नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आगामी फागुन २१ गतेका लागि तय निर्वाचन कुनै पनि बहानामा रोकिन नहुने बताएका छन्।
निर्वाचन प्रक्रिया अघि बढिसकेकाले तोकिएकै समयमा चुनाव गर्नुको विकल्प नरहेको उनले बताए।
शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले दलहरूले समानुपातिकतर्फको सूची बुझाइसकेको र माघ ६ गते प्रत्यक्षतर्फको मनोनयन हुन लागेकाले अब पछाडि हट्ने ठाउँ नभएको बताए।
फागुन २१ गते तराईमा होली र हिमाली क्षेत्रमा हिमपातको सम्भावनाजस्ता व्यावहारिक कठिनाइ औँल्याउँदै उनले निर्वाचनलाई चरणबद्ध रूपमा गर्न सकिने सुझाव दिए।
‘काठमाडौँ उपत्यकालगायतका सहज ठाउँमा पहिलो चरणमा र मौसम प्रतिकूल हुने हिमाली तथा तराईका जिल्लाहरूमा दोस्रो वा तेस्रो चरणमा गरेर भए पनि फागुनमै चुनाव हुनुपर्छ,’ उनले भने।
देशलाई लामो समयसम्म संक्रमणकालमा राख्दा संविधान र लोकतन्त्रमाथि संकट आउने भन्दै भट्टराईले चिन्ता व्यक्त गरे।
उनले भने ‘संक्रमणकाल लामो हुँदा लोकतन्त्रविरुद्ध षडयन्त्र हुन सक्छ, त्यसैले संसदीय प्रक्रियालाई जीवित राख्न निर्वाचन नै एकमात्र निकास हो।’
मन्त्रीहरूले राजीनामा दिनुपर्ने माग
यसैबीच एमाले उपमहासचिव भट्टराईले चुनावमा उम्मेदवार बन्ने वर्तमान मन्त्रीहरूले तत्काल पद छाड्नुपर्ने बताए।
प्रधानमन्त्री सुशीला कार्कीले क्याबिनेटमा यसअघि नै यसबारे कुरा उठाएको स्मरण गराउँदै उनले भने, ‘जो मन्त्रीहरू निर्वाचनमा उठ्दै हुनुहुन्छ, उहाँहरूले मनोनयन दर्ता गर्नुअघि नै राजीनामा दिनुपर्छ। मन्त्री पदमा बसेर चुनाव लड्दा निर्वाचनको निष्पक्षता सुनिश्चित हुन सक्दैन।’
एमालेभित्रको सन्दर्भ : अध्यक्षले सबैलाई समेट्नुपर्छ
पार्टीभित्रको आन्तरिक शक्ति संघर्षबारे गरिएको प्रश्नमा उपमहासचिव भट्टराईले महाधिवेशनले केपी शर्मा ओलीको नेतृत्वमा नयाँ म्यान्डेट दिएकाले पार्टी सोहीअनुसार एकताबद्ध भएर अघि बढ्ने बताए।
यद्यपि महाधिवेशनमा आफूहरूले उठाएका एजेन्डा अझै जीवितै रहेको र त्यसबारे पार्टीभित्र छलफल भइरहेको दाबी उनले गरे।
उनले भने,‘अध्यक्षले सबै पक्षलाई समेटेर पार्टीलाई एकताबद्ध बनाउनुपर्छ। हिजोका दिनमा प्रतिस्पर्धीलाई कारबाही गर्ने इतिहास भए पनि अब त्यस्तो सम्भावना छैन। हामी आगामी निर्वाचनमा पार्टीलाई मजबुत बनाउन सामूहिक रूपमा लाग्नेछौँ।’
Shares

प्रतिक्रिया