नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबारै कर्णाली आउने तयारी थियो। तर, सत्ता गठबन्धनको बैठक ११ घण्टासम्म चलेपछि काठमाडौंबाट निस्कन पाएनन्।
यता सुर्खेतमा बुधबार र बिहीबार माओवादी नेता शक्ति बस्नेत र जनार्दन शर्माले नेता–कार्यकर्तालाई आगामी चुनावी रणनीतिबारे प्रशिक्षण दिए।
उक्त प्रशिक्षणका लागि कर्णालीका १० वटै जिल्लाबाट नेता, कार्यकर्ता राजधानी वीरेन्द्रनगर आएका थिए।
प्रचण्ड बिहीबार सुर्खेत नआउने भएपछि माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम स्थगित भयो।
गठबन्धनको तानातानबीच उनी शुक्रबार बिहान मात्रै सुर्खेत पुगे। सुर्खेत विमानस्थलमा पत्रकारसँग पनि कुरा गरे। प्रचण्डले त्यहाँ आगामी निर्वाचन तयारीबारे बोले।
त्यसपछि कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निवासमा गएर बिहानको खाना खाए।
अनि वीरेन्द्रनगरस्थित सिटी हालमा भएको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा सहभागी भए।
प्रचण्डले त्यही प्रशिक्षणलाई सम्बोधन गर्दै माओवादीभित्रकै केही नेताहरूले आफू प्रचण्ड भनेर दाबी गरेको बताए।

प्रचण्डले गुट–उपगुटकै कारण माआवादीले हार भोगेको दोहोर्याए। ‘माओवादी कमजोर हुनुको कारण यही गुट–उपगुटको स्वार्थ नै हो। गुट रोक्न कार्यकर्ताले पहल गर्न सक्नुहुन्छ?,’ उनले सोधे, ‘त्यस्ता स्वार्थीलाई हटाउन झण्डा उठाउन सक्नुहुन्छ? मलाई नेताहरुले भन्दा कार्याकर्ताहरुले बोलाएर आएँ।’
उनले पार्टीभित्र विचलन आएको स्वीकार्दै जे भन्निछ त्यो नगर्ने र भनिँदैन त्यो गर्नाले कुरो बिग्रिएको सुनाए।
उनले आफ्नो गुटमा नभएकालाई हराउन लाग्ने र हराएपछि बहादुरी देखाउने गरेको भन्दै पार्टी नेताहरुप्रति कटाक्ष गरे।
‘कहिलेकाहीँ त म आफैँ पनि हैरान, परेसान हुन्छु, तपाईंहरुले देख्नु भएको छ, यस्तो स्वार्थ समूह भएको पार्टी चलाई राख्नुभन्दा त बरु कार्ल माक्र्सले गरेको जस्तो पार्टी नै विघटन गरौँ जस्तो लाग्छ कहिले काहीँ’, उनले भने, ‘किनभने पार्टी बनाउने भन्दा गुट चलाउन लाग्ने, गुटबन्दी गर्ने खोज्ने, स्वार्थ समूह बनाउने, व्यक्तिगत स्वार्थ बोकेको गुट मात्रै बनाउने, गुटबन्दीमा रमाउने, गिरोह बनाउनेतिर लाग्ने हो भने किन चाहियो माओवादी पार्टी?’
प्रचण्डले आफ्ना कार्यकर्तासँग गुनासो नरहेको बताउँदै नेताहरूको गुट, उपगुटले माओवादीमा थप समस्या निम्त्याएको दाबी गरे।

‘यी सबै कुरा हेर्दा विश्राम गरौँ जस्तो लाग्छ। उमेर पनि ढल्केको छ। परिस्थिति पनि त्यस्तै छ। तर, जब यो पार्टीलाई क्रान्तिकारी पार्टी बनाउने सपना, बलिदान दिएका सहिद, हजारौं बेपत्ता योद्धा, हजारौं घाइते, अपाङ्ग, सहिद परिवार सम्झिँदा बुढो भएजस्तो पनि लाग्दैन’, उनले भने, ‘अझै पनि २५/३० वर्षका तपाईंहरू जस्तै, तन्नेरी जस्तै लाग्छ। म देशभरी घुमिरहेको छु। दौडिरहेको छु। पर्टी बचाउन, संविधान बचाउन दौडधूप गरिहेको छु।’
उनले गुट प्रवृत्तिको अन्त्य कर्णालीबाटै भएको हेर्न चाहेको बताए। ‘माओवादी प्रचण्डको नेतृत्वमा एउटै छ। तर, नेताहरूले स्वार्थका लागि कर्णालीमा पनि भित्र–भित्र गुट, उपगुटले माओवादी पछाडि परेको छ’, उनले भने, ‘हाम्रो पार्टीभित्रको गुटबन्दी र स्वार्थी व्यक्तिका कारण स्थानीय चुनावमा पछि पर्नुपर्यो। मधेश प्रदेश र तराईका जिल्लामा हार व्यहोर्नु प¥यो।’
प्रचण्डले सबैले नेताहरूले आफूलाई प्रचण्ड ठान्नाले माओवादी कमजोर बन्दै गएको औँल्याए।
‘पार्टीका लागि जति मत ल्यायौँ, हामी सन्तुष्ट छैनौं हामीले १७५ दाबी गरेका थियौं तर १२५ मा सीमित भयौँ। विगतमा जितेका पालिका गुमाएका छौं,’ उनले भने।
प्रचण्डले प्रदेश सभा निर्वाचनमा सकेसम्म महिलालाई प्राथमिकता राखेर टिकट वितरण गर्नुपर्ने सुझाए।
‘हामीले महिलालाई प्राथमिकतासाथ उम्मेदवार बनाएर जिताउने नीति बनाएका छौँ,’ उनले भने।
महिलालाई प्रत्यक्ष चुनाव जिताउने हो भने पुरुषहरु समानुपातिकतर्फ जाने उनको भनाइ थियो।

गुटै–गुटको कथा
माओवादीभित्र गुटको राजनीति मौलाउँदा स्थानीय निर्वाचनमा अपेक्षाकृत नतिजा नआएको भन्दै अध्यक्ष प्रचण्डले कार्यक्रममा आक्रोश पोखे।
माओवादीको आधारशिला मानिएको कर्णालीसहित देशभर स्थानीय निर्वाचनमा प्राप्त मतबाट सुन्तुष्ट नरहेको अभिव्यक्ति प्रचण्डमा देखियो।
यतिमात्रै होइन, अर्थमन्त्रीसमेत रहेका उप–महासचिव जनार्दशन शर्मा ‘प्रभाकर’ र शक्ति बस्नेतको गृह प्रदेशमै नतिजा राम्रो आएन। दुवैको फरक–फरक गुट भएको भन्दै प्रचण्डले आक्रोश पोखेकोे कार्यकर्ताको बुझाई छ।

स्वागतमै गडबडी
शुक्रबार बिहानै सुर्खेत विमानस्थलमा प्रचण्डलाई अर्थमन्त्री एवम् पार्टीका उप–महासचिव जनार्दन शर्मा ‘प्रभाकर’सहितका प्रदेश स्वागत गर्न पुगेका थिए।
तर, विमानस्थलमा अर्का उप–महासचिव शक्ति बस्नेत देखिएनन्। विमानस्थलबाटै पार्टीकोभन्दा अन्य कार्यक्रममा सहभागी हुन अर्थमन्त्री शर्मा पनि बाहिरिए।
पार्टी कर्णाली प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रममा प्रचण्डसहित, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उप–महासचिव शक्ति बस्नेतसहितका नेताहरु सहभागी थिए। तर जनार्दन देखिएनन्।
कर्णालीमा जस्तै केन्द्रमा उप–महासचिव वर्षमान पुन ‘अनन्त’ र शर्माबीचको टसलको आक्रोश पनि प्रचण्डले सुर्खेतमा पोखेको आकलन कार्यकर्ताले गरेका छन्। त्यही आक्रोशका क्रममा उनले पार्टी विघनसम्मको चेतावनीसमेत दिए।
Shares

प्रतिक्रिया