राजनीति


दुवै गठबन्धनलाई पछि पार्दै प्रतिनिधिसभामा ‘बागी’ र स्वतन्त्रबाट ६ जनाको अग्रता

दुवै गठबन्धनलाई पछि पार्दै प्रतिनिधिसभामा ‘बागी’ र स्वतन्त्रबाट ६ जनाको अग्रता

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १४:५४, काठमाडौँ

मतगणना चलिरहेका मधेशका चार जिल्लामा प्रतिनिधिसभातर्फ स्वतन्त्रबाट ६ जना उम्मेदवारले अग्रता कायम राखेका छन्। 

सत्तारुढ पाँचदलीय गठबन्धन र एमाले राजपा गठबन्धनका उम्मेदवारलाई पछि पार्दै राजनीतिक दलका बागी र स्वतन्त्रले अग्रता बनाएका हुन्। 

प्रतिनिधिसभा तर्फ महोत्तरी ४, सर्लाही १ र ४, रौतहट २ र ३ तथा बारा २ मा स्वतन्त्र उम्मेदवारले अग्रता कायम राखेका हुन्। 

महोत्तरी ३ मा सत्तारुढ गठबन्धनका उम्मेदवार लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई पछि पार्दै एमालेबाट बागी उठेका स्वतन्त्र उम्मेदवार रामआधार कापरले अग्रता कायम राखेका छन्। 

कापरले २ हजार २०४ मत प्राप्त गर्दा ठाकुरले १ हजार १९६ मत पाएका छन्। यो क्षेत्रमा एमाले जसपा गठबन्धनबाट जसपाका हरिनारायण यादवले १ हजार ९९ मत ल्याएका छन्।

त्यसैगरी सर्लाही १ मा पनि एमालेका बागी उम्मेदवार मानबहादुर खड्काले दुबै गठबन्धनका उम्मेदवारलाई पछि पारेका छन्। 

खड्काले ३ हजार ३८७ मत प्राप्त गर्दा लोसपाका रामप्रकाश चौधरीले ३ हजार १३८ मत पाएका छन्। यो क्षेत्रमा एमाले जसपा गठबन्धनका प्रमोद साहले २ हजार ३३६ मत पाएका छन्। 

त्यसैगरी सर्लाही ४ मा कांग्रेसका बागी अमरेश सिंह दुबै गठबन्धनका उम्मेदवार भन्दा अघि छन्। 

कांग्रेसबाट निर्वाचित निवर्तमान सांसदसमेत रहेका अमरेशले २ हजार २५९ मत पाउँदा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका नागेन्द्रकुमार यादवले २ हजार २५४ मत पाएका छन्। यहाँ सिंह र यादवबीचको मतान्तर ५ मात्रै छ।

त्यसैगरी रौतहटका दुई क्षेत्रमा स्वतन्त्र उम्मेदवार अघि छन्। रौतहट २ मा स्वतन्त्रबाट किरणकुमार साहले ४ हजार ८०१ मत प्राप्त गर्दा कांग्रेसका फिरदोस आलमले ३ हजार ७३० मत पाएका छन्। 

रौतहट ३ मा पनि स्वतन्त्र उम्मेदवार प्रभु साह अघि छन्। उनलाई पछ्याउने प्रतिस्पर्धी उम्मेदवार पनि स्वतन्त्र नै छन्। पूर्व माओवादी नेता साहले एमालेको टिकट त्यागेर स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका हुन्। 

साहले ६ हजार २५३ मत प्राप्त गर्दा अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश अग्रवालले ३ हजार ७५१ मत प्राप्त गरेका छन्। यो क्षेत्रमा सत्तारुढ गठबन्धनले साहलाई समर्थन गरेपनि माओवादीका रविन्द्र पटेलले १ हजार ७५९ मत पाएका छन्। उनले प्रभु साहलाई समर्थन नगरी आफैँलाई मत मागेका थिए। 

त्यसैगरी बारा २ मा पनि स्वतन्त्र उम्मेदवार रामकिशोर प्रसाद यादव अघि छन्। उनले ३ हजार १३० मत प्राप्त गर्दा माओवादी केन्द्रका शिवचन्द्र प्रसाद कुशवाहाले २ हजार ४०३ मत मात्रै पाएका छन्। 

यो क्षेत्रमा राजपाका रामसहायप्रसाद यादवले १ हजार २९५ मत ल्याउँदा अर्का स्वतन्त्र उम्मेदवार रविन्द्र प्रसाद यादवले १ हजार १५७ मत पाएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad