नेपाली कांग्रेसका नेता विनोद चौधरीले जेनजी आन्दोलनको मर्मलाई सम्बोधन गर्न कांग्रेस आफैं परिवर्तन भएर चुनावी मैदानमा उत्रिएको बताएका छन्।
शुक्रबार नवलपरासी पश्चिमको बर्दघाटमा आयोजित कोण सभालाई सम्बोधन गर्दै चौधरीले जेनजी आन्दोलन नाराबाजी मात्रै नभई देशमै रोजगारी सिर्जना गर्ने, नेपालमै गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र समग्र देश विकासका लागि भएको उल्लेख गरे।
‘जेनजी आन्दोलन परिवर्तनका लागि थियो- देशमै गरिखाने वातावरणका लागि, नेपालमै राम्रो शिक्षा पाउने सुनिश्चितताका लागि र समृद्ध राष्ट्र निर्माणका लागि,’ चौधरीले भने, ‘यही परिवर्तनको माग सम्बोधन गर्न कांग्रेसले पहिला आफूलाई परिवर्तन गर्यो, अब देश परिवर्तन गर्ने अठोटका साथ अघि बढेको छ।’
विशेष महाधिवेशनबाट बदलिएको कांग्रेसले देश बदल्ने संकल्प गरेको उनको भनाइ थियो। ‘आफू बदलिएर नेपाली कांग्रेसले नेपाल बदल्ने संकल्प गरेको छ,’ चौधरीले भने।
त्यस्त्तै, प्रदेश सभा सदस्य विश्वप्रेम पाठकले आर्थिक विकास र समृद्धिको स्पष्ट खाका कोर्न सक्ने नेता नवलपरासीले पाएको जिकिर गरे। उनले ३० महिनाको अवधिमा चौधरीले ३० वर्षमा हुन नसकेका काम गरेको दाबी गरे।
चौधरी नवलपरासी पश्चिम-१ बाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बनेका छन्।
Shares

प्रतिक्रिया