राजनीति


काठमाडौं उपत्यकाको सहरीभन्दा काँठ क्षेत्रका मतदातामा बढी उत्साह

काठमाडौं उपत्यकाको सहरीभन्दा काँठ क्षेत्रका मतदातामा बढी उत्साह

तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
मंसिर ४, २०७९ आइतबार १७:२९, काठमाडौँ

काठमाडौँ उपत्यकामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा सहरी क्षेत्रमा भन्दा काँठ क्षेत्रमा मतदाताको बढी उत्साह देखिएको छ । 

काठमाडौँ महानगरपालिकामा भन्दा बाहिरका नगरपालिकामा मतदाताको बढी भीड देखिन्छ । सहरी क्षेत्रका धेरै मतदानस्थलमा खटिएका कर्मचारी मतदाता कुरेर बस्ने बाध्य भएका छन् । 

काँठ क्षेत्रमा पनि यसअघिको स्थानीय तह निर्वाचनमा जस्तो मतदाताको उत्साह नदेखिए पनि सहरी क्षेत्रको तुलनामा उत्साहपूर्ण सहभागिता देखिएको काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ३ का निर्वाचन अधिकृत मन्दिरा शाहीले राससलाई जानकारी दिए ।
  
‘यस क्षेत्रको सहरी भेग काठमाडौँ महानगरपालिका–६ को सरस्वतीनगर र बौद्ध क्षेत्रमा रहेको मतदान केन्द्रभन्दा गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभीर क्षेत्रका मतदातामा उत्साह देखिएको छ’, उनले भने, ‘गोकर्णेश्वर नगरपालिकाकै बढी जनघनत्व भएका जोरपाटी, गोकर्णभन्दा कम जनघनत्व भएको सुन्दरीजल, कागेश्वरी क्षेत्रमा मतदाता उत्साहपूर्वक मतदानमा सहभागी भएका छन्।’

यस निर्वाचन क्षेत्रको काँठ भेगमा दिउँसो २ बजेसम्म करिब ५० प्रतिशत हाराहारीमा मतदान भएको मतदान अधिकृत शाहीले जानकारी दिएको निर्वाचन क्षेत्र अधिकृतको कार्यालयले जनाएको छ। 

त्यही समयभित्रमा सहरी क्षेत्रमा भने करिब ४० प्रतिशत हाराहारीमात्र मतदान भएको छ। मतदानस्थलमा भेटिएका मतदातामा उत्साह भने धेरै देखिएको छैन। 

स्थानीय तह निर्वाचनमा जति पनि उत्साह मतदातामा नदेखिएको गोकर्णेश्वर नगरपालिका(१ का स्थानीयवासी रोशन पोखरेलले बताए। स्थानीय तह निर्वाचनमा स्थानीयस्तरकै धेरै उम्मेदवार हुने भएकाले धेरै मतदाताको सहभागिता रहने गरेको थियो। 

राजनीतिक दल र तीनै तहमा यसअघि निर्वाचित जनप्रतिनिधिको गतिविधिले पनि मतदातामा मतदान गर्न जाने जाँगर नदेखिएको उनको भनाइ छ। 

राजनीतिक दल र तिनका प्रतिनिधिले निर्वाचनमा वाचा अनुसार काम नगर्ने, विधिभन्दा पनि राजनीतिक रङका आधारमा काम गर्ने, विभिन्न विवादास्पद गतिविधिमा जनप्रतिनिधि मुछिने गरेकाले पनि निर्वाचनप्रति मतदाताको उत्साह बढ्न नसकेको हो। 
 
काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं। २ मा पनि सहरी क्षेत्रमा भन्दा ग्रामीण भेगमै मतदाताको उत्साह बढी देखिन्छ। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकासँग सीमा जोडिएको यस क्षेत्रको शङ्खरापुर नगरपालिकाका वडा नं। १, २, ३ र ४ मा बढी मतदाताको उत्साह देखिएको जनाइएको छ। 

काठमाडौँ जिल्ला क्षेत्र नं २ मा पर्ने महानगरपालिकाका–९ र ३२ मा मतदाताको कम उत्साह छ। वडा नं ९ का मतदाता सुरेश नेपाल राजनीतिक दलले यो क्षेत्रलाई प्रयोगशालाका रुपमा विकास गर्न खोजेकाले पनि मतदातामा उत्साह कम हुँदै गएको बताउँछन्। यो क्षेत्रमा ठूला दलले पटक–पटक बाहिरका उम्मेदवार उठाउने गरेका छन्। ठूला नेताले चुनाव लड्ने र जितेपछि अरु क्षेत्रमा जाने गरेकाले मतदाता रुष्ट हुने गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad