गण्डकीमा नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीको शपथमा सहभागी सांसद राजीव गुरुङ (दीपक मनाङे) ले त्यहीँ बधाई दिए। गला मिलाए।
दर्शकदीर्घामा बसेका उनले यसअघि नै एमाले संसदीय दलका नेता खगराजको पक्षमा हस्ताक्षर दिइसकेका थिए।
खगराजले विनाविभागीय मन्त्रीको रुपमा माओवादी केन्द्रका हरिबहादुर चुमान,राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ र एमालेकी सीतादेवी सुन्दासलाई सपथ गराए।
सरकारलाई समर्थन गरेका र गण्डकीको युवा तथा खेलकुदमन्त्री भइसकेका दीपकलाई भने सपथकै दिन मन्त्री बनाइएन।
सरकारलाई समर्थन दिएका उनै मनाङेसँग नेपालखबरले सोध्यो किन मन्त्री हुनुभएन? उनले यो प्रश्नलाई हाँसोमा उडाइदिए।
उनले भने,‘१८ महिना खेलकुदमन्त्री हुँदा लोकल कुखुरा र लोकल रक्सी खाएर थाकेको छु, केही महिना रेष्ट गर्ने। खेलकुदमा जहाँ गए पनि त्यही। लोकल रक्सी र कुखुरा खुवाएर खत्तम बनाए।’
ठ्यौली शैलीमा प्रस्तुत भएका उनले मन्त्री बन्ने चाहना लुकाएनन्। खगराज अधिकारी नेतृत्वको सरकार कम्युनिष्ट सरकार भएकोले आफूले यो सरकारलाई समर्थन गरेको जिकिर गर्दै उनले २ वर्षपछि आफैं मुख्यमन्त्री हुने बताए।
'खगराज दाइले २ वर्ष खान्छ,त्यसपछि म खान्छु, राप्रपाले राजा ल्याऊ भन्छ होला, कहाँबाट ल्याउने? भाग्दै जान्छ। त्यही भएर अहिले आत्तिनु पर्दैन,४–५ महिना रेष्ट गर्ने प्लान छ’,उनले भने,‘त्यसपछि मुख्यमन्त्री नै हुने मै हो।’
उनले आफू रक्षापंक्तिमा खेल्ने फुटबल खेलाडी भएको बताउँदै राजनीतिमा पनि त्यही भूमिकामा रहेको जिकिर गरे।
एकहप्ता अगाडि कम्युनिष्ट पार्टीहरु मिलेको भए दुईतिहाइ नै आउँथ्यो भन्दै उनले त्यस्तो बेला धेरै दल मिलाउने बाध्यता नै नपर्नेतर्फ उनीहरुको ध्यान नगएको जिकिर गरे।
Shares

प्रतिक्रिया