ad ad

राजनीति


विवादै–विवादबीच चयन भयो एमाले मुगुको नेतृत्व

एकलौटी रुपमा कमिटी गठन गरिएको १० भ्रातृ संगठनको आरोप
विवादै–विवादबीच चयन भयो एमाले मुगुको नेतृत्व

नेपालखबर
मंसिर १७, २०८० आइतबार ७:४, सुर्खेत

नेकपा (एमाले) जिल्ला कमिटी मुगुको नेतृत्व विवादै विवादका बीचमा चयन भएको छ। नवौँ जिल्ला अधिवेशनबाट एमाले मुगुले नयाँ नेतृत्व चयन गरेको हो।

केन्द्रको निर्देशनअनुसार एमाले मुगुले देशमै सबैभन्दा पहिला अधिवेशन गरेको थियो। तर, सर्वसम्मत रुपमा चयन भएको भनिएको नयाँ नेतृत्वप्रति अधिकांश प्रतिनिधि रुष्ट भएका छन्।  

जिल्लाभरबाट अधिवेशनका लागि ३७४ जना प्रतिनिधिहरु छनौट भएका थिए। ती मध्ये ६० प्रतिशत प्रतिनिधिहरुले नयाँ नेतृत्व चयनप्रति विरोध जनाएका हुन्।
 

मंसिर ९ गते एमालेका महासचिव शंकर पोखरेल, सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्यद्वय यामलाल कँडेल र गोरखबहादुर बोगटीलगायतका नेताहरूको सहभागीतामा अधिवेशनको उद्घाटन गरिएको थियो। मंसिर ९ गते दिउँसो तीन बजेबाट सुरूभएको अधिवेशनको उद्घाटन सत्र सोही दिनको साँझ ६ बजे सकिएको थियो।

उद्घाटन सकिए लगतै सुरू भएको अधिवेशनको बन्द सत्र भने मंसिर ९ गते रातिबाट मंसिर १४ गते बेलुकासम्म चलेको थियो। उक्त अधिवेशनले पूर्ण रोकायाको अध्यक्षतामा ७१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ। जसको उपाध्यक्षमा रत्नसिंह विष्ट, सचिवमा सुरेन्द्र मल्ल, उप–सचिवमा मदन बानियाँ र उप–सचिव समावेशीमा हैजली वि.क सर्वसम्मत चयन भएका भनिएको छ।

एमाले जुम्ला इन्चार्ज अध्यक्ष मण्डलको अध्यक्ष बन्दा लफडा
एमाले मुगुको नेतृत्व लिनका लागि तीन जना नेताले अध्यक्ष पदमा दाबी गरेका थिए। नवनिर्वाचित रोकायासँगै डम्बरबहादुर रावल र डिलबहादुर मल्लको अध्यक्ष पदमा दाबी थियो। अन्य पदमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भएपनि अध्यक्षमा तीन जनाको दाबी रहेपछि उक्त पदमा निर्वाचन हुने निश्चित भएको थियो। 

अधिवेशन सफल बनाउन मुगु पुगेका नेताहरुले निर्वाचन नगरेर सर्वसम्मत नेतृत्व चयन गर्नेतर्फ ध्यान दिँदा अधिवेशन लम्बिदै गएको थियो। 

त्यसमा पनि मुगु घर भएका एमालेका पोलिटब्यूरो सदस्य मोहन बानियाँ एमाले मुगुको अधिवेशनमा अध्यक्ष मण्डलको अध्यक्ष बनेपछि प्रतिनिधिहरुले विरोध जनाएका थिए।

बानियाँलाई एमाले पार्टीले जुम्ला जिल्लाको इन्चार्जको जिम्मेवारी तोकेको छ। तर, उनी आफ्नो छोरालाई पदाधीकारीमा ल्यानका लागि निर्वाचन मण्डलको अध्यक्ष बनेपछि विवाद सुरु भएको थियो। निर्वाचन मण्डलको सदस्यहरुमा राजबहादुर बुढा, गुलावजंग शाह, जीतबहादुर मल्ल, सेजुङ लामा, दानसिंह परियार र राजबहादु कार्की रहेका थिए। 

सहसचिवमा सर्वसम्मत चयन भएका भनिएका मदन बानियाँ मोहन बानियाँका छोरा हुन् भने सचिव सुरेन्द्र मल्ल मुगुका निवर्तमान अध्यक्ष जीतबहादुर मल्लका भाइ हुन्। 

बानियाँ अध्यक्ष मण्डलको अध्यक्ष बनेपछि प्रतिनिधिहरुले विवाद गरेका थिए। 

त्यसपछि अध्यक्ष मण्डलको जिम्मेवारी एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहलाई दिइएको थियो। जसका कारण पनि नयाँ नेतृत्व चयनमा ढिलाई भएको हो। अन्त्यमा गोजीबाट पद बाँडेर सबै प्रतिनिधिहरुलाई जानकारी नै नदिइ पदाधिकारीहरुको नाम घोषणा गरिएको असन्तुष्ट पक्षको आरोप छ।

पार्टी केन्द्रको चेपुवामा परेकोे अध्यक्ष मण्डलको दाबी
मुगुको नयाँ नेतृत्वका लागि अध्यक्ष मण्डलले निर्वाचन गर्ने तयारी गरे पनि पार्टी केन्द्रको दवावको कारण निर्वाचन गर्न नसकिएको जनाएको छ। एमाले महासचिव शंखर पोखरेलले मुगु पुगेर आफँैले उद्घाटन गरेको अधिवेशनमा सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न सुझाव दिएका थिए। 

निर्वाचन मण्डलका एक सदस्यले पार्टी नेतृत्वको दवावमा सर्वसम्मत नेतृत्व चयन गरिएको बताए। उनले भने, ‘निर्वाचन हुनुपर्ने थियो, त्यो हुन् सकेन्। निर्वाचनका लागि पक्ष र विपक्ष टिम चाँहि बनेको थियो। निर्वाचन नहुँदा धेरैजसो प्रतिनिधिहरु रुष्ट हुनुभएको छ। तर, हामीलाई निर्वाचन गराउन सहज भएन।’

स्रोतका अनुसार पार्टी केन्द्रको कुनै दवाव नभएर अध्यक्ष मण्डलका सदस्यहरुले सर्वसम्मत नेतृत्व चयनमा दवाव दिएको भन्ने प्रतिनिधिमाझ हल्ला फैलाएका थिए। 

यतिमात्रै नभई निर्वाचन मण्डलले पूर्ण रोकायाको अध्यक्षतमा मात्रै नयाँ कमिटी गठन गर्नुपर्ने एमाले महासचिव शंकर पोखरेलको निर्देशन आएको भ्रम फैलाएको पाइएको छ। 

नयाँ कमिटी ‘अवैध’ भन्दै बिरोध
एमाले मुगुको अध्यक्ष पदका उम्मेदवार समेत रहेका डम्बरबहादुर रावलले जिल्ला कमिटी घोषणा गर्ने अध्यक्ष मण्डल र निर्वाचन कमिटी नै अवैध रहेको दाबी गरेका छन्। 

उनले नेपालखबरसँग भने, ‘यो अध्यक्ष मण्डल र निर्वाचन कमिटी अवैध भएपछि नेतृत्व पूर्णरुपमा अवैध हुने नै भयो। कमिटी विधि र विद्यानविपरीत गठन गरिएको छ। आफ्ना नजिकका मान्छेलाई सर्वसम्म नेतृत्व चयन गर्ने यो कस्तो लोकतन्त्र हो? यो कमिटीले विधि उलंघन गरेको छ।’ 

मनोनय दर्ता नगरी, उम्मेदवार को हुन् थाहा नै नदिइ, छलफल नै नगरी राति १२ बजेको समयमा बन्द कोठामा बसेर सुटुक्क नयाँ कमिटी घोषणा गरिएको आरोप उनले लगाए। 

‘बहुमत प्रतिनिधि मेरोपक्षमा हुँदाहुँदै एकलौटी ढंगबाट गोजीबाट नाम घोषणा गरिएको छ,’ उनले भने, ‘३७४ प्रतिनिधि मध्ये २२३ जना प्रतिनिधि मेरो पक्षमा छन्। यो गोजीबाट बाँडेको पदप्रति मेरो आपत्ति छ।’

रावलले यो कमिटीको गठनपछि अधिकांश प्रतिनिधिहरु रुष्ट भएको बताए। उनले नयाँ बनेको जिल्ला कमिटी तथा अध्यक्ष मण्डलविरुद्ध प्रतिनिधिहरुले संयुक्त रुपमा पार्टी केन्द्रलाई लिखित तथा प्रत्यक्ष रुपमा जानकारी गराउने तयारी गरिरहेको जानकारी दिए।

स्रोतका अनुसार निर्वाचन कमिटीको संयोजक (अधिकृत) जगतबहादुर रोकाया थिए। अध्यक्ष मण्डलले तयार पारेको पदाधिकारीको एकलौटी लिष्टपछि उनी शपथ ग्रहण प्रक्रियामा सहभागी नभएपछि निर्वाचन कमिटी सदस्य सोनाम दोर्चे लामाबाट पदाधिकारीहरुलाई मात्रै राति शपथ गराइएको थियो।

यस्तै, शपथ ग्रहणमा भने अधिकांश नवनिर्वाचित सदस्यहरुको सहभागी थिएन्। कतिपयलाई आफू जिल्ला कमिटीको सदस्य भएको पत्तो पनि छैन्। 

अधिवेशनका लागि मुगु पुगेका नेताहरु नयाँ कमिटीको नाम घोषणा गरिसकेपछि फर्किने क्रममा प्रतिनिधिहरुबाट भागेर लुकेर फर्किनु परेको वातावरण सिर्जना बनेको थियो।  

बहुमतको उम्मेदवारलाई अध्यक्ष नबनाएर अल्पमतको व्यक्तिलाई अध्यक्ष घोषणा गरेको भन्दै अध्यक्ष मण्डलको विरोधमा उत्रिँदैै प्रतिनिधिहरुले नाराबाजी गरेका थिए। 

२०७९ को प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा एमाले कर्णाली प्रदेशबाट संघ तर्फका १२ सिटमा निल भएको थियो। प्रदेशसभाका २४ सिट मध्ये ५ सिट प्रत्यक्ष जितेको थियोे। 

पछिल्लो समय पार्टी केन्द्रको निर्देशन विपरित एमालेले कर्णालीमा नेताहरुलाई मिलाएर भन्दा आफ्ना कुन्ठा बोकेर संगठन निर्माणमा लागेपछि पार्टीले थालेको मिसन ८४ सफल हुनेतर्फ भन्दा कर्णालीमा झन ध्वस्त हुने अवस्था सिर्जना भएको एक नेताले बताए। 

१० जनसंगठनको असन्तुष्टि

एमाले मुगुको नवौँ जिल्ला अधिवेशनमा अध्यक्षमण्डलबाट घोषित जिल्ला कमिटी प्रक्रियाप्रति असहमति जनाउँदै एमालेसम्बद्ध १० वटा जनसङ्गठनले असन्तुष्टि जनाएका छन्।

नेपाल सांस्कृतिक सङ्घ, नेपाल खेलकुद महासङ्घ, मानवअधिकार एलाइन्स, उत्पीडित जातीय मोर्चा, राष्ट्रिय युवासङ्घ नेपाल, अखिल नेपाल किसान सङ्घ, प्रेस चौतारी, नेपाल बुद्धिजीवी परिषद् र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले नेतृत्व चयन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै विज्ञप्ति निकालेका हुन्।
 
घोषित जिल्ला कमिटी अलोकतान्त्रिक भएको र जिल्ला प्रतिनिधिलाई सहमतिका लागि छलफल गर्न नबोलाइएको आरोप प्रेस विज्ञप्तिमा लगाइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘बहुमत जिल्ला प्रतिनिधिको समर्थन रहेका डम्बर रावललाई अध्यक्ष घोषणा गर्न र लोकतान्त्रिक प्रक्रियाभन्दा बाहिर गएर अध्यक्षमण्डलले घोषणा गरेको जिल्ला कमिटी खारेज गर्न नेकपा एमाले केन्द्रीय समितिसमक्ष माग गर्दछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .