भारतका कंग्रेस नेता राहुल गान्धीले नरेन्द्र मोदी भोट चोरी गरेर प्रधानमन्त्री बनेको आरोप लगाएका छन्।
पत्रकारहरूसँग कुरा गर्दै गान्धीले मोदी चुनावमा धाँधली गरेर विजयी भएको दाबी गर्दै यो मुद्दा निरन्तर उठाइरहने बताएका हुन्।
‘हामीसँग धेरै प्रमाण छन् र हामी यो प्रक्रिया जारी राख्नेछौँ। हामी देशका जेनजी र युवालाई स्पष्ट रूपमा देखाउनेछौँ- नरेन्द्र मोदी मत चोरेर प्रधानमन्त्री बने र भाजपा मत चोरीमा संलग्न छ’, उनले भने।
दुई ठाउँका घटना सुनाउँदै उनले थपे, ‘मैले भनेको थिएँ- हरियाणाको चुनाव वास्तवमा चुनाव नै थिएन। त्यहाँ 'थोकमा चोरी' भएको थियो। मैले भनेको 'नक्कली भोट, नक्कली तस्बिर'का विषयमा निर्वाचन आयोगले जवाफ दिएको छैन। भाजपा आफ्नो बचाउ गरिरहेको छ।’
गान्धीले नरेन्द्र मोदी, अमित शाह र निर्वाचन आयोगले संयुक्त रूपमा संविधानमा आक्रमण गरिरहेको आरोप लगाए।
‘संविधान भन्छ- एक मानिस, एक भोट। हरियाणामा यो सिद्धान्त लागु भएको थिएन। त्यहाँ एक मानिस, धेरै मत' भएको थियो’, उनले भने, ‘अब उनीहरू बिहार (जारी विधानसभा चुनाव) मा पनि यस्तै काम गर्दै छन्। यस्तो मध्य प्रदेश, छत्तीसगढ, हरियाणा र गुजरातमा पनि भइसकेको छ।’
बिहारमा विधानसभा चुनावअन्तर्गत बिहीबार मात्र पहिलो चरणको मतदान सकिएको छ।
Shares

प्रतिक्रिया