ad ad

राजनीति


लुम्बिनीमा गिरीलाई रोकेर एमाले महासचिवले मुख्यमन्त्रीमा अघि सारे आफूनिकट आचार्य

लुम्बिनीमा गिरीलाई रोकेर एमाले महासचिवले मुख्यमन्त्रीमा अघि सारे आफूनिकट आचार्य

लीला गिरी उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् भने चेतनारायण आचार्य महासचिव पोखरेल निकट नेता हुन्


नेपालखबर
साउन ७, २०८१ सोमबार १३:८, काठमाडौँ

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा एमालेले आज (सोमबार) प्रदेश प्रमुख कार्यालयमा दाबी पेस गर्दै छ। नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर महराले हिजो (आइतबार) राजीनामा बुझाएपछि नयाँ सरकार गठन हुन लागेको हो। 

केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सहमतिअनुसार, लुम्बिनीमा पहिले एमालेले सरकारको नेतृत्व गर्नेछ। 

जस अनुसार, एमाले प्रदेशसभा संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने पक्कापक्कीजस्तै थियो। 

तर, अन्तिम समयमा पार्टी केन्द्रबाट गएको निर्देशनका कारण गिरी मुख्यमन्त्री बन्न नपाउने भएका छन्। 

यहाँ संसदीय दलका उपनेतासमेत रहेका चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन केन्द्रबाट निर्देशन गएको प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले नेपालखबरलाई जानकारी दिए। 

‘पार्टीले उहाँ (चेतनारायण आचार्य) लाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको छ,’ उनले भने, ‘पार्टी केन्द्रकै निर्देशन अनुसार यस्तो निर्णय भएको हो।’

उनले के कारणले अन्तिम समयमा यस्तो निर्देशन आएको भन्ने आफूहरूलाई थाहा नभएको बताए। 

एमालेकै नेताहरूका अनुसार, लुम्बिनी प्रदेशमा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच यसअघिदेखिकै प्रतिस्पर्धाको राजनीतिक असर प्रदेश सरकार निर्माणमा देखिएको हो। 

एमाले प्रदेश अधिवेशनका बेला पनि यहाँबाट पोखरेल र पौडेलले आ–आफ्नै उम्मेदवार अघि सारेका थिए। 

गिरी उपाध्यक्ष पौडेलनिकट मानिन्छन् भने आचार्य महासचिव पोखरेलनिकट नेता हुन्।

गिरी रुपन्देही क्षेत्र नम्बर २ (क) बाट निर्वाचित भएका थिए। उनी पार्टीमा अहिले पोलिटब्यूरो सदस्य, प्रदेश कमिटी अध्यक्ष र लुम्बिनीको सहइन्चार्जको भूमिकामा छन्।

गिरी यसअघि ०७९ साल पुसमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लोसपा, जनमत लगायतका दलको समर्थनमा मुख्यमन्त्री बनिसकेका छन्। 

साथै, उनले उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री, आन्तरिक मामिला तथा कानुनमन्त्री र स्वास्थ्यमन्त्रीको पनि जिम्मेवारी निभाइसकेका छन्।

आचार्य भने पहिलोपटक मुख्यमन्त्री बन्न लागेका हुन्। आचार्य अर्घाखाँचीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ (क) बाट निर्वाचित भएका थिए। उनी नेकपा एमालेमा केन्द्रीय सदस्य छन्।

उनी यसअघि शंकर पोखरेल नेतृत्वको सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री थिए। पछि माओवादीका महरा नेतृत्वको सरकारमा पनि उनी आर्थिक मामिला तथा योजनामन्त्री थिए। 

०७९ मा बनेको गिरी नेतृत्वको सरकारमा पनि आचार्य ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्री थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .