यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा नोपली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।
गौरीशंकर गाउँपालिकामा नेकपा एमालेकी उमा शेर्पा, कांग्रेसकी पासदिकी शेर्पा तामाङ र माओवादी केन्द्रबाट निम लेकी शेर्पा चुनावी मैदानमा छन्।
माओवादी केन्द्रले निम लेकी र एमालेकी उम्मेदवार उमा गौरीशंकर गाउँपालिका–७ मार्वुका हुन् भने पासदिकी गौरीशंकर–६ चंखुकी हुन्।
शेर्पा समुदायकै तीनजना उम्मेदवार चुनावी मैदानमा उत्रँदा यहाँको निर्वाचनमा कडा प्रतिस्पर्धा हुनसक्ने स्थानीको आँकलन छ।
२०७९ वैशाखको स्थानीय तह निर्वाचनमा यस गाउँपालिकामा कांग्रेसका श्यामसुन्दर तामाङ निर्वाचित भएका थिए।
नेपाली कांग्रेस र माओवादी गठबन्धनका उम्मेदवार बनेका तामाङले ४ हजार ७ सय ४१ मत ल्याएका थिए भने उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेकी मुना शिवाकोटीले ३ हजार २ सय ८१ मत प्राप्त गरेकी थिइन्।
यतिबेला भने सबै राजनीतिह दलहरु एक्ला एक्लै चुनावी मैदानमा छन्। गत स्थानीय तह निर्वाचनको नतिजा हेर्ने हो भने गौरीशंकरमा एमालेकै पल्लाभारी हुनसक्ने अनुमान स्थानीयले गरेका छन्।
दुई दलहरुको गठबन्धन हुँदासमेत यहाँ १ हजार ४ सय ६० मात्रै मतान्तर रहेको थियो। तथापी, कांग्रेसकी उम्मेदवार पासदिकी शेर्पा स्वर्गीय उपाध्यक्ष श्यामसुन्दरकी पत्नि हुन्।
पतिको शोकमै रहेकी उनलाई कांग्रेसले उपाध्यक्ष पदको उम्मेदवारको रुपमा उभ्याएपछि अन्य दललाई भारी पर्न सक्नेसमेत आँकलन छ। पतिकै प्रभावले पनि उनलाई मत खस्न सक्ने स्थानीय मनोज खड्का बताउँछन्।
‘दलकै कुरा गर्ने हो भने यस गाउँपालिकामा सबैभन्दा धेरै प्रभाव एमालेकै छ। २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेको पल्लाभारी भएको थियो,’ उनले भने, ‘२०७९ को निर्वाचनमा भने अध्यक्ष माओवादीले र उपाध्यक्ष कांग्रेसले जित्यो। ९ वटा वडाहरुमध्ये ५ वटा माओवादीले, ३ वटा कांग्रेस र एउटा वडामा एमाले उम्मेदवार विजयी भएका थिए। त्यो बेला गठबन्धन थियो। तर आगामी १६ गतेको निर्वाचनमा सबै एक्काएक्लै भिड्दैछन्। गज्जबको प्रतिस्पर्धा होला जस्तो लागेको छ।’
शेर्पा समुदायकै उम्मेदवारहरु भएका कारण निर्वाचन अझ रोचक हुने उनको बुझाइ छ। ‘चुनावमा तीन दलबीच नै तीव्र प्रतिस्पर्धा हुनेमा दुईमत छैन,’ उनले भने।
के भन्छन् उम्मेदवारहरु ?
कांग्रेसकी उम्मेदवार पासदिकी शेर्पा यो उपनिर्वाचनमा पनि कांग्रेस नै विजयी हुने दाबी गर्छिन्।
‘पार्टीले मलाई विश्वास गरेर टिकट दिएको छ, यसलाई म खेर जान दिन्न,’ उनले नेपालखबरसँग भनिन्, ‘तयारी राम्रो भैरहेको छ। म विगत १५ वर्षदेखि राजनीतिमा लागेको मान्छे हुँ। यहाँको भूगोल, सबै कुराहरुमा जानकार छु। गौरीशंकरमै जन्मिएर यही हुर्किएकी छोरीलाई सबैले विश्वास गरेर मत दिनुहुन्छ भन्नेमा विश्वस्त छु।’
आफू निर्माण व्यवसायमासमेत आवद्ध रहेको बताउँदै उनले स्वर्गीय श्रीमान् श्यामसुन्दरले अघि सारेका विकास निर्माणका अधुरा योजना पूरा गर्ने प्रतिवद्धतासमेत व्यक्त गरिन्।
‘मेरा पतिले सुरु गरेका कामका अधुरा योजना पूरा गर्न म उपाध्यक्ष पदमा निर्वाचन लड्न आएकी हुँ। म आफै पनि निर्माण व्यवसायी हुँ। मैले थुप्रै विकास निर्माणका कामहरु सम्पन्न गरेको छु। व्यसायकै क्रममा नागरिकहरुले मलाई राम्रोसँग बुझ्नु भएको छ। यही आधारले म उपाध्यक्ष पदमा विजयी हुन्छु भन्नेमा ढुक्क छु।’
पासदिकी नेपाली कांग्रेस बागमती प्रदेश कमिटी महिला विभागकी सदस्यसमेत हुन्।
माओवादी केन्द्रबाट उपाध्यक्ष पदकी उम्मेदवार बनेकी निम लेकी २०७९ को स्थानीय तह निर्वाचनमा गौरीशंकर गाउँपालिका–७ को वडा सदस्यकी उम्मेदवार थिइन्। उतीबेला हार व्यहोरेकी निम लेकी आउँदो उपनिर्वाचनमा उपाध्यक्ष पदमा चुनाव लड्दैछिन्।
कांग्रेस माओवादीको गठबन्धनमा हुँदा वडासदस्यमै हाल व्यहोरेकी उनी आउँदो उपनिर्वाचनमा भने विजयी हुने दाबी गर्छिन्।
‘उपाध्यक्ष पदमा मेरो जित सुनिश्चित नै छ,’ उनले भनिन्, ‘यस गाउँपालिकामा संगठनको हिसाबले पनि हामी बलियो छौँ। ५ वटा वडाको वडाध्यक्ष हाम्रै दलका साथीले जित्नु भएको छ। यो नै मैले जित्छु भन्ने आधार हुन्।’
अघिल्लो निर्वाचनमा हारेपनि त्यो हारलाई स्वीकार गर्दै फेरी चुनावी मैदानमा आएको उनले बताइन्। ‘मलाई आशा छ, यहाँका मतदाताले मलाई जिताउनुहुन्छ।’
उनी माओवादीको गौरीशंकर गाउँ पार्टी कमिटीको कोषाध्यक्ष तथा माओवादी निकट अनेमसंघ क्रान्तिकारीको पालिका अध्यक्षसमेत हुन्। गौरीशंकर गाउँपालिका–७ मार्वु स्थायी घर भएकी उनी महिला स्वयंसेविका समेत हुन्।
यस्तै, एमालेकी उम्मेदवार उमा लुङेली मगर शेर्पा गौरीशंकरमा एमालेबाहेक कुनै दलले पनि जीत हासिल गर्न नसक्ने दाबी गर्छिन्। गत स्थानीय तह निर्वाचनमा दुईदलको गठबन्धनका कारण कांग्रेसले जितेको उनको भनाई छ।
‘गठवन्धन भएको कारण गत स्थानीय तह निर्वाचनमा माओवादीले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष जितेका थिए। यो पटक त एक्लै चुनाव लड्नुपर्ने अवस्था छ,’ उनले भनिन्, ‘एक्लै चुनाव लड्दा न कांग्रेसले जित्छ, न माओवादीले। त्यसैले यो उपनिर्वाचनमा मेरो जीत सुनिश्चित छ।’
अहिलेसम्म माहोल राम्रै भएको उनले बताइन्।
‘एउटै नातेदारभित्रका तीन शेर्पा उम्मेदवार हुनुहुन्छ, यसले असल मतमा असर गर्दैन?’ यो प्रश्नमा उनले हाँस्दै भनिन्, ‘अहिले मात्रै होइन, २०७४ सालदेखिका चुनावमा यस्तै भैरहेको छ। चुनावका बेला पार्टीगत हिसाबले छुटिन्छौं। अन्य पारिवारीक समारोहमा एक भैहाल्छौं। चुनाव दलगत मत आउँछ। दलगत मत आउँदा एमालेकै पक्षमा बहुमत आउँछ।’ उनी एमाले दोलखा जिल्ला कमिटी सदस्यसमेत हुन्।
Shares

प्रतिक्रिया