ad ad

राजनीति


मुस्ताङका २९ वर्षीय योगेशले कांग्रेसलाई यसरी दिलाए पहिलो जित

मुस्ताङका २९ वर्षीय योगेशले कांग्रेसलाई यसरी दिलाए पहिलो जित

मुस्ताङमा नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा विजयी योगेश गौचन थकाली


नेपालखबर
मंसिर ५, २०७९ सोमबार ११:५९, काठमाडौँ

सत्ता गठबन्धनले गरेको एउटा चुनावी आकलनमा मुस्ताङका कांग्रेस उम्मेदवार योगेश गौचन थकाली एलो जोन (कम सुरक्षित) मा समेत थिएनन्। 

तीन सुरक्षा निकायले दिएको रिपोर्टका आधारमा २९ कात्तिकमा गठबन्धनले तयार गरेको एउटा चुनावी आकलनमा कांग्रेस उम्मेदवार योगेश जित्दै नजित्ने क्षेत्र अर्थात् ‘रेड जोन’ का उम्मेदवारका रुपमा थिए।

तर, आइतबार भएको निर्वाचनमा एमाले उम्मेदवार प्रेमप्रकाश तुलाचनलाई ८ सय १४ मतान्तरले पराजित गर्दै २९ वर्षीय कांग्रेस उम्मेदवार योगेश विजयी भएका छन्। 

कांग्रेसका विजयी उम्मेदवार योगेशले ३ हजार ९ सय ९२ मत प्राप्त गर्दा पराजित एमाले उम्मेदवार प्रेमप्रकाश तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका छन्।

आम निर्वाचन–२०७९ मा नेपाली कांग्रेसका सबैभन्दा कान्छा (२८ वर्ष) उम्मेदवार योगेशले नेपाली कांग्रेसलाई पहिलो जित मात्र दिलाएका छैनन्, आफ्ना बाबुले २०७४ को निर्वाचनमा बेहोर्नु परेको पराजयको बदलासमेत लिएका छन्।

उनका बाबु रोमी गौचन थकालीलाई २०७४ को निर्वाचनमा एमाले उम्मेदवार प्रेमप्रकाश तुलाचनले पराजित गरेका थिए। एमालेका तुलाचन ३ हजार ५ सय ४४ मतसहित विजयी  हुँदा रोमीले ३ हजार २ सय ८१ मत मात्र प्राप्त गरेका थिए।

वाम गठबन्धनको तर्फबाट एमाले उम्मेदवार बनेका तुलाचनलाई रोमीले २०७० को आम निर्वाचनमा २२ मतले मात्र पराजित गर्न सकेका थिए। विजयी रोमीले १ हजार ४ सय २४ मत ल्याउँदा पराजित स्वतन्त्र उम्मेदवार रहेका प्रेमप्रकाश तुलाचनले १ हजार ४ सय २ मत प्राप्त गरेका थिए। 

२०७० मा स्वतन्त्र उम्मेदवारका रुपमा कांग्रेसका रोमीलाई कडा चुनौती दिएका तुलाचनलाई एमालेले २०७४ मा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनाएको थियो। २०७० को निर्वाचनमा प्राप्त गरेको प्रतिस्पर्धी मत र वाम गठबन्धनका कारण २०७४ मा तुलाचनलाई विजय हासिल गर्न सहज भएको थियो।  

झिनो मतअन्तरले विजयी भएका रोमी २०७३ मा वाणिज्य तथा आपूर्तिमन्त्री बनेका थिए। २०५६ को निर्वाचनमा मुस्ताङबाट प्रतिनिधि सभामा निर्वाचित रोमी २०५७ मा परराष्ट्र सहायकमन्त्री समेत भएका थिए। 

प्रतिनिधि सभाको निर्वाचनमा कहिले जित र कहिले हार बेहोर्दै आएका रोमीलाई यसपटक नेपाली कांग्रेसले समानुपातिक सूचीमा राखेको थियो। 

तर, आफ्नो नाम समानुपातिक सूचीबाट हटाएर उनले छोरा योगेशलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएका थिए। यसरी उम्मेदवार बनाइएका छोराले आम निर्वाचन–२०७९ मा नेपाली कांग्रेसलाई पहिलो जित दिलाए।

त्यसो त बाबु रोमी पनि नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा निर्वाचित हुने पहिलो जिल्ला सभापति थिए। शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहबीच भएको प्रतिस्पर्धाका कारण अधिकांश जिल्लामा सभापतिका लागि निर्वाचन हुँदा रोमी मुस्ताङबाट निर्विरोध सभापति चुनिएका थिए। 

दुईदुई पटक मन्त्री भइसकेका व्यक्ति ‘लो प्रोफाइल’ को जिल्ला मानिने मुस्ताङ कांग्रेसको सभापति भएकोमा उतिबेला कांग्रेसवृत्तमा आश्चर्य व्यक्त गरिएको थियो। किनभने कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले २०५९ र २०६४ मा केन्द्रीय सदस्य मनोनित गर्दा रोमीले त्यसलाई अस्वीकार गरेका थिए। 

आफूलाई ‘कांग्रेसभित्रको क्रान्तिकारी’ परिभाषित गर्दै क्रान्तिकारीका लागि मनोनित पद स्वीकार्य नहुने उनले उतिबेला बताएका थिए। मुस्ताङमा कांग्रेसलाई विजय गराउनकै लागि दुई पटक मन्त्री भइसकेको व्यक्ति जिल्ला सभापति बनेको उनको कथन थियो। 

नभन्दै आफ्ना छोरा योगेशलाई प्रतिस्पर्धामा उतारेर मुस्ताङमा कांग्रेसको झण्डा फहराउन उनी सफल भए। 

नेपाली कांग्रेसको महासमिति सदस्य र गण्डकी प्रदेश सदस्यसमेत रहेका योगेश पर्यटन व्यवसायमा समेत संलग्न छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .