ad ad

राजनीति


लण्डनको सपना भत्किएपछि सदन छिरेकी सोबिता

‘मसँग समृद्ध देशको परिकल्पना छ। मतदातालाई निरास हुन दिने छैन।’
लण्डनको सपना भत्किएपछि सदन छिरेकी सोबिता

सोबिता गौतम काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचति भएकी छन्


राधिका अधिकारी
मंसिर ८, २०७९ बिहिबार १२:४४, काठमाडौँ

केही समयअघिसम्म सोबिता गौतमले साँचेको सपना थियो लण्डन गएर मास्टर्स गर्ने। उनले छात्रवृत्तिका लागि आवेदन पनि दिएकी थिइन्।

ठिक त्यही समय रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा भयो। 

काठमाडौंको राष्ट्रिय सभागृहबाट औपचारिक घोषणा भएको पार्टीको कार्यक्रम चलाउन पुगेकी सोबितालाई त्यही दिन केन्द्रीय सदस्यताका लागि अफर आयो। 

तर, राजनीतिमा होमिने उनको योजना थिएन। उनलाई त लण्डन गएर कानुनमा मास्टर्स गर्दै बुझ्नु थियो बाहिरी दुनियाँ। त्यसैले त्यो दिन उनले पार्टीबाट आएको प्रस्ताव अस्वीकार गरिन्।

सबैका सबै सपना पूरा हुँदैनन्, यो कुरा उनलाई राम्रोसँग थाहा थियो। लण्डनको सपना पनि पूरा भएन। सोबिताले छात्रवृत्तिका लागि पुनःप्रयास गर्न सक्थिन् तर गर्न चाहिनन्।

उनलाई लाग्यो, ‘अब म जस्ता युवाले उच्च शिक्षाका लागि अथवा अन्य सपना पूरा गर्न अर्को देशको बाटो लाग्ने होइन, यहीँ सपना पूरा हुने देश बनाउनु पर्छ।’

त्यसपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध भइन्। 

पार्टीले उनलाई आसन्न निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवार बनायो। राजनीतिमा चासो राखे पनि उनलाई राजनीतिक ज्ञान थिएन। उनका बुवाआमाले मात्रै होइन, हजुरबुवाले पनि अहिलेसम्म कुनै दलको सदस्यता लिएका छैनन्। 

राजनीति नै नजानेको परिवारबाट त्यसमा आउन उनलाई सजिलो थिएन्। छोरीले राजनीति गर्छु भनेको निक्कै दिनसम्म उनकी आमाको मन खिन्न भयो। 

बुवाले पनि ‘तिमी के गर्दैछौ’ भनेर थुप्रैपटक सम्झाउन खोजे। तर बुवा आमाको केही लागेन। सोबिताले राजनीति गर्ने निधो गरिन्।

छोरीको विजय जुलुसमा सहभागी भएर घाम ताप्दै गरेकी सोबिताकी आमाले भनिन्, ‘ऊ सानैबाट गर्छु भनेको कुरा गरेरै छोड्ने स्वभावकी हो, राजनीतिमा लाग्दा सुरुमा मन खिन्न भए पनि उनले हामीलाई कन्भिन्स गराइन्, हामीले साथ दियौं।’

सोबिताका आमाबुवाको सपना थियो छोरीलाई डाक्टर बनाउने। त्यसैले सुरुमा उनलाई विज्ञान पढ्न भर्ना गरिएको थियो। दोलखा भीरकोटमा जन्मिएकी सोबिताले औपचारिक शिक्षाको सुरुवात भने काठमाडौंबाटै भएको हो। 

पढाइकै क्रममा स्कुलको विज्ञापनका लागि बनाइएको ठूलो ब्यानरमा सारीमा कालो कोट लगाएर खिचिएको सोबिताको फोटो पेप्सीकोला चोकमा टाँसियो।

त्यसपछि धेरैले भने, ‘तिमी त कस्तो वकिल जस्तो देखिएको!’ 

सोबिताको सपना त्यही संयोगले फेरियो। उनले कानुन पढ्ने भइन्, बा–आमाले कुनै अवरोध गरेनन्। त्यसो त उनले कहिले गायिका, कहिले डाक्टर, कहिले शिक्षक बन्ने सपना देखिन। उमेरका तह पार गर्दै जाँदा सपनाका प्रकार पनि फेरिए।

कानुन पढ्दै गर्दा पनि उनले आफूलाई विभिन्न क्षेत्रमा प्रयोग गरिन्।

भन्छिन्, ‘कुनै दिन म राम्रो चेस खेलाडी थिएँ, मिडियामा पनि काम गरेँ। यो सबै मैले मेरो जीवन र क्षमताको ट्रायल गरेको हुँ।’

कानुन पढेपछि उनी अरु सबै छाडेर वकालतमा लागिन। त्यसपछि उनको सपना न्यायालयभन्दा परको थिएन। 

जीवनमा बन्न मन लाग्ने कुरा धेरै हुन्छन्। तर मन लागेको जति सबै हुन सकिँदैन। कतिपय अवस्थामा हुन मन नलागेको हुनुपर्छ। सोबिताको राजनीतिक यात्रा भने रहरले बनेको होइन। 

समयले दिएको अवसर सहजताका साथ स्वीकार्दा जनताले विश्वास गरे। नत्र जितका लागि लड्दै गर्दा पनि उनलाई लागेको थिएन– जनताको यति ठूलो अभिमत आफ्नो पक्षमा आउला, तर आयो। 

भर्खरै गठन भएको पार्टी, राजनीतिमा पहिलोपटक सामेल भएका युवा, त्यही भिडमा देखिएकी सोबिता। पहिलो पटक राजनीतिमा आउँदै गरेकी उनले वर्षौदेखि राजनीतिमा खारिएका, युद्ध लडेर आएका, बलियो राजनीतिक संगठन भएका मानिससँग मैदानमा देखिनु पर्यो। 

धेरैले यही कुरालाई आधार बनाएर उनलाई निराश बनाउन खोजे। कतिपयले त ‘ज्यान नै नभएकी यो केटीले के गर्नसक्छे’ भनेर प्रश्न पनि गरे।

त्यही क्षेत्रबाट उठेका राजनीतिक पार्टीलाई समर्थनका लागि लबिङ गर्न पनि मानिसहरु आए। तर उनलाई पछाडि फर्किने छुट थिएन।

उनी आफ्नो पक्षमा उभिएका मानिसहरुको आँखामा देखिएका आशालाई निरास बनाउन तयार थिइनन्।

सोबिता भन्छिन्, ‘उम्मेदवारी घोषणादेखि यहाँसम्म आइपुग्दा थुप्रै दुःख झेल्नु पर्यो। सबैभन्दा गाह्रो त कमजोर राजनीतिक संगठन हुँदा भयो। संगठन राम्रोसँग विस्तार गर्न पाएकै थिएन, एकैपटक हेभिवेट नेताहरुसँग प्रतिस्पर्धा गर्नुपर्यो। त्यतिबेला पारिवरिक पृष्ठभूमि राजनीतिक नहुँदा धेरै कुराको सल्लाह दिने कोही भएन। तैपनि जे जानेका थियौँ, इमान्दार भएर प्रस्तुत गर्यौँ। यो मेरो इमानको जित हो।’

हुन त सोबितालाई नेपाली राजनीति दूषित नलागेको होइन। प्रस्ताव आउँदै गर्दा दूषित राजनीतिमा लागेर आफूलाई पनि दूषित नबनाउँ कि भन्ने उनलाई लागेकै हो। तर उनको सपनामा आर्थिक रुपले सम्पन्न देश बारम्बार आइरह्यो। 

त्यो देश बनाउन आफूले पनि भूमिका खेल्नुपर्छ भन्ने निधो गरेकै दिन राजनीतिमा आइन् सोबिता। काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा उनले नेकपा एमालेका मणिराम फुयाललाई साढे तीन हजार मतले पराजित गरिन्।

लामो राजनीतिक विरासत बोकेकी पूर्व सभामुख ओनसरी घर्ती त्यही क्षेत्रमा सोबितासँग पराजित भइन्। अबको पाँच वर्ष आफ्ना मतदाताको मतको कदर र वाचा पूरा गर्न हर कोसिस गर्ने बताउँछिन् सोबिता।

भन्छिन्, ‘समृद्ध देशको परिकल्पना त छँदैछ। देश भन्दै गर्दा मलाई मतमार्फत आफ्नो विश्वास दिनु हुने मतदातालाई निरास हुन दिने छैन।’

अब त सोबिताकी आमाको पनि सपना फेरियो।

उनलाई हिजोआज लाग्न थालेको छ, ‘सबैले नेता भनेको यस्तो हुनुपर्छ भनेर उदाहरण दिने काम छोरीले गरुन्। अन्य पार्टीका नेतालाई जस्तो छोरीलाई कसैले कालो झण्डा देखाएको हेर्नु नपरोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .