राजनीति


बागमतीमा मुख्यमन्त्री परिवर्तनका लागि दबाब बढाउँदै एमाले, नछाड्ने अडानमा कांग्रेस

प्रतिपक्षी भन्छन्, 'विश्वासको मतमा सघाउँछौ'
बागमतीमा मुख्यमन्त्री परिवर्तनका लागि दबाब बढाउँदै एमाले, नछाड्ने अडानमा कांग्रेस

सुनिता विष्ट
चैत ९, २०८२ सोमबार १८:२४, हेटाैँडा

बागमती प्रदेश सरकारमा नेतृत्व परिवर्तनको चर्चा चुलिएको छ। हाल नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ नेतृत्वमा प्रदेश सरकार छ। २०८१ साउन ८ गते कांग्रेसका बहादुर सिंह लामा मुख्यमन्त्री नियुक्त हुँदा कांग्रेस र एमालेले २०/२० महिना सरकारको नेतृत्व गर्ने सहमती गरेका थिए।

सो सहमती अनुसार यही चैत दोस्रो सातासम्ममा कांग्रेसले नेतृत्व छोडेर एमालेलाई सुम्पिनु पर्ने हुन्छ। प्रदेश सरकारको यो कार्यकालको बाँकी २० महिना एमालेले चलाउने सहमती अनुसार एमालेको समर्थनमा कांग्रेसका लामा मुख्यमन्त्री बनेका थिए। तर काँग्रेसको आन्तरिक किचलोले बिचैमा लामालाई हटााएर काँग्रेसकै तर्फबाट गत साउन २० मा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बने।

अब लामासँगको सहमति बानियाँले पालना गर्छन् गर्दैनन् चासोको विषय बनेको छ। बानियाँले सत्ता हस्तान्तरणको कुनै पक्रिया थालेका छैनन्। तत्कालिन मुख्यमन्त्री बहादुर सिंह लामालाई संसदीय दलबाट हटाएर दलको नेता बन्दै प्रदेशको नेतृत्व सम्हालेका बानियाँ ढुक्क देखिन्छन्। मुख्यमन्त्री नियुक्त भएर ८ महिना कार्यभार सम्हालेका बानियाँले एमालेलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने पक्षमा एमाले उभिएको छ।
 
जसअनुसार सत्ता लिने तयारीमा रहेका एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया भने नेतृत्व परिवर्तनका लागि दबाब बढाइरहेका छन्। सरकार गठनका क्रममा भएको दलीय सहमतीलाई कार्यान्वयन गर्नुपर्ने थपलियाको माग छ। 
‘बहादुर सिंह लामा ज्यू तत्कालिन मुख्यमन्त्री हुँदा २०/२० महिनाको आलोपालो नेतृत्व लिने भन्ने लिखित सहमती भएको थियो, त्यसलाई मोरल्ली बुझेर कांग्रेसले नेतृत्व छोड्नुपर्ने हो’, नेता थपलियाले भने, ‘तर उहाँहरुले यस विषयमा चासो दिनुभएको पाइएन। संघीय सरकार विस्तारसम्मका लागि समय माग्नुभएको भन्ने सुन्नमा आएको छ।’


थपलियाका अनुसार कांग्रेसबाट नेतृत्व हस्तान्तरणका लागि सत्तारुढ दलहरुबीच संवाद भएको छैन। देश अप्ठेरो स्थितीमा रहेका कारण यस विषयमा छलफल हुन नपाएको उनको भनाइ छ। प्रदेश सरकारका प्रवक्ता प्रभात तामाङ पनि यस विषयमा अहिले कुनै पनि छलफल नभएको बताउँछन्। उनका अनुसार सरकार परिवर्तनको विषयमा कांग्रेस भित्र कुनै पनि गृहकार्य सुरु भएको छैन।

अहिलेको जटिल परिस्थितीमा प्रदेश सरकारको कामकाजलाई कसरी प्रभाकारी बनाउने? ठप्प बनेको प्रदेश सभा बैठक कहिलेबाट सञ्चालन गर्ने? रिक्त रहेको सभामुखको पदपूर्ति गर्ने लगायतको विषयमा सरकार केन्द्रीत भएको लामा बताउँछन्। 

कांग्रेसभित्र प्रदेश सरकारको नेतृत्व परिवर्तनभन्दा सभामुख कसले लिने? भन्ने विषयमा पटक÷पटक छलफल चलिरहेको उनको भनाइ छ। तथापि, सत्तारुढ दलहरुबीच सहमती भने भैसकेको छैन। लिखित सहमती भएको हामीलाई थाहा छैन। ‘यस्तो अवस्थामा सरकार फेरबदलको खेल हुँदैन’, लामाले भने, ‘अहिले कांग्रेसकै नेतृत्वमा सरकार रहेर रिक्त सभामुख पद भने एमालेलाई दिने भन्ने हुन सक्छ। तर सरकारको नेतृत्व नै परिवर्तन गर्ने भन्ने हुँदैन।’

विश्वासको मतमा सघाउँछौ : जम्मकट्टेल
त्यसोत, प्रदेश सकारको प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का बागमति संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले प्रदेश सभा विगठन नै हुने अवस्था आउन नदिने बताए। उनले सत्तारुढ दलहरुबीच विवाद बढेर सरकार गठनका लागि विश्वासको मतको संख्या नै नपुग्ने स्थिती आए नेकपाले सघाउने बताए।
 
‘हामी सरकारमा जाने, सरकार गठनका लागि लबिइङ गर्ने पक्षमा छैनौँ, मुलुकमा राजनीतिक अन्यौलता बढेको बेला सरकार फेर्नु पनि सही होइन’, नेता जम्मकट्टेलले भने, ‘उहाँहरुले (सरकार पक्ष) मसँग सल्लाह चाहिँ माग्नुभएको थियो। मैले तँपाईहरुको कुरा आफै मिलाउनोस्। हामी सरकारमा सहभागी हुने मनस्थितीमा छैनौँ भनिदिएँ। हामी जाँदैनौ पनि।’

कांग्रेस एमालेबीच लिखित सहमती भएको भए राजनीतिक इमान्दारिता पालन गर्न पर्ने जम्मकट्टेल बताउँछन्। यतिबेला नेतृत्व फेर्नेभन्दा पनि भैरहेको सरकारले राम्रा काम गर्नेतर्फ ध्यान दिन जरुरी रहेको उनको भनाइ छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad