ad ad

राजनीति


एकीकृत समाजवादी राष्ट्रिय दल बन्ने सम्भावना सकिएको हो?

एकीकृत समाजवादी राष्ट्रिय दल बन्ने सम्भावना सकिएको हो?

नेपालखबर
मंसिर १६, २०७९ शुक्रबार १३:४०, काठमाडौँ

यसपटकको निर्वाचनमा सात दलभन्दा बढी राजनीतिक पार्टी राष्ट्रिय दल बन्ने सम्भावना लगभग सकिएको छ। प्रतिनिधिसभा समानुपातिकतर्फका मत गणना अन्तिम चरणमा पुग्दा ७ दल मात्र राष्ट्रिय दल बन्ने देखिएको हो। 

अहिलेसम्म प्रत्यक्षतर्फ सिट जितेका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी मात्र राष्ट्रिय दल बन्ने पक्का भएको हो। 

यसबाहेक अन्य दलले अब थ्रेसहोल्ड कटाउने सम्भावना कम रहेको निर्वाचन आयोगका सूचना अधिकारी एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। 

‘अब डेढ लाखजति मत गन्न बाँकी होला’, शुक्रबार दिउँसो नेपालखबरसँग उनले भने, ‘यतिमा ७ दलबाहेक अर्काे राष्ट्रिय दल बन्नै सक्दैन भन्न त सकिन्न तर अहिलेकै अवस्था कायम रहे अब थप दल राष्ट्रिय दल बन्ने सम्भावना कम छ।’

राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिक कूल सदर मतको ३ प्रतिशत (थ्रेसहोल्ड) मत ल्याउनुपर्छ। 

निर्वाचन आयोगको प्रारम्भिक अनुमानअनुसार मंसिर ४ को निर्वाचनमा कूल मतदाता १ करोड ७९ लाख ८८ हजार ५७० जनामध्ये ६१ प्रतिशत मतदानमा सहभागी भएका छन्। यस हिसाबले चुनावमा १ करोड ९ लाख ७० हजारभन्दा बढी मतदान भएको देखिन्छ। तर यसमध्ये ३ लाख हाराहारी मत बदर भएको अनुमान आयोगले गरेको छ।

अब खसेको कूल मत १ करोड ९ लाख ७० हजारबाट बदर मत ३ लाख घटाउँदा कूल सदर मत १ करोड ६ लाख ७० हजार आसपास हुन्छ। यसको ३ प्रतिशत (थ्रेसहोल्ड) कटाउन ३ लाख २० हजारभन्दा बढी मत प्राप्त गर्नुपर्ने देखिन्छ।  

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने सबै मत गनेर नसकिँदासम्म अहिले नै यति नै बदर हुन्छ र यतिमा थ्रेसहोल्ड कट्छ भनेर ठ्याक्क भन्न नसकिने बताए। 

माथि उल्लिखित सात दलबाहेक थ्रेसहोल्ड कटाउने सम्भावनाको नजिक सत्तारुढ एकीकृत समाजवादी मात्र देखिएको छ।

उसले यो खबर तयार पार्दासम्म प्रतिनिधिसभा समानुपातिकतर्फ २ लाख ९४ हजार ६३ मत प्राप्त गरेको छ। तर ३ लाख पुग्न पनि उसले अझै लगभग ६ हजार मत प्राप्त गर्नुपर्ने अवस्थामा थ्रेसहोल्ड कटाउन कठिन देखिन्छ। तर पनि डेढ लाख मत गन्न बाँकी रहेकाले अहिले ठोकुवा गर्नचाहिँ सकिन्न। 

आयोगको ताजा तथ्यांकअनुसार समानुपातिकतर्फ अहिलेसमम १ करोड ३ लाख ८२ हजार ८५ मत सदर भइसकेको छ। 

हेर्नुहोस् अहिलेसम्म कुन दलले कति समानुपातिक मत ल्याए?

नेकपा एमाले 
२७,७३,९९९

नेपाली कांग्रेस 
२६,४४,२४१

एकल चिह्न गोलाकारभित्र हँसिया हथौडा (नेकपा माओवादी केन्द्र÷नेपाल समाजवादी पार्टी)
११,६१,२५६

राष्ट्रिय स्वतन्त्र पार्टी
११,१९,९९६

राष्ट्रिय प्रजातन्त्र पार्टी
५,८५,९२१

जनता समाजवादी पार्टी, नेपाल
४,२०,९३१

जनमत पार्टी
३,९४,३४५

नेकपा एकीकृत समाजवादी
२,९४,०६३

नागरिक उन्मुक्ति पार्टी
२,७१,६५८

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,६७,२७८

नेपाल मजदुर किसान पार्टी
७५,०४४

स्रोत : निर्वाचन आयोग

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .