लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय लुम्बिनी प्रदेश सरकारको मन्त्रीमा नियुक्त भएका हुन्। तेस्रो पटक प्रदेश सरकारमा मन्त्री बनेका उनी यसपटक युवा तथा खेलकुद मन्त्री बने।
उनलाई आइतबार मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गरेका हुन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पाण्डेयलाई मन्त्री नियुक्त गरेको जानकारी आजै इमेलमार्फत प्रदेश प्रमुखको कार्यालयलाई गराइसकेको छ। उनी रुपन्देही क्षेत्र नम्बर ३ (क) बाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन्।
उनी पहिलोपटक २०७८ साउन २७ गते मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा भौतिक पूर्वाधार तथा विकासमन्त्री, दोस्रोपटक २०७९ वैशाखमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको नेतृत्वमा आन्तरिक मामिला, कानुन र सहकारी मन्त्रालयको जिम्मा पाएका थिए।
तीन सांसद रहेको लोसपामा उनी संसदीय दलका नेता हुन्। ११ सदस्यीय मन्त्रिपरिषद्मा खेलकुद मन्त्रालयले मुख्यमन्त्रीले आफू मातहत नै राखेका थिए। पाण्डेयको शपथग्रहण सोमबार दिउँसो ३ बजे हुने जानकारी गराइएको छ।
यसअघि लोसपाले बजेटमाथिको छलफल जारी रहँदा असन्तुष्टि जनाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
लुम्बिनी सरकारमा मुख्यमन्त्रीसहित एमालेबाट ५ मन्त्री, कांग्रेसबाट ५ र जसपाबाट १ मन्त्री थिए।
Shares

प्रतिक्रिया