काठमाडौंको दशवटै क्षेत्रको नतिजा सार्वजनिक भएको छ।
दशवटै क्षेत्रको नतिजा आउँदा काठमाडौंमा कांग्रेस एउटामा खुम्चिएको छ। काठमाडौं क्षेत्र नम्बर ९ मा जितेर कृष्णगोपाल श्रेष्ठले एमालेको अस्तित्व रक्षा गरेका छन्।
निर्वाचन आयोगले दिएको पछिल्लो विवरणअनुसार दशै क्षेत्रको परिणाम आउँदा कांग्रेसले ५ वटामा जित निकालेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ४ वटामा झण्डा गाडेको छ।
अघिल्लो चुनाव (२०७४) मा एमालेले जितेको क्षेत्रमध्ये ९ बाहेक सबै गुमाएको छ। कांग्रेसले एमालेबाट अघिल्लो पटक हारेका क्षेत्र फिर्ता लिन सफल भएको छ।
कांग्रेसले क्षेत्र नम्बर १, ३, ४, ५ र १० क्षेत्र जितेको छ। २, ६, ७ र ८ मा रास्वपाले जितेको छ।
कुन क्षेत्रमा को विजयी?
मत परिणामअनुसार क्षेत्र नं १ मा प्रकाशमान सिंह (नेपाली कांग्रेस), २ मा सोबिता गौतम (रास्वपा), ३ मा सन्तोष चालिसे (नेपाली कांग्रेस), ४ मा गगन थापा (नेपाली कांग्रेस), ५ मा प्रदीप पौडेल (नेपाली कांग्रेस), ६ मा शिशिर खनाल (रास्वपा), ७ मा गणेश पराजुली (रास्वपा), ८ मा विराजभक्त महर्जन (रास्वपा), ९ मा कृष्णगोपाल श्रेष्ठ (नेकपा एमाले) र १० मा राजेन्द्र केसी (नेपाली कांग्रेस) विजयी भएका हुन्।
काठमाडौंमा एमालेले क्षेत्र नम्बर २, ३, ५, ७ र ८ नम्बर क्षेत्र गुमाएको छ।
२०७४ मा काठमाडौं २ मा एमालेबाट माधवकुमार नेपाल विजयी भएका थिए। त्यस्तै ३ मा २०७४ मा विजयी कृष्णकुमार राई यस पटक पराजित भए।
अर्कातिर क्षेत्र नम्बर ५ मा विजयी एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि पराजित भएका छन्।
त्यस्तै काठमाडौं ७ मा २०७४ मा एमालेका रामवीर मानन्धर विजयी भएका थिए। उता ८ मा जीवनराम श्रेष्ठ विजयी भएका थिए।
उता ललितपुरमा कांग्रेस, एमाले र रास्वपाले १/१ क्षेत्र बाँडेका छन्। भक्तपुरमा मतगणना जारी छ।
उपत्यकामा रहेका १५ क्षेत्रमा माओवादी केन्द्र क्लिनस्विप हुने देखिएको छ। अघिल्लो चुनावमा माओवादीले ललितपुर ३ जितेको थियो।
यसपटक त्यस क्षेत्रमा माओवादी तेस्रो नम्बरमा छ।
प्रतिक्रिया