राजनीति


कुन भाषामा शपथ लेलान् बालेनले?

कुन भाषामा शपथ लेलान् बालेनले?

वाशुदेव मिश्र
फागुन २६, २०८२ मंगलबार १६:५७, पाेखरा

चुनाव प्रचार प्रसारको क्रममा विभिन्न क्षेत्रीय भाषा बोलेर मतदाताको मन जितेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बालेनले निर्वाचित भएपछि अब कुन भाषामा शपथ लेलान सबैको चासोको विषय बनेको छ । 

गएको माघ ५ गते प्रधानमन्त्रीको उम्मेदवारका रुपमा मधेश झरेका बालेनले जनकपुरमा आयोजित चुनावी सभाको सुरुदेखि नै ताली पाए।उनले जनकपुरमा बोलेको मैथिली नेपालभर बोलिने १२७ वटा भाषामध्ये दोस्रो बढी बोलिने मातृभाषा हो।

जनकपुरको तिरहुतिया गाछीमा आयोजित ‘परिवर्तन उद्घोष सभा’मा जानकी मातालाई प्रणाम गर्दै शुरु गरेको संवोधनको क्रममा उनले भने,‘आइ एगो मधेशिया छाउडा प्रधानमन्त्री बनेला आइ ओइला पीएम बनेवाला है ओइला घन्टीमे भोट रहेगे।’
छोटो वाक्यमार्फत् उनले दुई सन्देश दिए। एक– म मधेशी हूँ अनि प्रधानमन्त्रीको दाबेदार पनि । दोस्रो– कामको लागि मत देऊ,न कि मधेशी भनेर।

धर्तीपूत्रको नाममा चुनावको बेला देहात आइपुग्ने धेरैलाई पटक–पटक जिताएर पठाएका मधेशीहरु खुसी छैनन् भन्ने बालेनले बुझेका थिए। बालेनले त्यही भावनासँग खेले। 

उनै बालेन माघ १४ गते डडेल्धुरा पुगे । डडेल्धुरा पुग्नासाथ उनले सामाजिक सञ्जालमा लेखे,‘ सुदूर अब दूर नाई, झिकै झिकै माया तम्लाई १’ ‘सूर्य पनि अस्ताउनमात्र पश्चिम आइपुग्छ भन्दै सुस्केरा हाल्नेहरुलाई उनले सुदूर अब टाढा नभएको र त्यसलाई प्रधानमन्त्रीको रुपमा आफूले सक्दो गर्ने सन्देश प्रवाह गरे। फेसबुकको त्यो सन्देशपछि भोलिपल्ट आयोजित धनगढीको सभामा के भयो भन्ने त जगजाहेरै छ। बालेन र रास्वपा सभापति रवि लामिछानेका शब्दैपिच्छे ताली बज्यो।

आफूलाई मधेशको छोरा बताउने बालेन शक्तिशाली प्रधानमन्त्री बन्ने निश्चित भएको छ। चुनावी अभियानको क्रममा देश दौडाहामा जाँदा उनले टपक्क टिपेको स्थानीय भाषा,बिम्ब र शैलीले आञ्चलिक भाषाहरुलाई देश जोड्ने माध्यम बनाउन सकिन्छ भन्ने सन्देश पनि दिएको छ। यसैबीच सांसद र प्रधानमन्त्रीको रुपमा बालेनले कुन भाषामा सपथ लिने छन् भन्ने चर्चा पनि खासखुस सुरु भएको छ।

अघिल्लो संसदको दृश्यः संस्कृतदेखि हिन्दीसम्म 
२०७९ सालको चुनावमार्फत् प्रतिनिधि सभामा पुगेका सांसदमध्ये किरणकुमार साहले संस्कृत भाषामा सपथ लिएका थिए। रौतहतबाट स्वतन्त्र उम्मेदवारी दिएका उनी यसपटक नेपाली कम्युनिष्ट पार्टीबाट मैदानमा उत्रिएका थिए। तर, उनी दोस्रोपटक जनअनुमोदित हुन सकेनन्।

त्यसो त,अघिल्लो संसदमा विभिन्न दलका २६ सांसदले मातृभाषामा सपथ लिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका असिम साहले नेपाली/मुस्लिम,मनिष झाले मैथिली,कान्तिका सेजुवालले नेपाली खस भाषामा शपथ लिएकी थिइन्।

नेपालमा बोलिने भाषाहरू
नेपालमा भारोपेली,भोटबर्मेली,द्रबिडेली,आग्नेली र एकल गरी ५ परिवारका भाषा बोलिन्छन्। 

बालेनले जनकपुरमा बोलेको भाषा मैथिली हो। यो भाषाको जरो धनी संस्कृतिसँग जोडिएको छ र मिठास पनि उस्तै छ। बालेनले सुदूरपश्चिममा बोलेका र त्यो क्षेत्रमा प्रचलनमा रहेका डोटेली,बैतडेली,आछामी,बझाङ्गी,दार्चुलेली,जुम्लेली,डोल्पाली,खस,डडेल्धुरीजस्ता भाषालाई नेपाली भाषाकै भाषिकाको रुपमा अथ्र्याउने गरिएको छ। 

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ नागरिकहरुले विभिन्न १२४ वटा मातृभाषा प्रचलनमा रहेका छन्। तीमध्ये नेपाली मातृभाषा हुनेको जनसंख्या १ करोड ३० लाख ८४ हजार ४५७ अर्थात् ४४.८६ प्रतिशत छ। नेपालीलाई दोस्रो भाषा बनाउनेको संख्या १ करोड ३४ लाख ८२ हजार ९०४ हुँदा कुल नेपाली बुझ्ने जनसंख्या ९१.०९ प्रतिशत छ। 

जनगणना अनुसार नेपालमा मातृभाषाको रुपमा मैथिली भाषा बोल्नेको संख्या ३२ लाख २२ हजार ३८९ अर्थात् ११.०५ प्रतिशत रहेको छ। २०६८ सालमा यो संख्या ३० लाख ९२ हजार ५३० थियो । यो भाषामा साहित्य लेखिएको छ। गीत गाइएको छ । यो भाषा सवल देखिनुको अर्को कारण  प्राथमिक तहदेखि स्नातकोत्तरसम्म पढाइ हुनु पनि रहेको भाषाशास्त्री डा.दीपकप्रसाद न्यौपानेको बुझाइ छ।

जनकपुर आसपासको क्षेत्रमा बढी बोलिने यो भाषाजस्तै नेपालमा भोजपुरी बोल्नेको संख्या पनि १८ लाख २० हजार ७९५ अर्थात् ६.२४ प्रतिशत रहेको छ। नेपालको चौथो धेरै बोलिने भाषा थारु हो। नेपालमा १७ लाख १४ हजार ९१ जना अर्थात् ५.८८ प्रतिशत थारुहरुले मातृभाषाको रुपमा थारु भाषा प्रयोग गर्छन्।

चुनावको क्रममा भाषिक समस्या झेलेका कांग्रेस सभापति गगन थापा उठेको सर्लाही,रौतहट र महोत्तरीमा बोलिने बञ्जिकामा कुरा गर्नेहरु ११ लाख ३३ हजार ७६४ अर्थात् ३.८९ प्रतिशत रहेका छन् । नेपालमा अवधि मातृभाषा बोल्नेको जनसंख्या २.९६ र उर्दूका १.४२ प्रतिशत रहेको छ। 

भोटबर्मेली भाषाअन्तर्गत सबैभन्दा बढी अर्थात् ७१ वटा मातृभाषा रहेका छन्। तीमध्ये १४ लाख २३ हजार ९५ अर्थात् ४.८८ प्रतिशत नागरिकको मातृभाषा तामाङ हो । यहाँ ३.९१ प्रतिशतले नेवारी बोल्छन् भने २०७८ सालको जनगणनामा मगर भाषा बोल्नेलाई तीन वर्गमा राखिएको छ। जस अनुसार मगर ढुट बोल्नेको जनसंख्या ८ लाख १० हजार ३१५ अर्थात् २.७८ प्रतिशत,मगर खामका ९१  हजार ७५३ अर्थात् ०.३१ प्रतिशत र मगर काइकेका १ हजार २२५ मातृभाषी छन्।

याक्थुम लिम्बुभाषी ३ लाख ५० हजार ४३६ अर्थात् १.२ प्रतिशत हुँदा राईको संख्या १ लाख ४४ हजार ५१२ अर्थात् ०.५ प्रतिशत छ। नेपालमा ३ लाख २८ हजार ७४ अर्थात् १.१२ प्रतिशत नागरिकको मातृभाषा गुरुङ हो भने बान्तवा, चाम्लिङ, शेर्पा,संस्कृत,अग्नेली परिवारका सन्थाली,खरिया मुन्डाभाषीहरुले पनि आफ्नो मातृभाषाको जगेर्ना गरिरहेका छन्।

नेपालको संविधानले देशमा बोलिने सबै भाषालाई राष्ट्रिय भाषा मानेको छ भने समानुपातिक उम्मेदवार निर्वाचित गर्दा यहाँको जातीय र क्षेत्रीय अवस्थालाई ख्याल राख्नुपर्ने प्रावधान राखिएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad