नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले त्यहाँ सरकार गठनमा अहिले नै हार नमानेको बताएका छन्।
नेपालखबरसँगको कुराकानीमा लामाले अहिले नै हार नमानेर समर्थन गर्ने दलको पर्खाइमा रहेको बताएका हुन्।
‘हामीलाई राप्रपाको समर्थनको खाँचो छ। यसबारे छलफल पनि भइरहेको छ,’ लामाले भने।’
बागमतीमा कांग्रेसको सरकार बन्न थुप्रै सम्भावना रहेको लामाले बताए।
‘राप्रपा संसदीय नेता उद्धवजीलाई हामीले हाम्रै समर्थनमा मुख्यमन्त्री बन्नुस् भनेर प्रस्ताव गरेका हौं। तर उहाँ केन्द्रको निर्णय कुरिरहनुभएको छ। अहिले हामी पनि छलफलमा नै छौँ', उनले भने।
उनले सबैभन्दा ठूलो दल भएकाले पनि सरकार गठनको पहलकदमी लिन खोजेको बताए।
‘हाम्रो सरकार गठनको सम्भावना अझ बाँकी छन्। हामी संसद्को सबैभन्दा ठूलो दल भएकाले त्यसमा पहल गर्छौँ,’ उनले भने, ‘कांग्रेसले सरकार गठनका लागि सबै मार्ग खुल्ला गरेर छलफलका लागि तयारी अवस्थामा रहेको छ।’
बागमतीमा सरकार गठनबारे अन्य दलहरूसँग छलफल भइरहेको बताउँदै उनले सहमति बनेमा प्रदेश प्रमुखसमक्ष दाबी पेश गरिने लामाले बताए।
हाल उनी कांग्रेसको सरकार बनाउने समीकरणका लागि काठमाडौंमै रहेर छलफलमा जुटिरहेका छन्।
११० सदस्यीय बागमती प्रदेशमा सरकार गठन गर्न बहुमतका लागि कम्तीमा ५६ जना सांसद आवश्यक हुन्छ।
बागमती प्रदेशसभामा सबैभन्दा ठूलो दल कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।
Shares
प्रतिक्रिया