नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली काठमाडौँबाट झापा फर्किए लगत्तै निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन्।
अघिल्ला निर्वाचनको तुलनामा यसपटक ओली आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित भएका हुन्। यसअघि आमसभा र केही सीमित कार्यक्रममै देखिने उनी अहिले भने मतदाताको घरघर पुग्दै प्रत्यक्ष भेटघाट गरिरहेका छन्।
त्यसैक्रममा आइतबार काठमाडौँबाट भद्रपुर विमानस्थल अवतरण गरी निर्वाचन क्षेत्रमा प्रवेश गएका हुन्। आज उनी शिक्षक भेला, धिमाल जातिको भेला तथा मुस्लिम समुदायका नागरिकसँगको भेलामा सहभागी हुँदै छन्।
त्यसपछि दमक-२ स्थित अस्थायी निवासमा भौगोलिक क्षेत्रका कार्यकर्ता र आम नागरिकसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम तय गरिएको एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए।
झापा-५ मा एमालेका चुनावी कमान्डर तथा केन्द्रीय सदस्य देवेन्द्र दाहालका अनुसार, ओली फागुन ६ गतेसम्म झापामै रहनेछन्। यो अवधिमा दमक क्षेत्रका विभिन्न गाउँ र टोलमा पुगेर घरदैलो कार्यक्रम गर्ने कार्यतालिका बनाइएको दाहालले बताए। हरेक दिन कम्तीमा ६ देखि ७ स्थानमा कार्यक्रम पुग्ने गरी रुट मिलाइएको छ।
एमाले दमकका अध्यक्ष राम पौडेलले सोमबार बिहान ११ बजे दमक-५ को यलम्बर चोक, बिहान ११ः५० बजे दमक-६ को शंखधर चोक र दिउँसो १ बजे दमक-७ को तबिन चोकमा कार्यक्रम रहेको छ। त्यसपछि, दिउँसो २ बजे दमक-१ को हल्दार चोक, दिउँसो ३ बजे दमक-३ को गजकाली मन्दिर र अपराह्न ४ बजे दमक-३ कै आमचोकमा कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
यी सबै स्थानमा ओलीले स्थानीयसँग प्रत्यक्ष संवाद गर्न सक्ने वातावरण मिलाइएको अध्यक्ष पौडेलले बताए। यसअघि गत माघ २३ गते झापा आएर ७ दिनमा करिब ८० वटा गाउँमा भेटघाट गरेका थिए।
Shares

प्रतिक्रिया