नेकपा (एमाले)का युवा संगठन राष्ट्रिय युवा संघले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई निशर्त तत्तकाल रिहा गर्न चेतावनी दिएको छ। शनिबार एक विज्ञप्ती जारी गर्दै युवा संघका अध्यक्ष महाराज गुरूङले तत्तकाल रिहा नगरिए देशभर कडा प्रतिकार गरिनेसमेत बताएका छन्।
‘लोकतान्त्रिक आन्दोलनमा जीवन समर्पण गरेका नेताहरूमाथि गरिएको ‘यस्तो व्यवहारप्रति राष्ट्रिय युवा संघ नेपाल कडा शब्दमा भर्त्सना गर्दछ’ विज्ञप्तीमा भनिएको छ, ‘उहाँहरुलाई निर्शत रिहा गर्न स्पष्ट चेतावनी दिन्छ।’ विज्ञप्तीमा भदौ २३ र २४ गतेका घटनाहरूको सत्यतथ्य पत्ता लगाउने नाममा गठन गरिएको उक्त आयोगले प्रारम्भदेखि नै निष्पक्षता गुमाएको उल्लेख गर्दै आयोगका अध्यक्षले गठनपूर्व नै सार्वजनिक गरेका निष्कर्षलाई नै पुष्टि गर्ने गरी सीमित र पूर्वनिर्धारित ढाँचामा गरिएको छानबिनले आयोगको नियत र उद्देश्य दुवै प्रश्नको घेरामा परेको बताइएको छ।
‘यो प्रतिवेदन सत्य खोज्ने होइन, प्रतिशोधलाई वैधता दिने दस्तावेजका रूपमा प्रस्तुत भएको हाम्रो ठहर छ,’ विज्ञप्तीमा भनिएको छ, ‘कानुनी रूपमा पुष्टि हुन नसक्ने अस्पष्ट र मनगढन्ते व्याख्याका आधारमा, सरकार गठन भएको चौबीस घण्टा नबित्दै पूर्वाग्रही ढंगबाट गरिएको यस्तो कार्यले विधिको शासनको घोर उल्लङ्घन मात्र होइन, कानुनी राज्यमाथि नै प्रहार गरेको छ।’
विज्ञप्तीमा भदौ २३ मा आन्दोलनलाई योजनाबद्ध रूपमा भड्काउने, निर्दोष बालबालिकालाई आन्दोलनमा प्रयोग गर्ने, समाजमा आतंक सिर्जना गर्ने र भदौ २४ मा राष्ट्रका प्रमुख संरचनाहरू तथा निजी सम्पत्तिमाथि संगठित आक्रमण गर्ने तत्वहरू नै आज राज्य सत्ताको वरिपरि घुमिरहेको आरोप लगाइएको छ।
संघले सन्देहस्पद एकपक्षीय रूपमा कसैलाई दोषी ठहर गर्ने प्रयासले न्याय प्रणालीलाई कमजोर बनाई देशलाई थप अस्थिरतातर्फ धकेल्ने पनि बताएको छ। ‘राष्ट्रिय युवा संघ नेपाल स्पष्ट रूपमा पूर्वाग्रहपूर्ण कार्की आयोगको प्रतिवेदन तत्काल खारेज गर्दै घटनाको पुनः निष्पक्ष छानविन सहित मन्त्रिपरिषद्को प्रतिशोधपूर्ण निर्णय तुरुन्त फिर्ता लिन सरकार समक्ष जोडदार माग गर्दछौ’ विज्ञप्तीमा भनिएको, ‘यदि सरकारले यो गलत मार्गबाट पछि नहटेमा, प्रतिशोधपूर्ण निर्णय विरुद्ध सशक्त प्रतिरोधका कार्यक्रम देशभर अघि बढाउन राष्ट्रिय युवा संघ नेपाल मातहत कमिटीलाई निर्देशित गर्दछ। त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी सरकार स्वयंले वहन गर्नुपर्नेछ भन्ने कुरा स्पष्ट गर्न चाहन्छौं।’
एमाले निकट अन्य भातृ संगठनहरूले ओलीको रिहाइको माग गर्दै आजै राजधानीमा विरोध प्रदर्शन गर्ने कार्यक्रम पनि तय गरेका छन्।

प्रतिक्रिया