प्रतिनिधिसभा प्रत्यक्षतर्फ १० सिट जितेको नेकपा एकीकृत समाजवादी समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन कठिन संघर्षमा छ।
यो खबर लेख्दासम्म उसले २ लाख ६४ हजार ५ सय समानुपातिक मत प्राप्त गरेको छ। तर निर्वाचन आयोगको अहिलेसम्मको हिसाबअनुसार थ्रेसहोल्ड सीमा ३ लाख २० हजार मत देखिएको छ। यस आधारमा ३ लाख मत पनि पुर्याइनसकेको एकीकृत समाजवादीलाई थ्रेसहोल्ड पार गर्न निकै सकस देखिन्छ। यसका लागि एकीकृत समाजवादीले अझै ५६ हजार मत ल्याउनुपर्ने देखिन्छ।
आयोगका अनुसार यो खबर तयार पार्दासम्म ९५ लाख ७९ हजार ६ सय ५१ समानुपातिक मत गनिसकिएको छ।
आयोगका अनुसार कूल खसेको मतको संख्या १ करोड ९ लाख ७० हजार हो। अहिलेसम्मको आकलनअनुसार यीमध्ये ३ लाख मत बदर भएका छन्। यसो हुँदा कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हो।
यस आधारमा अब गन्न बाँकी समानुपातिक मतको संख्या १० लाख आसपास देखिन्छ। यसबाट ५६ लाख मत आफूतिर तान्न सकेको खण्डमा मात्र एकीकृत समाजवादी राष्ट्रिय दल बन्न सक्छ।
अहिलेसम्म नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी राष्ट्रिय दल बन्ने पक्का भइसकेको छ।
Shares
प्रतिक्रिया