उडान स्टुडियोको प्रस्तुती रहेको फिल्म ‘आशा’ को छायांकन सुरू भएको छ। एक महिने सेड्युल लिएर फ्लोरमा निस्किएको फिल्मको पहिलो दिनको छायांकन काठमाडौँ उपत्यकामा गरिएको छ।
केही दिन उपत्यकामा छायांकन भएपछि नमोबुद्ध र धुलिखेल आसपासमा फिल्मको बाँकी छायांकन हुने निर्मात्री शर्मिला थापाले जानकारी दिइन्। ‘हामी योजना अनुसार नै छायांकनमा निस्किएका छौँ। साउन महिनाभरमा फिल्मको छायांकन सकिने तयारी अनुरुप सुरुआत गरेका छौँ,’ उनले भनिन्, ‘हामी नेपालीपन बोकेको कथालाई प्राविधिकरुपमा अब्बल बनाएर दर्शक माँझ ल्याउने छौँ।’
छायांकनको पहिलो दिन अभिनेता शुशांक मैनाली र बालकलाकार चिराग श्रेष्ठ र काश्वी भण्डारीले सट दिएका थिए। फिल्ममा शुशांकसँगै महेश त्रिपाठी, अन्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मीलगायतका कलाकारको अभिनय छ।
फिल्मलाई राजिव गुरुङले निर्देशन गरिरहेका छन्। निर्देशकसँगै कथाकार रहेका गुरुङले फिल्मले मनोरञ्जनसँगै दिने संदेश महत्त्वपूर्ण रहेको बताए। ‘यो कथालाई पर्दामार्फत दर्शक हुँदै परिवारसम्म लैजानुपर्छ भन्ने लागेर नै फिल्ममा ल्याउँदै छौँ। एउटा मन छुने पारिवारिक कथामा फिल्म तयार हुँदै छ’, उनले भने ।
फिल्ममा सह-लेखक रामकुमार श्रेष्ठ, स्क्रिप्ट सुपरभाइजर र कास्टिङ निर्देशक सुदाम सिके, सिनेम्याटोग्राफर नरेन्द्र मैनाली, संगीतकार युग भुसाल र समीर खरेल, साउन्ड डिजाइनर किशोर आचार्य, सम्पादक लोकेश बज्राचार्य, मेकअप एन्ड हेयर सोनाली शिल्पकार रहेका छन्।
यस्तै, फिल्ममा मुख्य सहायक निर्देशक रामकुमार श्रेष्ठ, सहायक निर्देशक शान्ति तामाङ, प्रोडक्सन म्यानेजर अरुण रेग्मी, प्रोडक्सन डिजाइनर रेलिजा श्रेष्ठ, पब्लिसिटी डिजाइनर रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट) र वितरक करण श्रेष्ठ (रीच इन्टरटेनमेन्ट) रहेका छन्। यो फिल्म आगामी माघ १ गते प्रदर्शन हुनेछ।
Shares

प्रतिक्रिया