कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार भएको छलफलमा आफूले पाँचवटा मुख्य विषय उठाएको जानकारी दिएका छन्।
प्रधानमन्त्री कार्कीले आइतबार सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग बालुवाटारमा संयुक्त भेटवार्ता गरेकी थिइन्।
आफूले प्रधानमन्त्रीसँग निर्वाचनको वातावरण बनाउन आग्रह गरेको उनको भनाई छ।
गृह मन्त्रालयको असोज ७ गते गरेको परिपत्रले पनि निर्वाचनको वातावरण बन्न नदिएको, प्रहरीका हतियार फिर्ता नभएको, भागेका कैदीबन्दी पक्राउ नपरेको उल्लेख गर्दै कार्कीले राजनीतिक संवाद बलियो नहुँदासम्म निर्वाचन सम्भव नहुने बताएका थिए।
उनले अहिलेको सरकारले विपद्बाट प्रभावित कोसी प्रदेशको पुनर्निर्माणमा समन्वय र सहकार्यसहित ध्यान नदिएको भन्दै पुनर्निर्माणमा संघीय सरकारको ध्यानाकर्षण गराएका थिए।
संघीय सरकारको अर्थ मन्त्रालयले प्रदेशलाई ‘युनिट’का रूपमा हेर्ने प्रयास गरेको भन्दै उनले पछिल्लो पटक जारी गरेको परिपत्र कानुन तथा संविधान विपरीत भएको बताए थिए।
सहकार्य र समन्वयलाई जोड दिँदै उनले प्रदेश र स्थानीय तहको कानुनी तथा संवैधानिक व्यवस्थालाई बुझेर मात्र अघि बढ्न संघीय सरकारलाई आग्रह गरेका छन्।
नेपाल विद्युत प्राधिकरण र उद्योगी व्यवसायीबीच देखिएको समस्या वार्ता र संवादमार्फत समाधान गर्न पनि आफूले आग्रह गरेको उनको भनाई छ।
‘मैले उठाएका यी सबै विषयमा प्रधानमन्त्री सुशीला कार्कीबाट सकारात्मक प्रतिक्रिया आएको छ,’ मुख्यमन्त्री कार्कीले नेपालखबरसँग भने, ‘कानुन र संविधानबाहिर रहेर संघीय सरकारबाट गएका परिपत्रहरू सच्याउने प्रतिबद्धता प्रधानमन्त्री र अर्थमन्त्रीले व्यक्त गर्नुभएको छ। गृह मन्त्रालयलाई पूर्वाग्रह भन्दा माथि रहेर प्रभावकारी ढंगले परिचालन गर्ने विषयमा पनि प्रतिवद्धता आएको छ।’
प्रधानमन्त्रीले मुख्यमन्त्रीहरूसँग प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको जानकारी पनि उनले दिए।
मुख्यमन्त्री कार्कीले प्रधानमन्त्रीसँगको छलफल सकारात्मक र परिणाममुखी भएको टिप्पणी गरेका छन्।
Shares

प्रतिक्रिया