नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीका शीर्ष नेताहरुसँगको भेटघाट कुनै पद प्राप्तिका लागि नभएको बताएका छन्।
नेता केसीले वर्तमान राजनीतिक वस्तुस्थितिको विषयमा आफूले पार्टी सभापति शेरबहादुर देउवा, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) लगायत दलका शीर्ष नेताहरुसँग भेट गरेको बताएका हुन्।
‘अहिलेको वस्तुगत जुन खालको परिस्थिति छ। त्यसमा आउने यात्रा चुनौतिपूर्ण छ। जनमानसमा जुन एक किसिमको नकारात्मक धारणाहरु देखियो, सबै पार्टी र नेतृत्वले एउटा कुरा स्पष्ट रुपमा बुझ्न जरुरी छ कि, हाम्रा स्थापित पार्टीहरुको नेता, नेतृत्व, नीति र कार्यशैलीको विरोधमा नो भोट जति स्वतन्त्रमा गएर थुप्रिएको हो भन्ने सहमति छ,’ केसीले भने, ‘अहिलेको वस्तुगत परिस्थितिको विश्लेषण गरौँ भनेर नै भेट गरिरहेको हो।’
नेता केसीले अहिलेको परिस्थितिलाई नयाँ पन र नयाँ बाटो दिनको निम्ति सत्य र विवेकको आवाज, भ्रष्टाचार बिरोधको आवाज, विधि विहीनता बिरोधको आवाज, सुशासन स्थापना गर्नको निम्ति संसदमा आफूले असल सांसदको रुपमा आफूले काम गर्ने बताए।
मन्त्रीमा आफ्नो कुनै अपेक्षा नरहेको भन्दै कसैसँग कुनैपनि पद माग्न नजाने स्पष्ट समेत उनले पारेका छन्।
पूर्व प्रधानन्याधीश वा अन्य कसैको संयोजकत्वमा निश्पक्ष जाँचबुझ आयोग गठन गरेर वास्तविकता जनतालाई दिनुपर्ने आवश्यक्ता रहेको केसीले बताए। नेता केसीले यथास्थितिमा बसेर काम गर्न रहर नरहेको तर नयाँ सरकार र नयाँ पात्रहरुबाट देशका लागि केही गरौँ भन्ने किसिमको सरकार निर्माण भए देशका लागि केही योगदान गर्ने इच्छा रहेको बताए।
‘मेरो कुनै अपेक्षा छैन, अहिलेको परिस्थितिलाई नयाँ पन र नयाँ ड्राइभ दिनको निम्ति सत्य र विवेकको आवाज, भ्रष्टाचार बिरोधको आवाज, विधि विहीनता बिरोधको आवाज, सुशासन स्थापना गर्नको निम्ति संसदमा एउटा असल सांसदको रुपले मैले भूमिका निभाउँछु,’ नेता केसीले भने, ‘त्यहाँमात्रै म अहिले प्रथम चरणमा सिमित हुनेछु। कसैसँग केही माग्न जाने पक्षमा छैन। म मन्त्री ४÷५ पटक भइसकेँ त्यही मन्त्री हुने रहर छैन।’
उनले आगामी सरकार नेपाली कांग्रेसकै नेतृत्वमा बन्ने पनि दाबी गरे। ‘हाम्रै सरकार हुँदा पूर्व प्रधानन्याधीश कसैको अध्यक्षतामा, संयोजकत्वमा निष्पक्ष जाँचबुझ आयोग गठन गरेर वास्तविकता जनतालाई किन नदिने?,’केसीले भने, ‘त्यो काम मेरो प्रधानमन्त्री, सभापतिले गरोस् भनेर लिखित प्रश्ताव पेस गरेको छु। त्यतातिर मेरो अभियान केन्द्रित भएको छ। परिस्थितिले धकेल्दा कता पुगिन्छ, मैले कसैसँग कुनै इच्छा लिएर भेटघाट गरेको छैन। नयाँ सरकार आए देशलाई केही योगदान दिन मन छ, तर यथास्थितिमा बसेर जनताका नकारात्मक सोचहरु आफूमाथि थुपार्ने सोच छैन।’
‘सरकार गठबन्धनकै नेतृत्वमा बन्छ। हामीले जुन जनताको बीचमा प्रतिवद्धता गरेर आयौँ, यो गठबन्धनलाई स्थायित्व र स्थिरता दिने प्रतिवद्धता नै हाम्रो जनताको बीचको प्रतिवद्धता हो। काँग्रेस गठबन्धन भित्रको ठूलो दल भएकाले पनि काँग्रैसकै नेतृत्वमा सरकार बन्छ,’ केसीले भने, ‘हाम्रो पार्टी भित्रको नीति, नेतृत्व, कार्यशैली, विधि, व्यवहारलाई परिवर्तन गरेर नयाँ विश्वास, आशा जगाउने परिवेश निर्माण गर्नुपर्ने अहिलेको आवश्यक्ता हो। यथास्थितिमा हामी अघि बढ्न खोज्यौँ भने यो चुनौती अझै गम्भीर बन्नेछ।’
प्रतिक्रिया