प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा मोरङको चुनावी माहोल तात्दै गएको छ। अझ मोरङ-२ बारे चर्चा सुरु भएको छ। यसको कारण हो, कोइराला विरासत।
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको क्षेत्र हो, मोरङ-२। यो क्षेत्रमा २०७० सालसम्म पूर्वप्रधानमन्त्री कोइराला र आमोदप्रसाद उपाध्याय जस्ता नेताको वर्चश्व नै थियो। त्यतिञ्जलेसम्म सधैं कांग्रेसले जित्दै आएको थियो।
दोस्रो संविधान सभाको निर्वाचनमा भने नेकपा (एमाले)का उम्मेदवार ऋषिकेश पोखरेलले कांग्रेसका आमोदप्रसाद उपाध्यायलाई पराजित गरेर पहिलो पटक जित दर्ता गराए। त्यसपछि २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसका मिनेन्द्र रिजालले पोखरेललाई पराजित गरेर कांग्रेसकै नाममा गराए।
त्यसको पाँच वर्षपछि फेरि एमालेले बदलियो। २०७९ सालको निर्वाचनबाट पोखरेलले नै कांग्रेस नेत्री सुजाता कोइरालालाई पराजित गरे।
अहिले फेरि यो क्षेत्रलाई कांग्रेसका नाममा फर्काउन उनै रिजाल उम्मेदवार बनेका छन्। उनीसँग प्रतिस्पर्धा गर्न एमालेबाट दिलीपकुमार अग्रवाल (बगडिया) चुनावी मैदानमा उत्रिएका छन्।
कस्ता छ कांग्रेस-एमाले शक्ति सन्तुलन?
यो क्षेत्र कांग्रेसका ‘हेबवेट’ नेताले चुनाव लड्दै आएको क्षेत्र हो । कहिले गिरिजाप्रसाद कोइराला त कहिले आमोदप्रसाद उपाध्यक्ष, सुजाता कोइराला र मिनेन्द्र रिजाल उम्मेदवार बने।
एमालेको तर्फबाट भने स्थानीय नेता नै उम्मेदवार बन्दै आए। कांग्रेसको दबदाब भएकाले पनि एमालेले महत्त्व दिएन। जब २०७० सालमा ऋषिकेश पोखरेल निर्वाचित भए, त्यसपछि भने एमालेको पनि प्राथमिकतामा पर्दै आएको छ।
२०७४ सालमा पराजित भएका पोखरेल २०७९ सालको निर्वाचनमा फेरि निर्वाचित भए। उनले ३३ हजार १४८ मत पाए भने प्रतिस्पर्धी सुजाता कोइरालाले ३१ हजार ९४० मत पाइन्। तेस्रोमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ठगेन्द्र न्यौपानेले चार हजार ९८७ मत पाएका थिए।
यो निर्वाचन क्षेत्रमा पर्ने कानेपोखरी, इटहरा, सिजुवा, गोविन्दपुरलगायतका क्षेत्र मालेका पुराना राजनीतिक संगठक भएका ठाउँ हुन्। जहाँ वामपन्थीकै दबदाबा रहेको एमाले नेताहरू बताउँछन्।
त्यस्तै, डायनिया, बडंगा र झुर्कियालगायतका क्षेत्र कांग्रेसका गढ हुन्। यी ठाउँको जमिन्दार र कोइराला परिवारसँग ऐतिहासिक सम्बन्ध भएका पुराना कांग्रेसका स्थानीय नेता बताउँछन्।
केही मिश्रित क्षेत्र पनि छन्। जस्तो महादेवा, बडंगा, डायनिया, झुर्किया लगायतका ठाउँमा एमाले र कांग्रेसको संगठन छ।
पछिल्लो तीन चुनावमा एक-अर्काबीच खोसाखोस भइरहेको यो क्षेत्रमा फेरि कांग्रेसका मिनेन्द्र रिजाल उम्मेदवार छन्। एमालेबाट दिलिपकुमार बगडिया प्रतिस्पर्धी बनेका छन्।
विकास निर्माण रिजालको जोड
पूर्वमन्त्री समेत रहेका कांग्रेस उम्मेदवार अहिले आफ्ना नेता, कार्यकर्ता तथा जिल्ला र स्थानीय तहका कार्यकर्तासँग छलफलमा छन् । विशेष महाधिवेशनमा सकारात्मक भुमिका खेल्न नसकेको आरोप खेपिरहेका रिजालले विकास निर्माणलाई चुनावी एजेन्डा बनाएका छन्।
त्यस्तै, संविधान कार्यान्वयनका क्रममा देखिएका जटिलतालाई हल गर्न बृहत् सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनु नै आफ्नो चुनावी एजेन्डाको रुपमा अघि सारेका छन् । ‘विशेषगरी संघीयता कार्यान्वयनका लागि आवश्यक ऐन कानुन निर्माण गर्न र विगतका वर्षहरूमा घट्दै गएको पुँजीगत खर्चलाई वृद्धि गरी विकास निर्माणलाई गति दिन सक्रिय भूमिका खेल्ने मेरो मुख्य एजेन्डा छ,’ रिजाल भन्छन्।
क्षेत्रगत विकासका सन्दर्भमा डा. रिजालले सबैभन्दा ठूलो प्राथमिकता बक्राहा खोलामा पुल निर्माण गर्ने, सीमा क्षेत्रलाई राजमार्गसँग जोड्ने सडकहरूको विस्तार गर्ने र बाढी नियन्त्रणका लागि नदी नियन्त्रणका योजनाहरूलाई तीव्रता दिने उनको योजना छ । रतुवा र बक्राहा खोलाको कटान रोक्नका लागि थप बजेट र प्राविधिक योजनाहरू कार्यान्वयनमा ल्याउने उनले आफ्ना मतदातासम्म आश्वासन बाँड्न थालिसकेका छन् ।
स्थानीय तहमा भएका कामको श्रेय संघीय र प्रादेशिक सरकारलाई पनि जाने उनको भनाइ छ। रंगेली नगरपालिकामा भएका विकासका काम पालिकाको मात्र प्रयास नभई राष्ट्रिय योजनाका हिस्सा भएको उनी बताउँछन्। केन्द्रमा पहुँच राखेर ठूला पूर्वाधारका योजनाहरू ल्याउन र नीतिगत सुधार गर्न सक्ने नेतृत्व नै क्षेत्रको वास्तविक विकासका लागि आवश्यक पर्ने रिजालको भनाइ छ।
रंगेलीको उदाहरण दिँदै बगडिया
एमालेको तर्फबाट उम्मेदवार बनेका बगडिया रंगेली नगरपालिकाका पूर्वमेयर हुन्। उनी स्थानीय तहमा गरेको काम देखाएर चुनाव प्रचार गरिरहेका छन्। रंगेलीमा गरेको विकासको मोडललाई क्षेत्रभरि विस्तार गर्ने उनी सुनाउँछन्।
रंगेलीमा दुई कार्यकालको नेतृत्व सम्हाल्दा विकासको एउटा पूर्ण खाका तयार पारिसकेकाले अबको आफ्नो लक्ष्य संघीय संसद्मार्फत समग्र निर्वाचन क्षेत्रकै मुहार फेर्नु रहेको उनको भनाइ छ। रंगेलीमा गरेको काम नै आगामी चुनाव जित्ने मुख्य आधार भएको बगडियाको दाबी छ।
रंगेलीमा सुविधासम्पन्न अस्पताल निर्माणदेखि अन्य भौतिक पूर्वाधारमा ल्याएको परिवर्तनलाई क्षेत्रका अन्य मतदाताले पनि नजिकबाट नियालेको उनी सुनाउँछन्। उनी भन्छन्, ‘रंगेली बनाउने मान्छेले हाम्रो क्षेत्र पनि बनाउँछ भन्ने विश्वास जनतामा छ, टिकट पाउनुअघि नै धेरैले मेरो पक्षमा प्रार्थना गरेको सुन्दा मलाई थप जिम्मेवारी महसूस भएको छ।’
उनको व्यापारिक पृष्ठभूमिलाई लिएर पनि चर्चा हुने गरेको छ। उनी भने व्यापार गर्नु कुनै अपराध नभएको र धेरै ठूला नेताहरू पनि कुनै न कुनै व्यवसायमा संलग्न रहेको जिकिर गर्छन्। अहिले आफू व्यावसायिक कामभन्दा बढी सामाजिक र राजनीतिक सेवामा समर्पित रहेको उनी बताउँछन्।
दुहबी-गौरादह सडक अन्तरगत पर्ने बक्राहा खोला पुल निर्माण गर्ने, सिक्टी-डायनियाँ-पथरी सडक अगाडी बढेको कामलाई सम्पन्न गर्ने, सिजुवा-उलावारी निर्माणाधिन सडकलाई सम्पन्न गर्ने उनको योजना छ। लारीकट्टा गोविन्दपुर, धाद्राहुँदै उर्लावारी जोड्ने सडकको क्रमागत योजनालाई सम्पन्न गर्दै निर्माणाधिन झुर्किया अस्पताललाई रंगेली अस्पतलको दाँजोमा पु¥याउने उनी बताउँछन्।
बक्राहा र रतुवाको तटबन्धलाई ब्यवस्थित गर्दै आदिवासी समुदायको सांस्कृतिक संगम केन्द्र सुनवर्सी र कमल पोखरीको संरक्षण प्रवद्र्धन र विकासका एजेन्डा बोकेर उनी घरदैलो गरिरहेका छन्। कृषि, सिँचाइका निम्ति प्रारम्भ भएको विद्युत विस्तार सेवालाई पूर्णता दिँदै, कानेपोखरीको विद्युत पावर हाउस तथा क्षेत्र मित्रको शैक्षिक सुधारको लागि सौठा क्याम्पस, अमदह र डायनिया माविलाई जोडेर शैक्षिक केन्द्रको रुपमा जोडेर जाने पनि उनका योजना छन् । मदरसाह शिक्षा, सांस्कृतिक स्थल कब्रस्थानको ब्यवस्थापन लगायका योजना पनि उनले अघि सारेका छन्।
कस्ता छन् अन्य उम्मेदवार?
मोरङ-२ मा रिजाल र बगडियासँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्णकुमार कार्की पनि प्रतिस्पर्धामा छन्। २०७९ सालको निर्वाचनमा रास्वाप उम्मेदवार ठगेन्द्रप्रसाद न्यौपानेले चार हजार ९८७ मत प्राप्त गरेका थिए।
अहिले उम्मेदवार रहेका कार्की आफ्ना एजेन्डा कृषि, सिँचाई, सडक र पूर्वाधार रहेको बताउँछन्। अहिले रास्वपाको माहोल सुधार हुँदै गएकाले पनि आफ्नो पक्षमा जनमत बढ्ने उनको विश्वास छ।
मोरङको रतुवामाइ नगरपालिका-९ घर भएका कार्की वैदेशिक रोजगारीबाट भर्खरै फर्किएका हुन् । जेनजी आन्दोलनको केहि दिनअघि नेपाल फर्किएको स्थानीय नेता बताउँछन्। त्यसपछि उनी भदौ २४ गते काठमाडौँमा भएको विध्वंसमा संलग्न भएको आरोप लागेको छ। उनले आगजनी गरिरहेका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै मतदाताले फरक रुपमा चित्रण गर्न थालेको रास्वपाका स्थानिय नेता बताउँछन्। संसद् भवन जलाएको आरोपमा उनले पनि भिडभाड र आक्रोषमा संलग्न भएको स्वीकार गरेका छन् ।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट चन्द्रवीर राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कन्सराज राजवंशी, जनता समाजवादी पार्टी नेपालबाट विनोदकुमार सिंह गनगाई, जनमत पार्टीबाट घनश्याम चौधरी, मंगोल नेसनल अर्गनाइजेसनबाट धनबहादुर लिम्बू उम्मेदवार छन्। यो क्षेत्रमा दल र स्वतन्त्र गरी १७ उम्मेदवार प्रतिस्पर्धा गरिरहेका छन्।
२०७९ सालको निर्वाचनको मत परिणाम हेर्दा समानुपातिकतर्फ कांग्रेसले २९ हजार ४७५, एमालेले २८ हजार ७०४ र रास्वपाले ६ हजार १३३ मत पाएका थिए। त्यस्तै, नेकपा (माओवादी केन्द्र)ले पाँच हजार ४४९ र राप्रपाले चार हजार ६३४ मत प्राप्त गरेका थिए।
Shares

प्रतिक्रिया