राजनीति


जब एकै दिन तीनजना अभिनेत्री नयाँ पार्टीसँग जोडिए

निशा अधिकारी भन्छिन्— जेनजी आन्दोलनसँगै लाग्यो– राजनीतिमा आउन ढिला भइसकेछ
जब एकै दिन तीनजना अभिनेत्री नयाँ पार्टीसँग जोडिए

लक्ष्मी बलायर
मंसिर १, २०८२ सोमबार १२:३६, काठमाडौँ

फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ। चुनावको मिति नजिकिएसँगै राजनीतिक माहोल गर्माएको छ। एकातिर धमाधम नयाँ पार्टी खुलिरहेका छन् भने अर्कोतिर नयाँ व्यक्तिहरू पार्टीमा प्रवेश गरिरहेका छन्।

गएको साता अझ रोचक दृश्य देखियो। किनकि एकै दिन तीनजना अभिनेत्रीहरू नयाँ पार्टीसँग जोडिए। चलचित्रको पर्दामा देखिने उनीहरू नयाँ जोस र उत्साहसहित राजनीतिमा हाम फालेका हुन्।

त्यसमध्ये एक हुन्, निशा अधिकारी। जो सगरमाथा आरोहण गर्ने पहिलो नेपाली अभिनेत्री समेत हुन्। ‘मिसन पैसा’ बाट डेब्यु गरेकी निशाले ३० भन्दा बढी फिल्ममा काम गरिसकेकी छिन्।

बुधबार मात्रै निशा ‘गतिशील लोकतान्त्रिक पार्टी’मा प्रवेश गरेकी हुन्। व्यवसायी एंव बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतसहितले खोलेको यो पार्टीमा समाजशास्त्री दिनेश प्रसाईं अध्यक्ष छन् भने निशा केन्द्रीय सदस्य हुन्।

निशालाई पहिल्यैदेखि राजनीतिमा चासो थियो। देशमा हुने हरेक राजनीतिक गतिविधिबारे उनी जानकार थिइन्। परराष्ट्र मामिलामा विशेष चासो राख्ने उनले स्नातक तहमा अन्तर्राष्ट्रिय सम्बन्ध र राजनीतिशास्त्र विषय लिएर पढिन्। तर, बिस्तारै उनलाई राजनीतिप्रति निकै झुकाव हुँदै गयो। जसकारण उनले राजनीतिशास्त्रमै स्नातकोत्तर गरिन्। राजनीतिसँगै नजिक ‘द्वन्द्व, शान्ति र विकास’ विषयमा एमफील समेत गरिन्।

राजनीतिमा निकै तयारीका साथ आउन चाहन्थिन् निशा। उनी विभिन्न फोरम र छलफलमा जान थालिन्। जसले राजनीतिप्रतिको ज्ञानको दायरा फराकिलो हुँदै गयो। २०८४ को चुनावमा निशाले औपचारिक रूपमा राजनीतिमा आउने सोच बनाइरहेकी थिइन्। तर, जेनजी आन्दोलनका कारण तत्कालै राजनीतिमा आउनुपरेको सुनाउँछिन् उनी।

‘०८४ को चुनावमा राजनीतिमा औपचारिक रूपमा आउने सोचिरहेको थिएँ। त्यसकै तयारीमा थिएँ तर ठ्याक्कै जेनजी आन्दोलन भयो। जेनजीको मुभमेन्टमा मलाई एउटा कुरा के लाग्यो भने हाम्रो पुस्ता त साँच्चिकै लेट भइसकेको रहेछ। हामी हेर्दै जाम न भन्दाभन्दै भाइबहिनीहरूले त सडकमै उत्रिएर त्यत्रो आन्दोलन गर्नुपर्‍यो। त्यसपछि अब नि नआए कहिले आउने भन्ने भयो,’ निशाले भनिन्, ‘जनताले सानोतिनो कामको लागि पनि दु:ख पाइरहेको हुन्छ। यी सबै कुरा देख्दा वाक्क लाग्थ्यो। तर, अब गुनासो मात्रै गरेर नबस्ने, सबै कुरालाई राम्ररी विश्लेषण गर्ने बेला आएजस्तो लाग्यो। जनतालाई पनि राजनीतिक पार्टी र नेताबाट नै देशको निकास होस् भन्ने लाग्दोरहेछ। दुई महिनाको अभ्यासपछि पार्टी ज्वइन गरेँ।’

हुन त निशालाई अरू पार्टीबाट पनि अफर नआएको होइन। तर, ठ्याक्कै ‘गतिशील लोकतान्त्रिक पार्टी’सँग सिद्धान्त मिलेपछि यस पार्टीमा जोडिएको उनको भनाइ छ।

यस पार्टीका दुईतीन कुराले आफूलाई निकै आकर्षित गरेको बताउँछिन् उनी। ‘गतिशील लोकतान्त्रिक पार्टी’ले पदभन्दा पनि पार्टीको विकासमा जोड दिएको उनको तर्क छ। यस पार्टीले २० प्रतिशत सिट नभए सरकारमा नजाने नीति लिएको छ।

‘अहिले धेरै पार्टीहरू प्रतिपक्षमा बस्न चाहँदैनन्, सरकारमै जानुछ। खासमा जनताको बारेमा बोलिदिने नागरिक समाज हुनुपर्ने हो। नागरिक समाज नहुँदा जनताको लागि बोलिदिने भनेको त प्रतिपक्ष पार्टी हो। हामीले अपोजिसन नदेखेको कति भयो। जनताको लागि वाचडगको भूमिका खेलिदिने पार्टीको उपस्थित खै त भएको? सबै जनताकै टाउकोमा। भोट पनि हाल्नुपर्ने अनि आवाज पनि उठाउनुपर्ने। जनताले के के चाहिँ गर्ने? यो कुरामा यो पार्टी तयार छ। त्यसैले म प्रभावित भएँ,’ उनले भनिन्।

पार्टी प्रवेश गरेकी निशा चुनावमा उम्मेदवार बन्छिन् त?

भन्छिन्, ‘मन्त्री र माननीय हुनुभन्दा विचार सम्प्रेषण गर्नु ठूलो कुरा जस्तो लाग्छ। म पार्टीमै काम गरेर बस्न पनि रेडी हो। उठ्न पनि रेडी हो। मुख्य कुरा भनेको आवाज नभएकाको आवाज सुन्नु पर्‍यो। कोही राम्रो महिला उम्मेदवार आउनुहुन्छ भने म उहाँको चुनावी एजेन्डामा साथ दिन रेडी हो। तर, परेको खण्डमा म उठ्न पनि तयार हो।’

पार्टीमा प्रवेश नगरे पनि राजनीतिमा आउने निशाको योजना थियो। अबको १० वर्ष देश र राजनीतिलाई दिने उनको अठोट छ।

भन्छिन्, ‘म जसरी नि राजनीतिमा आउँथेँ। म स्वतन्त्र रूपमै उठ्न तयार भएको मान्छे हुँ। अहिले सही समय भएकाले आएँ। म ३९ वर्ष भएँ। ठ्याक्कै अबको १० वर्ष म राजनीतिलाई दिन्छु। पार्टीमा भए पनि नभए पनि युवा र महिलालाई नेतृत्वमा ल्याउन म खट्छु। देशको लागि मैले १० वर्ष छुट्याएको हो।’

निशा मात्रै होइन, अभिनेत्री तथा चर्चित कार्यक्रम होस्ट रिमा विश्वकर्मा पनि राजनीतिमा प्रवेश गरेकी छिन्। उर्जामन्त्री कुलमान घिसिङको नयाँ पार्टी उज्यालो नेपालमा उनी जोडिएकी हुन्। बुधबार नै रिमा पनि पार्टीको केन्द्रीय सदस्य बनेकी हुन्।

त्यस्तै, अर्की अभिनेत्री एलिजा गौतम पनि राजनीतिक दलसँग आबद्ध भइन्। बुधबार निर्वाचन आयोगमा दर्ता भएको जनादेश पार्टी नेपालमा उनी केन्द्रीय उपाध्यक्ष बनेकी हुन्।

यद्यपि, गौतम पार्टीमा प्रवेश गरेको पहिलोपटक भने होइन। उनी यसअघि रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन्। तर, पार्टी प्रवेश गरेको ६ महिनामै उनले पार्टी परित्याग गरिन्।

यी त भए गतसाता राजनीतिमा प्रवेशका गरेका सेलेब्रिटी। यसअघि पनि केही महिला सेलिब्रिटीहरू राजनीतिमा होमिसकेका छन्। जसमा गायिका कोमल वलीदेखि अभिनेत्रीद्वय करिश्मा मानन्धर र रेखा थापासम्म छन्।

अभिनेत्री करिश्मा मानन्धर बाबुराम भट्टराईले नेतृत्व गरेको ‘नयाँ शक्ति पार्टी’बाट राजनीतिमा आइन्। तर, केही समय सक्रिय भए पनि उनी राजनीतिको सिनबाट हराइन्। त्यसपछि उनी केपी ओलीको पार्टीबाट पुन: सक्रिय भइन्। र, कलाकारबाट एकाएक कमरेड बनिन्।

८ चैत २०७८ मा कार्की ब्यांक्वेटमा करिश्मा एमाले पार्टी प्रवेश गर्दा निकै तामझामको माहोल बनेको थियो। रातो सारी र मेकअपमा चिटिक्क बनेर करिश्मा सुटिङ नै छोडेर कार्यक्रममा आएकी थिइन्। जहाँ पार्टीका अध्यक्ष ओलीले करिश्मालाई अबिर र खादा लगाउँदै स्वागत गरे।

निकै उत्साहित देखिएकी करिश्माले आफू ओलीको भिजन र ऊर्जाबाट प्रभावित भएकोले पार्टीमा जोडिएको बताएकी थिइन्। उनको उत्साह यतिमै रोकिएन। पार्टीको आमसभामा पहिलो पटक भाषण गरेकी करिश्माले आफ्नो न्वारनको नाम नै सुर्जेकुमारी भन्न समेत भ्याइन्। विगतमा जहाँ-जहाँ भौँतारिए पनि बल्ल सही ठाउँमा आइपुगेको उनको भनाइ थियो।

तर, करिश्माको राजनीतिको दोस्रो इनिङ्स पनि सुखद हुन सकेन। २०७९ को चुनावमा टिकट नपाएर उनी दु:खी भइन्। ओलीसँग रुष्ट भएकी करिश्माले गत भदौमा एमाले पार्टी परित्याग गरिसकेकी छिन्। आफू जनताकै कलाकार बनिरहन चाहेको बताउँदै एमाले छोडेको उनको तर्क छ।

फिल्म क्षेत्रमा सफल अर्की अभिनेत्री रेखा थापाको पनि राजनीतिसँग पुरानो साइनो छ। २०६५ सालमा माओवादीले गरेको आम हड्तालमा सडकमा प्रचण्डसँग कम्मर मर्काएकी रेखा २०७० को चुनावमा उम्मेवारको आकांक्षी बनेकी थिइन्। तर, त्यसबेला मतदाता नामावलीमा नाम नभएका कारण उम्मेदवार बन्नबाट वञ्चित भइन्। संविधान सभाको चुनावमा माओवादी तेस्रो पार्टी भएपछि रेखा मौन बसिन्।

तर, त्यसको केही वर्षपछि उनी विपरीत सिद्धान्त बोक्ने कमल थापाको नेतृत्व रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरिन्। त्यतिबेला रेखाले कमल थापाको फ्यान भएको बताउँदै राप्रपा पहिलो र अन्तिम पार्टी भएको प्रतिक्रिया दिएकी थिइन्। तर, उनको त्यो बोली धेरै टिक्न सकेन। फेरि रेखा पशुपति शमशेर राणाको नेतृत्व गरेको राप्रपामा लागिन्।

राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राप्रपाबाट २०७९ मा प्रतिनिधि सभाको चुनावमा लडेकी उनी गृहजिल्ला मोरङ क्षेत्र नम्बर ३ मा पराजित भइन्। यतिखेर भने रेखा राजनीतिबाट केही टाढा देखिन्छिन्। गत वर्ष छोरीलाई जन्म दिएकी रेखा मातृत्वमा रमाइरहेकी छिन्। साथै उनी फिल्मको सुटिङमा व्यस्त छिन्।

शुक्रबार मात्रै उनले फेसबुकमा राजनीतिप्रति वितृष्णा व्यक्त गर्दै एक पोस्ट गरेकी छिन्। आफ्नो भाषण गर्दाको पुरानै भिडिओ सेयर गर्दै उनले लेखेकी छिन्, ‘यो देशमा मान्छेका आवरणका चेहरा र नियतका चेहरा झल्झली देखिन चुनाव आउनु पर्छ। चुनाव भनेकै सिद्धान्त र व्यवहारको भिन्नता देखाउने अनि ढोङको पर्दाफास गर्ने अवसर हुन्छ।’

यद्यपि, उनले आफू राजनीतिप्रति विरक्त नभएको दाबी नेपालखबरसँग गरिन्। परिआए आउँदो चुनाव लड्न तयार भएको उनको भनाइ छ।

गायिका तथा प्रस्तोता कोमल वली भने राजनीतिमै सक्रिय छिन्। २०७३ मा राप्रपा प्रवेश गरेकी वली केही समयपछि एमालेमा प्रवेश गरिन्। एमालेबाट राष्ट्रियसभा सदस्यसमेत रहेकी कोमल ०७९ को चुनावबाट दाङ क्षेत्र नं ३ बाट उठेकी थिइन्। तर, उनले जित भने हासिल गर्न सकिनन्। कोमल अहिले पनि एमालेमै आबद्ध छिन्।

राजनीतिमा रेखा र करिश्माको उपस्थितिलाई निशा योगदानको रूपमा हेर्छिन्। राजनीतिक मैदानमा उत्रिन कलाकारमा ठूलो आँट चाहिने उनको धारणा छ। राजनीतिमा आएका अभिनेत्रीहरूले केही न केही योगदान पुर्‍याएको बताउँदै आफूले उनीहरूलाई मार्गदर्शकका रूपमा हेर्ने उनको भनाइ छ। 

‘राजनीतिक मैदानमा जो पनि कलाकार उत्रिनु भएको छ, त्यसरी आउनु भनेको ठूलो आँटको विषय हो। महिला नेतृत्वको अभाव भइरहेको बेलामा उहाँहरूलाई हामीले गाइडको रूपमा पनि हेर्न सक्छौँ। महिला राष्ट्रपति हुनुभयो। प्रधानमन्त्री पनि महिला नै हुनुहुन्छ। उहाँहरूले नै यसरी कलाक्षेत्रबाट राजनीतिमा जान सकिन्छ भनेर दिमागमा एउटा स्पेश बनाइदिनुभयो,’ निशाले नेपालखबरसँगको कुराकानीमा भनिन्, ‘उहाँहरूले उपस्थितिले केही न केही परिवर्तन त पक्कै ल्याएको छ। कति कुराहरू बाहिरी रूपमा देखिन्छन्, कति देखिँदैनन्। म ग्यारेन्टी दिन सक्छु उहाँहरूको पार्टीले केही न केही फरकपन ल्याउनु भएको छ।’

अभिनेत्री थापा पनि कलाकारहरू राजनीतिमा आउनुलाई निकै सकारात्मक भन्छिन्। कलाकार पनि नागरिक भएकाले राजनीतिमा उनीहरूको प्रवेशलाई स्वागत गर्नुपर्ने उनको धारणा छ।

‘कलाकारहरू राजनीतिमा आउनु एकदम राम्रो कुरा हो। जुनसुकै पेसाको भए पनि ऊ सुरूमा नागरिक हो। जसकारण कोही देश बनाउँछु भनेर आउँछ भने त्यसलाई नराम्रो रूपमा लिनुहुन्न। कुनै पनि व्यक्ति देश निर्माण र रूपान्तरणका लागि राजनीतिमा आउँछ भने स्वागत गर्नुपर्छ,’ उनले भने।

निर्देशक तथा लेखक नवीन सुब्बाको भने यसमा फरक मत छ। राजनीतिभन्दा पनि कलाकारहरूले आफ्नै क्षेत्रमा निरन्तरता दिनु उचित हुने उनले बताए।

‘कलाकार राजनीतिमा आउनु नौलो कुरा होइन। विश्वभरि नै यो ट्रेन्ड चलेको छ। केही देशमा त कलाकारले नै लिड गरिहरहेका छन्,’ उनी भन्छन् ‘हुन त उहाँहरू राजनीतिमा आउनु व्यक्तिगत कुरा हो। तर, मलाई चाहिँ कलाकारले राजनीतिभन्दा पनि आफ्नै क्षेत्रमा काम गरेको राम्रो लाग्छ। राजनीतिभन्दा आफ्नो क्षमता कलाक्षेत्रकै उन्नति र विकासमा लगाउँदा हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad