीलाई एमालेले मधेश प्रदेश कमिटीको सचिवालय सदस्य मात्रै बनाएको हो।

एमाले प्रदेश कमिटीको यहि भदौ १० गते बसेको बैठकले उप्रेतीलाई प्रदेश कमिटीको सचिवालय सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ।

पार्टी बैठकको निर्णय अनुसार मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादवले उप्रेतीलाई प्रदेश कमिटीमा मनोनित गरिएको जानकारी गराएका छन्।

एमालेमा फर्किएपछि पनि केन्द्रीय सदस्य बन्ने आश गरेका उप्रेती भने यो निर्णयबाट सन्तुष्ट छैनन्। 

‘म एकीकृत समाजवादीमा केन्द्रीय सदस्य थिएँ। मैले एमालेमा फर्किंदा पनि त्यही दाबी गर्दै आएको थिएँ,’ उप्रेतीले नेपालखबरसँग भने, ‘तर, उहाँहरुले मलाई प्रदेश कमिटीको सचिवालय सदस्य मात्रै बनाउनु भएछ। यसमा मेरो चित्त बुझेको छैन।’

निर्णयप्रति चित्त नबुझे पनि तत्कालको लागि आफूले एमाले प्रदेश कमिटीमै बसेर काम गर्ने उनले बताए। 

‘मैले पार्टीको सम्बन्धित निकायमा आफ्नो असन्तुष्टि व्यक्त गरिसकेको छु’ उप्रेतीले भने, ‘उहाँहरुले अहिले प्रदेशमै बसेर काम गर्नुस्, पछि केन्द्रीय सदस्यको लागि वातावण मिलाउँला भन्नु भएको छ।’

गएको साउन १५ गते काठमाडौंमा एमाले अध्यक्ष केपी ओलीलाई भेटेपछि उप्रेती एमालेमै फर्किने निष्कर्षमा पुगेका थिए। 

त्यसको पाँच दिनपछि सर्लाहीमा आयोजित एक कार्यक्रममा एमालेको मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले उप्रेतीलाई औपचारिक रुपमा पार्टीमा भित्र्याएका थिए। 

तत्कालीन हरिवन गाविसका पूर्वअध्यक्षसमेत रहेका उप्रेतीले एक कार्यकाल एमालेको सर्लाही जिल्ला अध्यक्षको जिम्मेवारी पनि निर्वाह गरिसकेका छन्। 

०७४ को स्थानीय चुनावमा हरिवन नगरपालिकाको मेयरको टिकट नपाएपछि उनी ओलीसँग रुष्ट बनेका थिए। सोही वर्ष भएको प्रदेशसभा निर्वाचनमा भने एमालेले उप्रेतीलाई नै उम्मेदवार बनाएको थियो।

माओवादीसहितको वाम गठबन्धनबाट सर्लाही ३ (क) बाट प्रदेशसभा सदस्यमा विजयी भएका उप्रेतीले एमाले विभाजन हुँदा माधव नेपालाई साथ दिएका थिए।

४ मंसिर ०७९ मा एकीकृत समाजवादीबाट पुनः प्रदेश सांसदको टिकट पाएका उप्रेतीले पछिल्लो चुनाव भने जित्न सकेनन्। 

सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवारको रुपमा खडा गरिएका उप्रेतीलाई चुनावमा माओवादी केन्द्रले साथ नदिँदा पराजित भएका थिए। 

माओवादी केन्द्रबाट बागी उम्मेदवार बनेका जवाहरलाल कुशवाहासँग चुनवा हारेपछि उनी एमालेसँग नजिकिन थालेका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .