राजनीति


विष्णु पौडेलले ल्याए २० बुँदे घोषणापत्र, शिक्षा र स्वास्थ्य प्राथमिकतामा

विष्णु पौडेलले ल्याए २० बुँदे घोषणापत्र, शिक्षा र स्वास्थ्य प्राथमिकतामा

नेपालखबर
फागुन ८, २०८२ शुक्रबार १८:३८, काठमाडौँ

नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्नो क्षेत्रका लागि छुट्टै २० बुँदे चुनावी घोषणापत्र ल्याएका छन्। 

प्रतिनिधि सभाको निर्वाचनका लागि पौडेल रुपन्देही-२ बाट उम्मेदवार बनेका छन्। उनले यो क्षेत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासमा देशकै नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। 

घोषणापत्रमा झुम्सा खानेपानी, सुकुम्बासी ब्यवस्थापन र लालपुर्जा बितरण लगायतका विषय समेटिएका छन्। उनले आफ्नो क्षेत्रभन्दा बाहिरको ग्रेटर लुम्बिनी तथा रुपन्देही-३ मा पर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दोस्रो चरणमा लैजाने विषय समावेश गरेका छन्। 

यसअघि पनि रुपन्देहीमा भौतिक तथा मानवीय विकासलाई तीव्रता दिएको दावी गर्दै आगामी कार्यकालमा संविधानको रक्षा, सुशासन र जनमुखी कानुन निर्माणलाई प्राथमिकता दिने उनले वाचा गरेका छन्। 

शिक्षा र स्वास्थ्य प्राथमिकतामा

घोषणापत्रमा बुटवललाई गुणस्तरीय शिक्षा केन्द्र बनाइने उल्लेख छ। जसका लागि भौतिक पूर्वाधार निर्माण र दक्ष जनशक्ति व्यवस्थापन गरिने जनाइएको छ। 

लुम्बिनी बौद्ध विश्वविद्यालयको क्षमता विस्तार गरी अन्तर्राष्ट्रिय स्तरको शिक्षण संस्था बनाउने, त्रिभुवन विश्वविद्यालय अन्तर्गत बुटवल बहुमुखी क्याम्पसलाई प्रदेशकै नेतृत्वदायी क्याम्पस बनाउने तथा कृषि र इन्जिनियरिङ क्याम्पस स्थापना गर्ने योजना अघि सारिएको छ।

त्यस्तै बुटवल, तिलोत्तमा र सैनामैना क्षेत्रमा रहेका विद्यालय तथा क्याम्पसको भवन, छात्रावास, प्रयोगशाला र प्रविधिमैत्री शिक्षण प्रणालीका लागि स्रोत व्यवस्थापन गरिने उल्लेख छ। बजारको मागअनुसार अनुसन्धानमुखी शिक्षा र स्नातक-स्नातकोत्तर तहका विद्यार्थीलाई इन्टर्नसिपसँग जोड्ने योजना पनि घोषणापत्रमा समेटिएको छ।

यसैगरी, निर्माणाधीन लुम्बिनी प्रादेशिक अस्पताललाई आवश्यक उपकरण र जनशक्तिसहित सञ्चालनमा ल्याइने, १५ शय्याका आधारभूत अस्पताललाई सुदृढ बनाइने तथा ट्रमा सेन्टर निर्माण अघि बढाइने उनले वाचा गरेका छन्। आयुर्वेदिक र प्राकृतिक चिकित्सालाई समेत सुदृढ गर्दै वैकल्पिक उपचार सेवाको दायरा बढाउने उनको योजना छ। 

स्थानीय स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्रको क्षमता विस्तार गरी बाल, प्रसूति, ज्येष्ठ नागरिक तथा दीर्घरोगीको नियमित उपचार व्यवस्था मिलाइने तथा स्वास्थ्य बिमामार्फत सर्वसुलभ सेवा सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ। घोषणापत्रमा सूचना प्रविधि क्षेत्रमा दक्ष युवालाई लक्षित गर्दै सफ्टवेयर विकास, डेटा साइन्स र आर्टिफिसियल इन्टेलिजेन्सजस्ता क्षेत्रमा रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याइने उल्लेख छ। 

निजी क्षेत्रसँग सहकार्य गर्दै लगानी आकर्षित गर्ने, प्राविधिक शिक्षालय स्तरोन्नति गर्ने र उद्यमशीलता प्रवर्द्धन गर्ने योजना पनि समावेश गरिएको छ। पौडेलले समग्र घोषणापत्र विकास, समृद्धि, सामाजिक न्याय र समाजवाद उन्मुख लक्ष्य हासिल गर्ने आधार भएको दावी गर्दै मतदातासँग समर्थन मागेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad