राजनीति


सी कार्यतालिका : पहिले प्रचण्डसँग, लगत्तै प्रधानमन्त्रीसँग भेटवार्ता

सी कार्यतालिका : पहिले प्रचण्डसँग, लगत्तै प्रधानमन्त्रीसँग भेटवार्ता

नेपालखबर
असोज २६, २०७६ आइतबार ३:४,

शनिबारदेखि नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज (आइतबार) दुई देशीय वार्ता हुँदै छ।

बिहान साढे ११ बजेतिर हुने उच्चस्तरीय वार्तामा नेपालबाट प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्रीहरू ईश्वर पोखरेल र उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, ऊर्जामन्त्री वर्षमान पुन, उद्योगमन्त्री मातृका यादवसहित उच्च अधिकारी सहभागी हुनेछन्।

चिनियाँ पक्षबाट विदेशमन्त्री वाङ् यी, चिनियाँ कम्युनिस्ट पार्टी सिपिसीका पोलिटब्युरो सदस्य एवं राष्ट्रपति सीका निकट सहयोगी नेता दिङ सुइसियाङ, सिपिसीका पोलिटब्युरो सदस्य एवं पार्टीको विदेश मामिला आयोगका डाइरेक्टर, पूर्वविदेशमन्त्री याङ जेइची, चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वशासित क्षेत्र हेर्ने सचिव यु यिङ जी, चीनको राष्ट्रिय विकास तथा सुधार आयोगका मिनिस्टर इन्चार्ज हे लिफेङसहितका उच्च अधिकारी हुनेछन् ।

वार्तामा दुई पक्षीय विभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ।

त्यसअघि चिनियाँ राष्ट्रपति सीले अध्यक्ष प्रचण्डको नेतृत्वमा नेकपाका सचिवालय सदस्यहरूसँग संयुक्त भेटवार्ता गर्ने कार्यतालिका छ। यो भेटवार्ता अहिले बिहान साढे १० बजे सोल्टी होटलमा हुने छ। याे भेटलगत्तै प्रचण्डले सीसँग वान-अन-वान भेटवार्ता गर्ने बताइएको छ ।

नेकपा नेताहरूसँगको भेटपछि सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नेछन्। त्यसपछि द्विपक्षीय वार्ता हुने कार्यतालिका छ।

द्विपक्षीय वार्तापछि चिनियाँ राष्ट्रपति सी दिउँसो १ बजे विमानस्थलबाट स्वदेश प्रस्थान गर्ने बताइएको छ।

नेपाल-चीनबीच हुनेछन् यी सम्झौता
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति सीबीच आइतबार बिहान हुने दुई देशीय उच्चस्तरीय वार्तामा नेपालले एक चीन नीतिमा प्रतिबद्धता दोहो¥याउनेछ।

यस्तै वार्तामा केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन तथा त्यसपछिको निर्माणको मोडालिटीका विषयमा थप छलफल हुनेछ।

बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) अन्तर्गतका परियोजना कार्यान्वयनका विषयमा नेपालले कुरा राख्नेछ। 

परराष्ट्र स्राेतका अनुसार उच्चस्तरीय वार्तापछि केरुङ–काठमाडौं सडकमार्गको स्तरोन्नति तथा टोखादेखि नुवाकोटको छहरेसम्म र रसुवाको बेत्रावतीदेखि स्याफ्रुबेँसीमा सुरुङ मार्ग निर्माणमा चिनियाँ सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

यस्तै काठमाडौं–तातोपानी अरनिको राजमार्ग विस्तारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ भने तमोर जलविद्युत् परियोजना निर्माणसम्बन्धी समझदारीपत्र आदनप्रदान हुनेछ ।

चीनले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय बनाइदिनेसम्बन्धी सहमतिपत्र आदनप्रदान हुनेछ। कृषि र पर्यटनसम्बन्धी दुई समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरिएकाे  छ ।

गल्छी-केरुङ जलविद्युत् प्रसारण लाइन निर्माणसम्बन्धी समझदारीको तयारी छ । त्यसपछि  नेपाल र चीनले संयुक्त वक्तव्य जारी गर्ने कार्यक्रम रहेकाे परराष्ट्र स्राेतले जनाएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad