ad ad

राजनीति


दोलखाका १० वटा केन्द्रमा बुथ कब्जा, फेरि मतदान गराउने आयोगको निर्णय

दोलखाका १० वटा केन्द्रमा बुथ कब्जा, फेरि मतदान गराउने आयोगको निर्णय

फाइल तस्बिर


नेपालखबर
मंसिर ११, २०७९ आइतबार १८:६, काठमाडौँ

दोलखाका १० वटा मतदान केन्द्रमा बुथ कब्जा भएको निष्कर्ष निर्वाचन आयोगले निकालेको छ।

निर्वाचन आयोगले दोलखा जिल्लाका १० वटा मतदान केन्द्रमा पुनः मतदान हुने निर्णय गरेको छ। आयोगले ती स्थानमा आगामी मंसिर १५ गतेभित्र गराउन मुख्य निर्वाचन अधिकृतकाे कार्यालयलाई निर्देशन दिएको छ।

नेकपा एमालेले सत्तारुढ दलबाट बुथ कब्जा भएको उजुरी दिएपछि खटिएको टोलीले स्थलगत अध्ययन गरेर प्रतिवेदन बुझाएपछि आयोगले यो निर्णय लिएको हो। 

स्थलगत अध्ययनमा गएको टोलीको सिफारिसपछि दोलखाका वैतेश्वर गाउँपालिका र तामाकोशी गाउँपालिकाका १० मतदान केन्द्रमा बुथ कब्जा भएको निष्कर्षसहित पुन मतदान गरिने भएको हो।

आयुक्त रामप्रसाद भण्डारीको सिफारिसका आधारमा ती केन्द्रमा अब फेरि मतदान हुन लागेको हो।

पुन:निर्वाचन हुने बुथ

१) बैत्यश्वरको वडा नं. ६ (क,ख,ग)

२) वैत्यश्वरको ३ कालीढुङ्गा (क,ख,ग)

३) बैत्यश्वर २ को जनज्योति (क,ख)

४) तामाकोसीको हेल्थपोस्ट (क,ख)

दोलखाका ७ वटा मतदान केन्द्रमा पुन मतदान गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन निर्वाचन आयोगमा पेश भएको छ।

आइतबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई बुझाइएको प्रतिवेदनमा यी केन्द्रमा पुनः मतगणना गर्नुपर्ने उल्लेख गरिएको छ।

४ मंसिरको चुनावमा वैतेश्वर, तामाकोशी, शैलुङ र मेलुङका ७ वटा मतदान केन्द्रमा निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगमा रिपोर्ट पठाएको थियो। 

निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ टोली खटाएर छानबिन गरेको थियो। 

आयोगको छानविनमा दोलखाका ती केन्द्रमा निष्पक्ष र स्वतन्त्र मतदान नभएको भन्दै पुनः मतदान गर्न सिफारिस गरिएको थियो। 

खासगरी नेकपा एमालेले नेपाली कांग्रेस नेतृत्वमा दोलखाका १० ठाउँमा बुथ कब्जा भएको भन्दै निवेदन दिएको थियो।

मंसिर ४ मै कांग्रेसका प्रदेशसभा उम्मेदवार कुन्दनराज काफ्लेको नेतृत्वमा बुथ कब्जा भएको भन्दै एमालेले आयोगमा निवेदन दिएको थियो। 

दोलखामा एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण शिवाकोटीले जिल्लाका पाँच स्थानमा बुथ कब्जा भएको भन्दै निवेदन दिएका थिए। तर पछि एमालेले अन्य पाँच ठाउँमा पनि बुथ कब्जा भएको जनाएको थियो।

उनले निर्वाचन गराउन खटिएका कर्मचारी र सुरक्षाकर्मीसमेत मिलेर सत्ता गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गरेको जनाएका थिए। 

उक्त घटनालाई लिएर शिवाकोटीले मंसिर ४ मै दोलखास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुन:मतदानका लागि निवेदन दिएका थिएन्। 

'गठबन्धन दल, निर्वाचनमा खटिएका कर्मचारी र शान्ति सुरक्षा दिने निकायसमेतको मिलेमतोमा बुथ कब्जा गरी मतदान केन्द्र नै भयावह बनाई एकलौटी गठबन्धनको पक्षमा मत खसाएकाले निम्न निर्वाचन केन्द्रको चुनाव रद्द गरी पुन निर्वाचन गरि पाऊँ', उनले निवेदनमा भनेका थिए।

जिल्लाका बैतेश्वर मावि मतदान केन्द्र, हेल्थपोष्ट मतदान केन्द्र तामाकोशी-३ , वडा कार्यालय पिपलबोट मतदान केन्द्र वैत्यश्वर-१, नविन मावि शैलुङ-३ र जफे प्रावि मेलुङ-४ मेलुङमा सत्ता गठबन्धनले बुथ कब्जा गरेर एकलौटी भोट खसाएको एमालेको आरोप थियो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .