ad ad

राजनीति


बागमती प्रदेशमा २ सिटको हाम्रो नेपालीले माग्यो १ मन्त्रालय

बागमती प्रदेशमा २ सिटको हाम्रो नेपालीले माग्यो १ मन्त्रालय

नेपालखबर
चैत १२, २०७९ आइतबार १४:१, हेटौंडा

बागमती प्रदेश सरकारलाई पूर्णता दिन गृहकार्य सुरु भइरहँदा दलहरुले मन्त्रालयमा दाबी बढाइरहेका छन्। 

प्रदेशमा सभामा २ सिट मात्रै रहेको हाम्रो नेपाली पार्टीले एक मन्त्रालयमा आफ्नो दाबी गरेको छ।

बागमती प्रदेशमा एमाले र राप्रपाले छोडेको मन्त्रालयमा कांग्रेस, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबाट नियुक्त गरिँदैछ। 

सत्ता साझेदारमा कांग्रेस र एकीकृत समाजवादीसँगै हाम्रो नेपाली पार्टीलाई समेत सरकारमा सहभागी गराउने योजनामा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल रहेका छन्। 

हाल बागमतीमा ७ मन्त्रालय रिक्त छन्। जसमध्ये कांग्रेसले ६ मन्त्रालय पाउनुपर्ने अडान लिएको छ। एकीकृत समाजवादीले २ मन्त्रालयको दाबी गरिरहेको छ। 

यस्तो अवस्थामा हानेपाले पनि १ मन्त्रालयको लागि दौडधूप गर्दैछ। सरकारलाई समर्थन गरिरहेको हानेपाले पहिलो पटक मन्त्रिपरिषद् बिस्तार हुँदा पनि एक मन्त्रालयको दाबी गरिरहेको थियो। 

तर तत्कालीन केन्द्रीय समीकरण अनुसार नै एमाले, राप्रपा र माओवादी मिलेर सरकारमा जाँदा हानेपा प्रतिपक्षी भूमिकामा रहन परेको थियो। 

सिट संख्या कम भए पनि समर्थनको आधारमा सरकारमा जाने बाटो खुल्ला हुनुपर्ने हानेपा संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्य बताउँछन्।  

‘सरकारमा जान इच्छा देखाउनु स्वभाविक हो, समर्थन गर्नेले सरकारमा जान इच्छा देखाउनै पर्यो,’ उनले भने, ‘पहिले पनि सरकारलाई विश्वासको मत दिएका हौँ। सरकारमा सहभागी हुने अवसर जुरेन। अब यो पटक इच्छा राखेका छौँ। सरकार गठनका लागि संयन्त्र बन्दै छ। त्यसले जस्तो निर्णय गर्छ, त्यसमै खुसी हुनेछौँ।’

हानेपालाई मन्त्रालय भागबन्डाबारे कांग्रेस सन्तुष्ट देखिएको छैन। कांग्रेस ६ मन्त्रालय लिएर १ मन्त्रालय एकीकृत समाजवादीलाई दिने योजनामा छ।

यता, हानेपाको यो प्रस्तावमा मुख्यमन्त्री जम्मकट्टेल सकारात्मक देखिएका छन्। कांग्रेसले दाबी गरेको ६ मन्त्रालयबाट घटाएर भए पनि हानेपालाई सहकारमा सहभागी गराउने पक्षमा मुख्यमन्त्री उभिएका छन्। 

‘हाम्रो नेपाली पार्टी सरकारमा जान मिल्दैन भन्ने होइन, जस्तो अवस्थामा पनि समर्थन गर्ने पार्टीलाई सरकारमा सहभागी गराउन आवश्यक ठानेको छु,’ ‘मुख्यमन्त्री जम्मकट्टेलले भने, तर कसलाई कति मन्त्रालय दिएर कसरी जाने बिषयमा छलफल भइरहेको छ। सकेसम्म हानेपालाई पनि यो पटक सरकारमा सहभागी गराउनेछौँ।’

हाम्रो नेपाली पार्टीले मन्त्रालय पाए संसदीय दलका नेता एवम् काठमाण्डौं प्रतिनिधि सभा क्षेत्र नम्बर ८(२) बाट निर्वाचितद बज्रचार्य नै मन्त्री हुने स्रोतको दाबी छ। 

२ सांसद रहेको हानेपाको बज्रचार्यसहित काठमाडौंबाटै समानुपातिकमा निर्वाचित सांसद सरिता खड्गी रहेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .