राजनीति


मिटरब्याज सामन्तवादको भद्दा अवशेष हो, अन्त्य गर्छौँ: गृहमन्त्री श्रेष्ठ

मिटरब्याज सामन्तवादको भद्दा अवशेष हो, अन्त्य गर्छौँ: गृहमन्त्री श्रेष्ठ

नेपालखबर
बैशाख १७, २०८० आइतबार १०:३४, काठमाडौँ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज समस्याको थप अनुसन्धान गरी कारबाही अघि बढाइने बताएका छन्। 

मिटरब्याज सामन्तवादको भद्दा अवशेषको रूपमा रहेको बताउँदै उनले पीडितको पक्षमा सधैँ सरकार उभिने आश्वासन दिए।

आइतबार जनकपुरधाममा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना गर्दै उनले मिटरब्याजीको हकमा सरकार सदैव कठोर भएर प्रस्तुत हुने बताए। मधेशमा मिटरब्याजीको जालो फैलिएको दाबी गर्दै मन्त्री श्रेष्ठले राजनीतिक पहुँचको आधारमा कुनै पनि मिटरब्याजीले उन्मुक्ति नपाउने जिकिर गरेका छन्।

मन्त्री श्रेष्ठले मिटरब्याजीको पक्षमा रहेका जोसुकैलाई पनि सरकारले कारबाही गर्ने चेतावनी दिए। उनले मिटरब्याजीलाइ संरक्षण गर्ने राजनीतिक दलका कार्यकर्ताहरुलाइ समेत कानूनी दायरामा ल्याइने चेतावनी दिए।

'हामीले ६ दशक लामो संघर्ष गरेर राजनीतिक व्यवस्था परिवर्तन गर्यौँ,' उपप्रधानमन्त्री श्रेष्ठले भने 'संघर्षबाट सामन्तवादको पर्यायको रूपमा रहेको राजतन्त्रलाई अन्त्य गरेर संघिय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्यौँ, तर अझै मिटरब्याजको समस्या रह्नु संघिय लोकतान्त्रिक गणतन्त्रकालागि भद्दा मजाक हो।'

अर्को प्रसंगमा मन्त्री श्रेष्ठले राष्ट्रिय सहमतिको आधारमा नागरिकतासम्बन्धी समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरे। यसका लागि राजनीतिक दलहरुसंग छलफल प्रकृया अगाडि बढिसकेको बताए।

मिटरब्याजसम्बन्धि जाँचबुझ आयोगले जनकपुरधाममा आजदेखि केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको छ। 

प्रारम्भिक काम जारी राखेको आयोगले आजदेखि जनकपुरधाममा कार्यालय स्थापना गरी कार्यसञ्चालन सुरू गरेको हो।

सरकारले मिटरब्याज पीडितको माग सम्बोधन गर्नका लागि गत चैत २० गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो।

कार्यालय स्थापना भएसँगै मिटरब्याजीलाई कारबाहीको दायरामा ल्याउन पीडितहरूको निवेदन आह्वान गरिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए।

निवेदन आजदेखि वैशाख ३१ गतेसम्म १५ दिनभित्र दिनुपर्ने आयोगले जनाएको छ।

मिटरब्याज पीडितहरूले आफूसँग उपलब्ध रहेका सवुद प्रमाणसहित अनलाइनबाट सिधै आयोगमा वा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सक्नेछन्। 

प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज पीडित सहायता कक्ष स्थापना गरिएको उनले बताए। सोही कक्षमा निवेदन फाराम निशुल्क उपलब्ध रहेको उनले जानकारी दिए।

निवेदन फाराम जिल्ला प्रशासन कार्यालयकै कर्मचारीले भराइ दिने प्रबन्ध गरिएको आयोगले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .