प्रतिनिधि सभाको निर्वाचनमा हुम्लाबाट नेपाली कांग्रेसका जयपति रोकाया निर्वाचित भएका छन्।
कांग्रेसका रोकाया ८ हजार ७९७ मत प्राप्त गर्दै सांसद निर्वाचित भएका हुन्। उनी हुम्लाबाट सांसद बनेका नयाँ अनुहार हुन्।
रोकाया १ हजार ५५४ मतान्तरले निर्वाचित भएको जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकायाले जानकारी दिए। उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का दीपेन्द्र रोकायाले ७ हजार २४३ मत प्राप्त गरेका छन्।
यस्तै, नेकपा (एमाले) का दल फडेराले ४ हजार ३३१ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की टासी ल्हान्जोमले १ हजार ६४ मत प्राप्त गरेकी छन्।
अन्य उम्मेदवारतर्फ प्रगतिशील लोकतान्त्रिक पार्टीका जटिल कार्कीले २४८ मत, नेकपा (माओवादी) का कुम्भ बुढाले १२८ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका छक्क बुढाले १२४ मत प्राप्त गरेका छन्।
रोकाया कांग्रेस हुम्लाका पूर्वजिल्ला सभापति हुन्। उनि पहिलोपटक चुनावी प्रतिस्पर्धा उत्रिएका थिए। नेपाल विद्यार्थी संघ र तरुण दल हुम्लाको अध्यक्ष हुँदै उनी दुई कार्यकाल हुम्लाको पार्टी सभापति बनेका थिए।
२०४० सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका उनी अहिले पार्टीको कर्णाली प्रदेश कार्यसमितिका सदस्यको जिम्मेवारीमा छन्। २०७४ र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेसले रोकायाको नाम समानुपातिक सूचीमा राखेको थिए। तर, सांसद बन्न पाएनन्।
दल र सांसद नदोहोर्याएको हुम्ला
हिमाली जिल्ला हुम्लामा २०४८ सालदेखि २०८२ सम्म एउटै दलले लगातार दोस्रो पटक जितेको छैन। २०४८ सालमा भएको निर्वाचनमा हुम्लाबाट संयुक्त जनमोर्चा नेपालका छक्कबहादुर लामा, २०५१ सालमा कांग्रेसका चक्रबहादुर शाही, २०५६ सालमा एमालेका गोरखबहादुर बोगटी र २०६४ सालको संविधान सभाको निर्वाचनमा माओवादीका कर्णजित बुढाथोकी निर्वाचित भएका थिए।
त्यस्तै, २०७० सालका संविधान सभा निर्वाचनमा कांग्रेसका जीवनबहादुर शाहीले ८ हजार ३३२ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी एमालेका दल रावलले ४ हजार ९३९ भोट पाएका थिए। २०६४ सालमा निर्वाचन जितेको माओावादी तेस्रो हुन पुग्यो।
माओवादीबाट छक्कबहादुर लामा उम्मेदवार थिए। उनले ४ हजार ७५९ मत ल्याए। तर, उनै लामा २०७४ सालको निर्वाचनमा स्वतन्त्र लड्दै निर्वाचित भए। उनले ८ हजार ४९१ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धा नेपाली कांग्रेसका मंगलबहादुर शाहीले ८ हजार ४४४ मत पाए।
एमाले–माओवादीबीच बनेको बाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका छिमी दोर्ची लामा तेस्रो भए। उनले २ हजार ८५६ मत पाए। छिमीको बागी उम्मेदवारका रुपमा छक्कबहादुर उठेका थिए।
२०७९ सालको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट छिरिङ डम्डुल लामा (कार्चेन) निर्वाचित भए। उनी कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका दलको गठबन्धनबाट उम्मेदवार थिए। कार्चेनले १४ हजार ३७१ मत पाउँदा एमालेका रावलले ९ हजार ५१६ मत पाए। राप्रपाका तेजबहादुर रावतले ३७९ पाएका थिए।
Shares

प्रतिक्रिया