ad ad

राजनीति


एमाले कोशीको नेतृत्व लिन चार नेता आकांक्षी, दौडमा छन् उपाध्यक्ष चेम्जोङ पनि

एमाले कोशीको नेतृत्व लिन चार नेता आकांक्षी, दौडमा छन् उपाध्यक्ष चेम्जोङ पनि

फाइल तस्बिर


नेपालखबर
असोज ९, २०८० मंगलबार १६:२८, काठमाडौँ

नेकपा एमाले कोशी प्रदेश अधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदका लागि चारजना आकांक्षी देखिएका छन्। 

असोज १२ र १३ गतेका लागि तय भएको अधिवेशनमा अध्यक्षमा एमालेका पोलिटव्युरो सदस्य विनोद ढकाल, केन्द्रीय सदस्य घनश्याम खतिवडा, वर्तमान अध्यक्ष तुलसीप्रसाद न्यौपाने र उपाध्यक्ष टीकाराम चेम्जोङले दौडधूप गरिरहेका छन्। 

कोशी एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह प्रदेश हो। प्रदेश अध्यक्षलाई एमालेले पोलिटब्युरो सदस्यसरहको हैसियत दिने व्यवस्थापछि केन्द्रीय तहका नेताहरु पनि आकांक्षी देखिएका हुन्। 

प्रदेशमा सहमतिबाटै नेतृत्व चयन गर्न अन्तिमसम्म प्रयास गरिने भएको छ। सहमति हुन नसके लोकतान्त्रिक अभ्यासबाट नेतृत्व चयन हुने एमाले स्थायी कमिटि सदस्य शेरधन राईले बताए। 

पार्टी अध्यक्षको आकांक्षी देखिएका एमालेको कोशी प्रदेश उपाध्यक्ष रहेका चेम्जोङ २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित सांसद हुन्। 

धनकुटाको चौबिसे निवासी चेम्जोङ कोशीमा एमालेको बलियो पकड भएका नेता हुन्। २०५४ सालपछि देशभर माधव नेपाल समूहको दबदबा भइरहँदा पनि धनकुटामा उनकै नेतृत्वमा ओली समूहले जिल्लाको नेतृत्व गरेको थियो। 

लामो समयदेखि ओली समूहमै रहँदै आएका उनी २०४९ सालमा जिल्ला विकास समितिको उपसभापति, २०५४ सालमा जिल्ला विकास समिति सभापति निर्वाचित भएका थिए। 

२०५४ सालमा पार्टी उपसचिव र २०५७ सालमा सचिवमा निर्वाचित भई २०६६ सम्म एमाले धनकुटाको नेतृत्व गरिसकेका नेता हुन्।

पार्टी अध्यक्षको चर्चामा रहेका विनोद ढकाल मोरङमा दुईपटक अध्यक्ष चलाएका व्यक्ति हुन्। उनी बलिया प्रतिस्पर्धी मानिन्छन्। 

विराटनगर स्थायी घर भएका ढकाल पार्टीभित्रका गुटगट राजनीतिका लागि चर्चित छन्। 

उनले संसदीय मोर्चाका सबै निर्वाचन हार्दै आएका छन्। तर ओलीले चाहेमा ढकाल प्रदेश अध्यक्ष बन्न सक्छन्। 

मोरङकै लेटाङ निवासी घनश्याम खतिवडा पनि पाका र पुराना एमाले नेता हुन्। 

एमालेमा लामो समय माधवकुमार नेपाल पक्षमा लागेका उनी पछिल्लो समय भने ओली क्याम्पमै बसेका थिए। 

उनी २०५४ सालमा मोरङ जिल्ला विकास समितिको सभापति र २०७४ सालको संसदीय निर्वाचनमा मोरङ क्षेत्र नं. १ बाट निर्वाचित सांसद हुन्। 

हाल अध्यक्ष रहेका तुलसीप्रसाद न्यौपाने संखुवासभा निवासी हुन्। २०५४ सालमा संखुवासभा जिल्ला विकास समितिको सभापति  र २०७४ सालमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका  न्यौपाने सुरुमा माधव नेपालनिकट थिए। 

तर, पार्टी विभाजनको समयमा माधव नेपालको साथ छोड्दै न्यौपाने पनि एमालेमै रहे। उनी केही समय प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री समेत बनेका थिए।

एमालेले कोशी प्रदेशका १४ जिल्ला, जनसंगठन र मनोनित गरेर १ हजार ४७ जना प्रतिनिधिहरु चयन हुनेछन्। 

अधिवेशनमा भूगोलबाट ९६२ जना, युवाबाट ५३, मजदुरबाट ३२ जना प्रतिनिधि छनौट हुँदा ३३४ जना महिला हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .