मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष छन् नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेर निर्वाचित भएका नमोनारायण माझी। अहिले पालिकामा अध्यक्ष एकातिर र उपाध्यक्षसहित अर्कातिर हुँदा विवाद चर्किँदो छ।
मंगलबार पनि त्यस्तै भयो। गाउँपालिकाका अध्यक्ष माझीले उपाध्यक्ष र वडाध्यक्षका सवारीसाधनको चाबी खोसे। उनले उपाध्यक्ष गुणावती थारुको स्कोरपियो र वडा अध्यक्षको बाइकको चाबी खोसेका हुन्।
वडा नम्बर ४ का वडा अध्यक्ष बद्री नारायण चौधरी, वडा नम्बर ५ का भेषनारायण चौधरी, वडा नम्बर ६ का वीरनारयण चौधरी, वडा नम्बर २ का वडा अध्यक्ष यादव खतिवडाको गाडीको चाबी खोसिएको हो।
खतिवडाको गाडी झोराहाटको बीच बाटोबाट माओवादी कार्यकर्ताले खोसेको उपाध्यक्ष थारुले बताइन्।
वडा नम्बर १ का नेपाली कांग्रेसका सुरेशकुमार चौधरीको गाडी लिन घरमै पुगेका कार्यकर्तालाई गाडी दिन नसकिने भन्दै रोकेका थिए।
कार्यपालिका बैठकमा राखिएका ६ मध्ये दुई प्रस्तावमा असहमति जनाएका कारण सवारीको चाबी खोसिएको उपाध्यक्ष गुणावती थारुले बताइन्।
आजको कार्यपालिका बैठकमा बहुपोषण कार्यक्रम र लोहन्द्रा खोला ठेक्काको विषयमा उनीहरूले असहमति जनाएका थिए। त्यसैको रिसमा असहमति जनाउने उपाध्यक्ष र वडा अध्यक्षको चाबी खोसिएको थारुको दाबी छ।
उनले भनिन्, ‘अध्यक्षले माओवादी कार्यकर्ता खटाएर चाबी खोस्न लगाउनुभयो।’
उनले जनप्रतिनिधिको चढिरहेको गाडीका चाबी बाटो बाटोबाट खोसेर मान मर्दन गरेको बताएकी छन्।
माघ २९ गतेको कार्यपालिका बैठकका निर्णय पनि कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले रोक लगाएको थियो।
कार्यपालिका सदस्यलाई तीन दिनअगाडि नै बैठकको सूचना नगरी अल्पमतका आधारमा निर्णय गरेको भन्दै उपाध्यक्ष चौधरीले अदालतमा रिट दायर गरेकी थिइन्।
ग्रामथान कार्यपालिकामा कांग्रेस–एमालेबाट निर्वाचित जनप्रतिनिधिको बहुमत छ। उनीहरूले लोहन्द्रा ासहितका खोलाबाट अवैध उत्खनन गराउने काममा गाउँपालिका अध्यक्षको मिलेमतो रहेको भन्दै त्यसको विरोध गर्दै आएका छन्।
Shares

प्रतिक्रिया