ad ad

राजनीति


बागमतीका सभामुखले त्यागेनन् राप्रपाको जिम्मेवारी, अझै महामन्त्रीमा सक्रिय

उपसभामुख चापागाईंले छाडिसकिन् एमाले
बागमतीका सभामुखले त्यागेनन् राप्रपाको जिम्मेवारी, अझै महामन्त्रीमा सक्रिय

बागमतीका सभामुख भुवन पाठक। तस्बिर : सुनिता विष्ट/नेपालखबर


सुनिता विष्ट
माघ ६, २०७९ शुक्रबार १७:४८, हेटौंडा

बागमती प्रदेश सभाको सभामुख पदमा निर्वाचित भुवनकुमार पाठक अझै राष्ट्रिय प्रजातन्त्र पार्टीको गतिविधिमा सक्रिय छन्। 

पाठकले सभामुखमा निर्वाचित भएर पदभार ग्रहण गरेको दिन ७ दिन भइसकेको छ। तर सभामुखको पदभार ग्रहण गरेपछि पार्टीको जिम्मेवारी छाड्नुपर्ने प्रक्रिया अझैसम्म उनले पूरा गरेका छैनन्। 

सभामुख पाठकले पदभार ग्रहण गरेको एक हप्तासम्म पनि पार्टीका कार्यक्रममा पहिले जस्तै सक्रिय भइरहेका छन्। उनी अझै पनि राप्रपा महामन्त्रीकै रुपमा सक्रिय छन्। 

सभामुखमा निर्वाचित भएपछि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग हुनुपर्नेमा पाठक अझै पनि राप्रपाको जिम्मेवारीमा रहेको खुलेको छ। 

नेपालको संविधानको धारा १८२ मा सभामुख र उपसभामुख गठनको भूमिकाबारे उल्लेख गरिएको छ। 

जसअनुसार राजीनामा दिनैपर्ने संवैधानिक व्यवस्था नगरिए पनि नैतिकताको आधारमा सभामुखको पदभार ग्रहण गरेपछि पार्टीको सदस्यताबाट राजीनामा दिनुपर्ने हुन्छ। तर सभामुख पाठकले पदभार ग्रहण गरेको एक हप्तासम्म पार्टी सदस्यता नत्यागी बसेका छन्। 

यसबारेमा उनीसँग नेपालखबरले सोधेको छ। पार्टीको सदस्यता कहिले त्याग्नु हुन्छ? नेपालखबरको यो प्रश्नमा उनले भने, ‘अहिलेसम्म मैले राप्रपाको सदस्यबाट राजीनामा दिएको त छैन। राजीनामा दिन्छु दिन्न केहीपछि थाहा हुन्छ।’ 

ऐन कानुन निर्माण गर्न महत्वपूर्ण भूमिका हुने सभामुख पाठकलाई सभामुख भएपछि राजनीतिक दलको जिम्मेवारी त्याग्नुपर्ने हेक्का नभएको टिप्पणी भइरहेको छ। 

बागमती प्रदेशका सभामुख पाठक राप्रपाको समानुपातिक कोटाबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।

उपसभामुखले त्यागिन्
यता, प्रदेश सभा उपसभामुख अप्सरा चापागाईंले भने पदभार ग्रहण गरेकै दिन नेकपा एमालेको सदस्यता त्यागेको घोषणा गरेकी छन्। 

उपसभामुखमा नियुक्त भएपछि सबै दललाई समान व्यवहारले हेर्नुपर्ने भन्दै एमालेको सदस्यता त्यागेको चापागाईंले बताइन्। 

'उपसभामुख भएपछि दलगत कुरामा तटस्थ बस्नुपर्ने हुन्छ, जसकारण पदभार ग्रहण गरेकै दिन मैले सदस्यता त्यागिसकेँ,’ उपसभामुख चापागाईँले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .