प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुरमा तयारी तीव्र रुपमा भइरहेको छ।
जिल्लाभरका मतदान केन्द्रमा आवश्यक व्यवस्थापन सकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। यतिबेला मतदान केन्द्रमा बुथ मिलाउने, डोरी टाँग्ने, मतदाताको प्रवेश-निर्गमन मार्ग छुट्याउने तथा मतदान कक्ष व्यवस्थित गर्ने काम भइरहेको छ।
मकवानपुरको दुवै निर्वाचन क्षेत्रमा मतगणना स्थल समेत तयार भइसकेको छ। हेटौँडा उपमहानगरपालिका-४ भुटनदेवि माध्यमिक विद्यालय भवनमा मतगणनाका लागि चार वटा कोठा तयार गरिएको मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिइन्।
जिल्लामा १६७ मतदान स्थल कायम गरिएका छन्। तीमध्ये १९ मतदान स्थल अतिसंवेदनशील, ६० संवेदनशील र ८८ सामान्य श्रेणीमा वर्गीकृत गरिएको छ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना लागू गरिएको प्रशासनले जनाएको छ।

मकवानपुरमा दुई अस्थायी सहित कुल ३७६ मतदान केन्द्र स्थापना गरिएका छन्। मतदान कार्य सञ्चालनका लागि ३ हजार ३६६ कर्मचारी खटिएका छन्।
पाँच सयसम्म मतदाता भएका केन्द्रमा आठ जना, पाँच सयभन्दा बढी मतदाता भएका केन्द्रमा नौ जना तथा अस्थायी मतदान केन्द्रमा पाँच जना कर्मचारी परिचालन गरिएको छ। जिल्लामा कुल तीन लाख १५ हजार ३३४ मतदाता रहेका छन्।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र मकवानपुर-१ मा ६२ मतदान स्थल र १७८ मतदान केन्द्रमार्फत एक लाख ५८ हजार ४३४ मतदाताले मतदान गर्नेछन्।

त्यस्तै मकवानपुर-२ मा १०५ मतदान स्थल र १९६ मतदान केन्द्रमार्फत एक लाख ५६ हजार ८९९ मतदाता सहभागी हुनेछन्।
निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन चार हजार दुई सय सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबीच समन्वयात्मक सुरक्षा योजना लागू गरिएको छ।






Shares

प्रतिक्रिया