कोशी प्रदेश सभा सदस्य सिर्जना राईले राष्ट्रिय झन्डाको अनियन्त्रित दुरुपयोग भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। बिहीबार बसेको प्रदेश सभाको शून्य समयमा बोल्दै सांसद राईले प्रचलित कानुन र कार्यविधिको धज्जी उडाएर झन्डाको प्रयोग भइरहेकोमा चिन्ता व्यक्त गरेकी हुन्।
देशभरका सडक, चोक र सार्वजनिक स्थलहरूमा नियमविपरीत राष्ट्रिय झन्डाको प्रयोग भइरहेको उल्लेख गर्दै उनले भनिन्, ‘राष्ट्रिय झन्डा र राष्ट्रिय गान प्रयोग सम्बन्धी कार्यविधि २०६७ स्पष्ट हुँदाहुँदै पनि यसको कार्यान्वयन नहुनु र अनुगमनकारी निकाय मौन बस्नु गम्भीर कमजोरी हो।’ उनले झन्डाको जथाभाबी प्रयोग रोक्न प्रभावकारी अनुगमन गर्न वा वर्तमान कार्यविधि व्यावहारिक नभए परिमार्जन गरी स्पष्ट नीति ल्याउन सरकारसँग माग गरिन्।
‘एक घर एक धारा’ को विवरण माग शून्य समयमै सांसद राईले सरकारको महत्वाकांक्षी कार्यक्रम ‘एक घर एक धारा’ को वास्तविक प्रगति विवरण सार्वजनिक गर्न माग गरेकी छन्। चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेखित सो कार्यक्रम र प्रादेशिक खानेपानी प्रयोगशाला स्थापनाको अवस्थाबारे उनले प्रश्न गरेकी हुन्।
उनले जिल्लागत रूपमा धारा जडान भएका घरधुरीको सङ्ख्या र अझै सेवाबाट वञ्चित नागरिकहरूको तथ्याङ्क माग गर्दै भनिन्, ‘आर्थिक वर्ष २०७६/७७ देखि सुरु भएका खानेपानी ट्याङ्की निर्माणका आयोजनाहरू कहिलेसम्म सम्पन्न हुन्छन्? जनताको आधारभूत आवश्यकतासँग जोडिएको यो कार्यक्रमको यथार्थ विवरण तत्काल उपलब्ध गराइयोस्।’
सांसद राईले अधुरा आयोजनाहरू छिटो सम्पन्न गरी बाँकी रहेका घरधुरीमा खानेपानी सेवा सुनिश्चित गर्न समेत सरकारको ध्यानाकर्षण गराएकी छन्।
Shares

प्रतिक्रिया