राजनीति


निर्धक्क भएर मतदान गर्न कार्यवाहक प्रमुख आयुक्त भण्डारीको आह्वान

निर्धक्क भएर मतदान गर्न कार्यवाहक प्रमुख आयुक्त भण्डारीको आह्वान

नेपालखबर
फागुन २०, २०८२ बुधबार १३:३६, काठमाडौँ

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न सम्पूर्ण मतदातालाई आह्वान गरेका छन्। 

निर्वाचनको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै भण्डारीले आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेका छन्। ‘निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता प्रदान गर्ने हुँदा भोलि २०८२ फागुन २१ गते बिहीबार आ-आफ्ना मतदान केन्द्रमा उपस्थित भइ निर्धक्क भएर मतदान गर्नुहुन म सम्पूर्ण मतदातालाई हार्दिक अनुरोध गर्दछु,’ भण्डारीले भने। 

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि विकसित विषम परिस्थितिमा यो आकस्मिक निर्वाचन हुन गइरहेको उनले स्मरण गराएका छन्। ‘गत भदौ २३ र २४ गते भएको नवयुवाहरूको विद्रोहपछि विकसित विषम परिस्थितिमा सम्पन्न हुन गइरहेको यो आकस्मिक प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ ले नेपालको संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई अझै सुदृढ एवं परिपक्व बनाउने विश्वास मैले लिएको छु,’ भण्डारीले भने, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी गराउँदछु।’

निर्वाचनले नेपालको संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई अझै सुदृढ एवं परिपक्व बनाउने भण्डारीले विश्वास व्यक्त गरेका छन्। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोग पूर्ण रूपमा तयार रहेको उनले बताए। निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिई आस्था, विचार, सिद्धान्त र निष्ठाबाट निर्देशित एवं परिचालित हुने वातावरण बनाउन आयोग दृढ संकल्पित रहेको भण्डारीले बताए।

‘निर्वाचन आयोग निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिइ आस्था, विचार, सिद्धान्त र निष्ठाबाट निर्देशित एवं परिचालित हुने वातावरण बनाउन दृढ संकल्पित रहेकोले यस कार्यमा सबैको सकारात्मक सहयोग र इमान्दार प्रयत्न हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु,’ उनले भने। 

मतदानलाई मतदाताको नैसर्गिक अधिकार र कर्तव्य दुवै भएको उल्लेख गर्दै उनले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान भएको बताए। ‘राजनीतिक व्यवस्थाको स्वरूप निर्धारण, शासन, सरकार, नीति र नेतृत्वको कस्तो हुने भन्ने निर्धारण हरेक मतदाताले निर्वाचनमा खसाल्ने एक एक मतले तय गर्ने भएकाले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान हो। यो अनुष्ठानमा सहभागी भएर सम्पूर्ण मतदाताले आ-आफ्नो अधिकार सुरक्षित गर्नुहुनेछ भन्ने विश्वास मैले लिएको छु,’ भण्डारीले भने।

मतदाताको सहभागितालाई राजनीतिक सचेतना, सामाजिक जिम्मेवारी र नागरिक संलग्नताको उच्चतम अभिव्यक्तिको रूपमा लिइने भन्दै सुसूचित मतदानले शासनप्रतिको नागरिक अपनत्व बढाउने उनको भनाइ छ। ‘निर्वाचनमा कुनै उम्मेदवार, व्यवस्था वा पक्षलाई चुन्न मतदाताले दिने सहमति वा स्वीकृति नै मतदान हो। संविधान र कानूनबमोजिम निश्चित उमेर पूरा भएको नागरिक मतदाता हुन्छन् र सबै मतदाताको मतको मूल्य बराबर हुन्छ। त्यसैले मतदानलाई मतदाताको नैसर्गिक अधिकार मानिन्छ,’ उनले भने।

उनले निर्वाचन व्यवस्थापनको सन्दर्भमा राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज, सञ्चारकर्मी, आमसञ्चारमाध्यम लगायत सबै सरोकारवालाको सहयोग र सहभागिताले आयोगलाई आफ्नो भूमिका निर्वाह गर्न थप ऊर्जा, हौसला र प्रेरणा प्राप्त भएकोमा धन्यवाद दिँदै आयोग निरन्तर सहयोगका लागि आग्रह गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad